नेपालमा धेरै विश्वविद्यालय छन् । तिनमा पहिलो र पुरानो त्रिभुवन विश्वविद्यालय हो । उच्च शिक्षा प्राप्त गर्न, ज्ञान आर्जन गर्न र आफ्नो क्षमता अभिवृद्धि गराउन विद्यार्थीहरू कक्षाकोठामा अनुशासनबद्ध भएर बसिरहेका हुन्छन् । प्राध्यापकहरूले पढाइरहेका हुन्छन् । निश्चित अवधिसम्म उनीहरूको यही क्रम चल्छ । विद्यार्थीहरूको एक समूह ज्ञान प्राप्त गरेर रोजगार बजारमा जान्छ, फेरि अर्को नयाँ समूह आउँछ । यो क्रमले निरन्तरता पाइरहेको हुन्छ । करोडांै युवायुवतीको ज्ञान आर्जन गर्ने थलो हो त्रिविलगायत नेपालका अन्य विश्वविद्यालयहरू ।
त्रिविको केन्द्रीय अर्थशास्त्र विभागमा अध्ययनको समाप्तिपछि मैले सोही विभागमा कार्यरत हुने मौका पाएँ । आफू विद्यार्थी हुँदा आफैलाई पढाउने आदरणीय गुरूहरूको काखमा लुटपुटिएर सिक्ने र सिकाउने मौका पाएको थिएँ । यो मेरो जीवनमा एउटा अवसरका साथै चुनौती पनि थियो । जानी नजानी पढाउने गर्थें । विद्यार्थीका बीचमा लोकप्रिय थिएँ कि थिइनँ, म आफैले मूल्यांकन गर्ने विषय भएन । तर, त्रिविमा आफ्नो जीवनको ३७ वर्षको अवधि बिताएँ । राम्रो नराम्रो के गरेँ म आफैलाई थाहा छैन ।
प्राध्यापकहरूको काम र कर्तव्यलाई सरसर्ती केलाउँदा विद्यार्थीहरूलाई पठनपाठन गराउनु र उनीहरूको मूल्यांकन गर्नु प्राथमिक कार्यहरूमा पर्छन् । खोज, अनुसन्धान र प्रकाशन आदि प्राथमिक कार्यका पूरक कार्य हुन् । जसमा प्राध्यापकहरू खोज कार्यमा बढी ज्ञान आर्जनका लागि निरन्तर रूपले समर्पित भएका हुन्छन् ।
त्रिवि मेरो जीवनलाई एउटा ज्योति प्रदान गर्ने ठाउँका साथै कर्मथलो पनि हो । यसको बेहाल र बेथितिले मलाई पनि चोट पुर्याउने गर्छ । आज यसको सञ्चालनमा विद्वत् वर्गको नेतृत्व छैन । विद्वत् वर्ग त पलायन भइसकेको छ र भइरहेको पनि छ । एउटा विशाल बोटमा फल फल्दा कहीँ राम्रो हुन्छ, कहीँ नराम्रो पनि । एउटै आमाका सन्तान कोही असल हुन्छन् कोही कमसल । असल जतिले मातृभूमि नै त्यागिसकेका छन् । कमसलहरूको बोलाबाला त्रिविमा आज भइरहेको छ ।
अध्ययन, अध्यापन र अनुसन्धान गर्ने र गराउने प्राध्यापकहरूको दायित्व हो । प्राध्यापक पद आफै एउटा संस्था हो । नयाँ नयाँ ज्ञान प्राप्त गरेबापत दिइने पद हो । ज्ञानले कुनै व्यक्ति पनि निपूण भएको हुँदैन । विद्वत्ता एकाएक उत्पन्न हुँदैन । यसका लागि पनि त्याग र तपस्याको आवश्यकता पर्छ । नयाँ नयाँ ज्ञान प्राप्त गरेबापत पाइने पदवी नै प्राध्यापक हो । यो न कहिले रिटायर हुन्छ न खिइएर जान्छ । जीवनपर्यन्त जीवित रहन्छ । कहीँ कसैले मेटाउँछु भन्दा पनि मेटाउन सक्दैन । तर, यसका लागि अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्छ । त्रिविलगायत नेपालका अन्य विश्वविद्यालयहरूमा आज प्राध्यापक जस्तो गरिमामय पदको ह्रास भइरहेको छ । कथित प्राध्यापकहरू नै दलहरूका झोले भएर हिँडिरहेका छन् ।
मुलुकको अर्थतन्त्र त्यहाँका शिक्षाले तय गर्छ भनिन्छ । तर, प्रमुख प्राज्ञिक थलो नै राजनीतिले गर्दा थला परेको अवस्था छ । आज प्राध्यापक हुन अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्दैन ।
यसले हामी सबैलाई लज्जित बनाइरहेको छ । यो प्राज्ञिक थलो हो तर प्राज्ञिकताको कदर छैन । मुलुकको अर्थतन्त्र त्यहाँको शिक्षाले तय गर्छ भनिन्छ । तर, प्रमुख प्राज्ञिक थलो नै राजनीतिले गर्दा थला परेको छ । आज प्राध्यापक हुन अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्दैन । दलको नेताको आशीर्वादले प्राध्यापक बन्न मदत गर्छ । प्राज्ञिक थलोको नेतृत्व पनि दलहरूले नै तोक्ने गरेकाले यसको मर्यादा घटेको छ । प्राध्यापक बन्न पनि दलहरूका कोटामा पर्नुपर्छ । अध्ययन, अनुसन्धान र प्रकाशनले हुँदैन । सबै विश्वविद्यालयमा यस्तै प्रवृत्तिको बोलाबाला छ । यसै प्रकारका मानिस प्राध्यापक बनिरहेका छन् । अध्ययन, अध्यापन, अनुसन्धान र प्रकाशनमा संलग्न यदि कोही छन् भने उनीहरू छायामा परिरहेका छन् ।
उदाहरण स्वरूप मेरो आफ्नै कुरा गर्दा कक्षाकोठामा गएर लेक्चर दिने कार्य प्राथमिकतामा परेको थियो । अर्थात् पठनपाठनको कार्य नै प्राथमिक कार्य थियो । यसका साथै म खोज, अनुुसन्धान र प्रकाशनका कार्यहरूमा निरन्तर रूपले संलग्न भइरहेँ । यसले मलाई फल दिएको अनुभव गरिरहेको छु । त्रिविलाई विश्वजगत्मा परिचित गराउने कार्यमा मेरो पनि योगदान रहेको छ । मेरा केही कृति नै म र त्रिविलाई विश्वसामु परिचित गराउने माध्यम बनेका छन् । विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूका साथै प्राध्यापकहरूले समेत मेरा कृतिहरूलाई साभार गरेका छन् र गरिरहेका छन् । रिसर्च गेट र एकेडेमिक इडियुको आँकडाअनुसार प्रतिहप्ता विश्वका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत १०–१५ जना शोधकर्ताले मेरा कृतिहरूको खोज र अध्ययन गरिरहेका हुन्छन् । यो नै मेरो जीवनको एक मात्र ठूलो सम्पत्तिको रूपमा रहेको छ । यसका अतिरिक्त मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू मेरा सम्पत्ति हुन् जसले मलाई सम्मान प्रदान गरिरहेका छन् । चाहे तिनीहरू नेपालमा हुन् वा विश्वको कुनै पनि कुनामा हुन् मेरो भन्दा बढी ज्ञान आर्जन गरिरहेका छन् । न कसैको झोले बनेर हिँडेका छन् न चाकडीमा दिनरात कसैकोमा धाउने गर्छन् । आफ्नो स्वाधीनतामा आँच आउन दिएका छैनन् । यो नै मेरा लागि गर्वको कुरा हो । तर, यसमा पनि केही अपवाद त हुन्छ नै । यति हुँदाहुँदै पनि म झन्नै प्राध्यापकका लागि अयोग्य हुने अवस्थामा पुगेको थिएँ । कारण थियो म कसैको झोले हुन सकिनँ । यही कारण प्राध्यापक हुन नसकेका धेरै छन् जो छायामा परिरहेका छन् । उदाहरणका लागि आदरणीय प्राध्यापक भूचन्द्र वैद्य । जो सूर्य विनायकको एक कुनामा कुटी बनाएर जीवनयापन गरिरहेका छन् ।
अध्ययन, अध्यापन, अनुसन्धानमा संलग्न रहनाका लागि त्रिविलाई राजनीतिबाट मुक्त गराउनुपर्छ । यदि सक्षम जनशक्ति उत्पादन गर्ने हो भने विश्वविद्यालयहरूमा राजनीति गराइनु हुँदैन । विगत ३/४ दशकयता विश्वविद्यालयहरू राजनीतिको शिकार भइरहेका छन् । समग्र वर्तमान जनशक्ति त्यतैतिर समाहित भइरहेको छ । भावी पुस्ताको भविष्य अन्धकारमय भइरहेको छ । पठनपाठनको सट्टा दलहरूको कार्यकर्ता बनाइएको छ । अर्थात् त्रिविलगायत सबै विश्वविद्यालयलाई दलका कार्यकर्ताको तालीम केन्द्रमा परिणत गरिएको छ । चाहे कोही प्राध्यापनमा संलग्न होस् वा विद्यार्थी होस् यसो नगरे न जागीर पाइन्छ न बढुवा नै । त्यसैले पढ्नु लेख्नुभन्दा पहिले कुन दलको हो भनेर चिनिनु र उनीहरूको सेवामा हाजीर हुनु सबैभन्दा बलियो प्रमाणपत्रका रूपमा चित्रित हुने गर्छ । यसबाट विश्वविद्यालयहरूलाई मुक्ति दिलाउनु आजको मुख्य चुनौती हो । यसले समग्र प्राध्यापकहरू जसलाई ज्ञानको ज्योतिका रूपमा लिने गरिन्छ, उनीहरूको मर्यादा र गरिमामा ह्रास गराइरहेको छ । यसरी आफ्नो मर्यादामा ह्रास गराउनेमा दलगत राजनीतिमा संलग्न भई प्राध्यापनमा संलग्न व्यक्तिहरू नै हुन् । उनीहरूको प्रमुखकार्य नै अध्यापन, अध्ययन, अनुसन्धान र प्रकाशनमा भन्दा चाकडी र चाप्लुसी नै फलदायी हुने गरेको छ । यो प्रक्रियाको निरन्तरताले नेपालको शिक्षाक्षेत्रको विकास हुन सक्दैन । त्यसैले विश्वविद्यालयहरूलाई राजनीतिबाट मुक्त गराऊँ ।
लेखक अर्थशास्त्री हुन् ।