बागलुङ । लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकामा १५ शय्याको नगर अस्पताल निर्माण अघि बढेको छ । नगर अस्पताल भवनको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सोमवार एक कार्यक्रमबीच शिलान्यास गरे ।
बागलुङ नगरपालिकाले पैंयुपाटामा नगर अस्पताल निर्माणका लागि लामो समय प्रयास पहल र जग्गा व्यवस्थापन गरे पनि नेपालका सबै पालिकामा नगर अस्पताल शिलान्यास गर्ने समयमा बजेट निकास बागलुङ नगरपालिकाको मूलपानीमा भएपछि विवाद भएपछि उक्त समयमा भवन निर्माण अघि बढेको थिएन । बागलुङ नगरपालिका–१३ पैंयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालको नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माण शुरू गरेको हो ।
अस्पताल भवन निर्माण गर्न महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिए । रू. २४ करोडको डिपिआर गरेको अस्पतालको अहिले मुख्य भवन निर्माण गर्न थालिएको छ ।
अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचना भने यसै ठेक्कामा बन्ने इन्जिनियर शर्माको भनाइ छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैंयुपाटा, अमलाचौर र नारायणस्थानका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने बागलुङ नगरपालिका–१३ पैंयुपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।
वडाध्यक्ष पौडेलका अनुसार स्थानीयवासीको ८ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको छ । अस्पताल निर्माण गर्न स्थानीय पालिकाले ९ रोपनी जग्गा व्यवस्थापन गर्ने प्रावधानअनुसार जग्गा व्यवस्थापन भएको थियो । ठेक्का सम्झौता अवधिभित्रै नगर अस्पतालको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि रबिन महर्जनले जानकारी दिए । रासस