आर्थिक विकासमा निकै पछाडि रहेको कर्णाली प्रदेशको आर्थिक रूपान्तरणका लागि कफीखेती निकै सम्भावनाको क्षेत्र देखिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उच्च सम्भावना देखेका क्षेत्रमा अहिले कफीको बेर्ना उपलब्ध गराउनुका साथै ठूलो परिमाणमा खेती गर्नेलाई अनुदान दिनेसमेत बताएको छ । कफीखेतीबाट कर्णालीको मात्र होइन, नेपालकै निर्यातमा सुधार ल्याउन सकिन्छ ।
कफीखेतीलाई प्रोत्साहन गर्न अनुदान दिनुका साथै बजारीकरणमा पनि ध्यान जानु आवश्यक छ । उखुजस्ता प्रतिस्पर्धा गर्न नसकिने वस्तुमा भन्दा सरकारले कफीजस्ता प्रतिस्पर्धी वस्तुमा अनुदान दिनु बढी उपयुक्त हुन्छ ।
नेपालको कफी विश्वमै विशेष मानिन्छ । चिसो हावापानी, पानी नजम्ने भिरालो जमीन तथा अन्य वातावरण तथा अग्र्यानिक भएका कारण यहाँको कफी विशेष मानिएको हो । तर, त्यसलाई ब्रान्डिङका रूपमा कफीका पारखीहरूका बीचमा पुर्याउन भने अझै सकिएको छैन । सबैभन्दा बढी कफी उत्पादन गर्ने ब्राजिलको कफीको मूल्य अन्तरराष्ट्रिय बजारमा प्रतिकेजी ३–५ डलरमा विक्री भइरहँदा ‘हिमालयन अर्ग्यानिक कफी’ नामले नेपाली कफी प्रतिकेजी १० देखि १५ डलरसम्म विक्री भइरहेको व्यवसायीहरूको भनाइ पाइन्छ । हुन पनि पछिल्लो विशेष कफीको मूल्य र माग निकै बढेको छ । नेस्क्याफे, बिन कफी पछि अहिले ब्लु कफी बटलको माग निकै बढी छ । यसलाई कफीको तेस्रो लहर भनिन्छ । यो अन्तरराष्ट्रिय बजारमा नेपाली कफी पुर्याउन सके निकै लाभ लिन सक्ने देखिन्छ । कफीको स्वादलाई मूल्यांकन गर्ने अन्तरराष्ट्रिय संस्था कफी रिभ्युले नेपालको कफीलाई चीन र भारतको कफीलाई भन्दा निकै बढी अंक दिएको छ । तर, पर्याप्त उत्पादन हुन नसक्दा मागअनुसार आपूर्ति हुन सकेको छैन ।
‘एनलाइसिस अफ ह्याबिट्याट सुइट्याबिली अफ कफी इन नेपाल २०१८’ अनुसार ६२ जिल्लाको ११ लाख ९८ हजार ५३५ हेक्टर जमिन कफी खेतीयोग्य छ । बोर्डका अनुसार गतवर्षसम्म २ हजार ३६० हेक्टर जमीनमा मात्रै यसको खेती भएको छ । १९९० को दशकदेखि व्यावसायिक रूपमा खेती शुरू भए पनि पछिल्लो समयमा यसको उत्पादन भने घट्दो छ । धानभन्दा यसबाट २ दशमलव ३ गुण बढी र गहुँभन्दा चार गुणा बढी मुनाफा हुन्छ । तर, ५ वर्षअघि २ हजार ६१८ हेक्टरमा खेती भई ४३४ मेट उत्पादन भएकोमा गत आवमा २ हजार ३६० हेक्टर जमीनमा खेती भई २९६.५ मेट उत्पादन भएको छ । । २४ जिल्लाबाट ४३ ओटा जिल्लामा यसको खेती विस्तार भए पनि उत्पादकत्व भने बढ्न सकेको छैन । भारतमा प्रतिहेक्टर ९ सय किलोदेखि १ टनसम्म उत्पादन हुन्छ भने नेपालका राष्ट्रिय उत्पादकत्व प्रतिहेक्टर १८९ किलो रहेको छ । यद्यपि प्रतिहेक्टर १५ सय किलो उत्पादन लिन सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ ।
कफीखेती र उत्पादन घट्नुमा युवाहरू वैदेशिक रोजगारीमा जानु, किसानहरूलाई सही तरीकाले खेती गर्न सिकाउन नसक्दा उनीहरू निरुत्साहित हुनु, कीरा र रोग लाग्ने समस्या आउनु आदि कारण रहेका छन् । कफी उत्पादन हुन ५ वर्ष लाग्ने, यसको उत्पादनका चरणहरू निकै भएको र प्रत्येक चरणमा विशेष ध्यान दिनुपर्ने भएकाले किसानहरू यसतर्फ आकर्षित हुन नसकेको देखिन्छ । मुख्य कुरा सानो क्षेत्रफलमा खेती गर्दा प्रशोधन आदि गर्न वा दाना विक्री गर्न समेत समस्या हुने तर जमीनको खण्डीकरण भई ठूलो क्षेत्रफल नहुँदा पनि कफीखेतीमा समस्या आएको बताइन्छ । यही कारण कतिपय किसानले कफी खेती बीचैमा छाडेको पनि पाइन्छ । प्राविधिक जनशक्तिको अभाव पनि यसमा अवरोध छ । यसको प्रचारका लागि अन्तरराष्ट्रिय कफी मेलाहरूमा सहभागी हुनुपर्ने देखिन्छ । रिभ्यु लेख्ने टेस्टरहरूलाई चखाउने घुमाउने गर्दा यसले राम्रो प्रचार पाउँछ ।
कफीखेतीबाट साना किसानहरू लाभान्वित भएका छन् । कफीले विपन्न वर्गका जीवनस्तर उकासेको विषय प्रचार गर्न सके कफीको बजार खोज्न सहज हुने देखिन्छ । यसलाई प्रोत्साहन गर्न अनुदान दिनुका साथै बजारीकरणमा पनि ध्यान जानु आवश्यक छ । उखुजस्ता प्रतिस्पर्धा गर्न कठिन वस्तुमा भन्दा सरकारले कफीजस्ता प्रतिस्पर्धी वस्तुमा अनुदान दिनु बढी उपयुक्त हुन्छ ।