काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निवृत्त कमलराज ढुंगेलको ‘इज नेप्लिज प्रस्पेरिटी ए डिलुजन’ नामक कृति प्रकाशनमा आएको छ । आर्थिक अभियान दैनिक तथा न्यू बिजनेश एज म्यागजिनका स्तम्भकार समेत रहेका ढुंगेलले नेपालको अर्थतन्त्रका विविध पक्षको चर्चा गर्दै त्यसको वस्तुस्थितिको विश्लेषण गरेका छन् ।
चार खण्डमा विभाजित यस पुस्तकमा आर्थिक वृद्धि र असमानताको चर्चा गरिएको छ । त्यस्तै नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतहरू विप्रेषण, विदेशी सहयोग र पर्यटनका बारेमा लेखकले विश्लेषण गरेका छन् । लेखकका अनुसार नेपालको अर्थतन्त्र मुख्यतया ६ ओटा विशेषता छन् । ती हुन्– राजनीतिक गतिरोध, द्वन्द्व, कुशासन, जलविद्युत्को विकास, भूपरिवेष्ठितता र विदेशी सहयोग । यिनको सही निकास तथा उपयोगविना आर्थिक वृद्धि हासिल गर्न र असमानता न्यूनीकरण गर्न नसकिने ढुंगेलको निष्कर्ष रहेको छ ।
जलस्रोत, त्यसको उपयोग, भारत–नेपालबीच भएको ऊर्जा सम्झौता र जलविद्युत्को विकासमा वैदेशिक लगानीका अवरोधबारे चर्चा गर्दै लेखकले बिजुलीको स्वदेशी खपतको आवश्यकता उल्लेख गरेका छन् । नेपालको आर्थिक समृद्धिको बाधक राजनीतिक अवरोध नै भएको लेखकको निष्कर्ष रहेको छ । उनका अनुसार सरकारको ‘रेन्टसीकिङ’ प्रवृत्ति, भ्रष्टाचार, गरीबीका कारण समृद्धिको आकांक्षा पूरा गर्न कठिन भएको हो । ३–४ प्रतिशतको सुस्त आर्थिक वृद्धिले समृद्धिको यात्रा अलमलिएको छ भने आर्थिक असमानता पनि बढ्दो छ ।
नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको र वैदेशिक सहायता तथा ऋणको परिचालन पनि सही परियोजनाका लागि नभएकाले समृद्धिको यात्रामा अवरोध रहेको लेखकको ठम्याइ छ । तर, जलविद्युत्, कृषि, पर्यटन र सेवा क्षेत्र नेपालको समृद्धिको आधार भएकोमा उनी विश्वस्त छन् । सरकारको विश्वसनीयता, संस्थाहरू स्वनिर्णयमा चल्न सक्ने अवस्था आदिबाटै समृद्धि सम्भव छ भन्ने तथ्य पुस्तकमा प्रस्तुत गरिएको छ ।
डिमाई साइजमा ३०० भन्दा बढी पृष्ठ रहेको यस पुस्तकको वितरणको जिम्मा रत्नपुस्तक भण्डारले लिएको छ । अन्तरराष्ट्रिय जर्नलका सम्पादक समेत रहेका ढुंगेलले नेपालको ऊर्जा खपतको प्रवृत्ति विषयमा विद्यावारिधि गरेका हुन् । आर्थिक तथ्यांकहरूसहित अर्थतन्त्रका विविध पक्षबारे विश्लेषण गरिएको अंग्रेजी भाषाको यो पुस्तक नेपाली अर्थतन्त्रको स्वरूप, वर्तमान र भावी दिशाबारे जानकारी राख्न उपयोगी हुने देखिन्छ ।