काठमाडौं। वित्तीय साक्षरतालाई प्राथमिकताका साथ अघि बढाएको नेपाल धितोपत्र बोर्डले देशव्यापी रूपमा पूँजी बजारसम्बन्धी सचेतना फैलाउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को समेत सहयोग पाउने भएको छ । असोज १५ गतेदेखि विश्व लगानीकर्ता सप्ताह, २०२३ मनाइरहेको बोर्डले उक्त अवसरमा बिहीवार महासंघसँग सम्झौता गरेको छ । बिहीवार महासंघको केन्द्रीय कार्यालय टेकु, काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड र महासंघबीच देशभर पूँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरपछि बोर्डका अध्यक्ष हमालले महासंघको सहकार्यमा देशका ७७ ओटै जिल्लामा पूँजी बजारसम्बन्धी वित्तीय शिक्षा कार्यक्रम आयोजना गरिने बताए । अध्यक्ष हमालले प्रभावकारी सिकाइ हुने गरी कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे । उनले यसै आर्थिक वर्षभित्र ३० जिल्लामा कार्यक्रम गर्नका लागि सहकार्य गर्न महासंघका अध्यक्ष ढकाललाई आग्रहसमेत गरे ।
महासंघसँगको सहकार्यमा हुने आगामी कार्यक्रमहरू पुराना कार्यक्रम जस्तो नहुने अध्यक्ष हमालको भनाइ थियो । आगामी कार्यक्रम साँच्चिकै व्यावहारिक सिकाइमा परिणत हुनेमा हमालको विश्वास छ ।
हाल २० प्रतिशतभन्दा कममा रहेको पूँजी बजारसम्बन्धी वित्तीय शिक्षालाई बढाएर तथ्यांकमा देखाउन सकिने अवस्था आगामी दिनमा आउने अपेक्षा हमालले गरेका छन् । चाँडै नै आम लगानीकर्ताको मनोबल बढ्ने किसिमको खबर आउने जानकारीसमेत हमालले गराए । अहिले शेयर धितोकर्जाको सीमाका कारण पूँजी बजारका लगानीकर्ता मारमा परेको गुनासो आइरहेका बेला यस विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भएकाले केही दिनमा सकारात्मक समाचार आउने हमालले जानकारी दिए । संस्थागत लगानीकर्ताको हकमा शेयर धितोकर्जाको सीमा राख्न नहुने र व्यक्तिगत लगानीकर्ताको हकमा सीमा बढाउनुपर्ने धारणा हमालको थियो ।
६० लाख नेपालीको लगानी रहेको नेपालको पूँजी बजारलाई उत्पादनमूलक क्षेत्रका रूपमा स्थापित गर्न आगामी दिनमा महासंघले बोर्डसँग सहकार्य गर्न लागेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । देशका एक तिहाइ जनताको लगानी रहेको पूँजी बजारप्रति सकारात्मक सन्देश प्रसारण हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि लगानीकर्ता कर्जा लिन डराइरहनु बजारप्रतिको नकारात्मक टिप्पणी नै रहेको अध्यक्ष ढकालको दाबी थियो । आम लगानीकर्तालाई सचेत गराई देशभित्रै लगानीको वातावरण तयार गर्ने कर्तव्य सरकार, नियामक निकाय र अन्य सबै क्षेत्रको रहेको अध्यक्ष ढकालको भनाइ थियो । बोर्डका अध्यक्ष हमालकोे चालू आर्थिक वर्षभित्र ३० जिल्लामा पूँजी बजार सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावलाई अध्यक्ष ढकालले स्वीकार गरेका छन् । पूँजी बजारमा रियल सेक्टरका कम्पनीहरू भित्रिने वातावरण बन्नुपर्ने बताउँदै महासंघका अध्यक्ष ढकालले ७७ ओटा जिल्लाका व्यवसायीको संयुक्त लगानीमा एउटा पब्लिक कम्पनी दर्ता गर्न लागेको जानकारी दिए । उक्त कम्पनीले छरिएर रहेको सानोसानो पूँजीलाई संकलन गरी ठूला आयोजनाहरू सञ्चालन गर्ने ढकालको भनाइ थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष एवम् बोर्डका सञ्चालक समितिका सदस्य सुरकृष्ण वैद्यले पूँजी बजार उत्पादनमूलक क्षेत्र भएको दाबी गरे । पछिल्लो समय पूँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर टिप्पणी गर्नेहरूलाई आफ्नो टिप्पणी फिर्ता लिनसमेत उनले आग्रह गरे । यो बजार यस्तो क्षेत्र हो जहाँ अर्बौंको लगानी ३ दिनमा नगदमा परिणत गर्न सकिन्छ । कुनै व्यवसायीले ५ अर्ब लगानी गरेर सञ्चालन गरेको होटेल ३ दिनमा नगदमा परिणत गर्न सक्छ ? भन्ने प्रश्न गर्दै उनले पूँजी बजार अर्थतन्त्रलाई चलायमान बनाइराख्न सक्ने उत्पादनमूलक क्षेत्र भएको दाबी गरे ।