वार्षिक अर्बौं रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरिरहेको नेपालले केही वर्षभित्रै जाट्रोफामार्फत डिजेललाई विस्थापन गर्न सक्ने देखिएको छ । देशका ४० जिल्लामा भइरहेको जाट्रोफाको व्यावसायिक खेतीबाट उत्पादन हुने बायोडिजेलमार्फत यस्तो सम्भावना बढेको हो । जाट्रोफाको दाना पेलेर निस्कने तेललाई पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । क्रिष्टल बायोइनर्जीले देशका ४० जिल्लाका १२ हजार हेक्टरभन्दा बढी जमिनमा स्थानीय साझेदारीमा जाट्रोफाको खेती गरिरहेको छ । ‘सातदेखि दश वर्षभित्र डिजेललाई पूर्ण रूपमा विस्थापित गर्न सक्छौं,’ क्रिष्टल बायोइनर्जी नेपालका प्रबन्ध निर्देशक रमेशकुमार राईले भने, ‘सात वर्षभित्र वार्षिक एक अर्ब लिटर बायोडिजेल उत्पादन गर्न सकिन्छ ।’
कम्पनीले सहकारी, वन उपभोक्ता समूह, कृषक समूह तथा अन्य संघसंस्थाको साझेदारीमा जाट्रोफाको खेती गरिरहेको छ । जाट्रोफाको दानाबाट निस्कने तेललाई डिजेलको विकल्पमा सवारीसाधन, जेनरेटर तथा थर्मल प्लान्टलगायतमा प्रयोग गर्न सकिन्छ ।
नेपालमा जाट्रोफालाई कहीँ कदम र कहीँ सजिवनको नामले चिनिन्छ । अन्य बाली लाउन नसकिने रुखो स्थानमा सहज तरिकाले यसको खेती गर्न सकिने विशेषज्ञहरू बताउँछन् । राईका अनुसार एक हेक्टर जमिनमा २ हजार ५ सय जाट्रोफाको बिरुवा अटाउँछ । जाट्रोफाको एउटा बोटबाट दाना उत्पादन हुन कम्तीमा तीन वर्ष लाग्छ । एउटा बोटबाट वार्षिक चारदेखि १० किलोसम्म दाना उत्पादन हुने जाट्रोफाका विशेषज्ञ समेत रहेका राई भन्छन् ।
वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३