काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन भएका छन् । महासंघको विधानको दफा ३८ (ग) बमोजिम फोरमको सभापतिमा गुरागाईलाई चयन गरिएको महासंघले जानकारी दिएको छ । गुरागाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष हुन् ।
महासंघको वैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरेअनुसार अध्यक्ष चन्द्रप्रसाद ढकालले विधानको दफा ३८ (ग) बमोजिम समापतिमा गुरागाईलाई चयन गरेका हुन् । गुरागाईलाई महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउन संघको तर्फबाट अनुरोध गरिएको छ ।
यो फोरममा सभापतिसहित १४ जनाको प्रतिनिधित्व रहने व्यवस्था छ । गुरागाईको सभापतित्वमा अन्य सदस्यहरूसमेत चयन हुनेछन् । फोरमले प्रभावकारी रूपमा कार्य गर्ने अपेक्षासहित फोरमले गरेको कार्यप्रगति अर्थ वार्षिक रूपमा पुनरवलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको महासंघले जानकारी दिएको छ । गुरागाईभन्दा पहिले पूँजी बजार फोरमको सभापतिमा अम्बिकाप्रसाद पौडेल रहेका थिए ।