विराटनगर । राजधानीकेन्द्रित पूँजी बजारलाई कम्तीमा प्रदेश तहमा ल्याउनुपर्नेमा पूँजी बजारका लगानीकर्ताहरूले जोड दिएका छन् । सरोकारवालाहरूसहितको शनिवार विराटनगरमा आयोजित प्रदेशस्तरीय पूँजी बजार सचेतना कार्यक्रममा सहभागीहरूले प्रदेश स्तरमा पनि पूँजी बजारलाई नियमन गर्ने निकायको खाँचो औंल्याएका हुन् ।
उनीहरूले पूँजी बजारलाई नियमन गर्ने धितोपत्र बोर्डजस्ता कार्यालयका विस्तारित शाखा प्रदेशमा पनि हुुनुपर्ने माग गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य अविनाश बोहराले सरकारको नियमनकारी संस्थाको निगरानीबाट मात्रै पूँजी बजारको संरक्षण हुने बताए ।
उनले नेपालमा झन्डै ३६ अर्ब आकारको पूँजी बजार भएको उल्लेख गर्दै यो बढ्दो क्रममा रहेको बताए । उनले दोस्रो बजारका रूपमा रहेको पूँजी बजारमार्फत आउने निष्क्रिय पूँजी लगानीयोग्य भई यसले उत्पादन बढाउने बताए ।
नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेश अध्यक्ष भीम घिमिरेले पूँजी बजार ठूलाठूला ठेकेदारले चलाएको भन्दै यसलाई सर्वसाधरणको पहुँचमा ल्याउनुपर्ने विचार प्रकट गरे । नेपाल चेम्बर अफ कमर्श १ नम्बर प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठले पूँजी बजारमार्पmत हुने लगानी सुरक्षण गर्ने सवालमा राज्यको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पूँजी बजारलाई लगानीका हिसाबले साना र मझौला प्रकारको पूँजी बजार भनेर छुट्ट्याउनुपर्ने राय प्रकट गरे । उनले साना र ठूला आकारका लगानीकर्ता एकै ठाउँमा रहनुभन्दा श्रेणी विभाजन भई अलग कारोबार गर्नुपर्ने आवश्यकता महसूस हुँदै गरेको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार पूँजी बजारको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । उनले सरकार परिवर्तन हुँदैमा पूँजी बजारप्रतिको धारणा परिवर्तन नहुने बताए । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएशन र नेपाल आर्थिक पत्रकार संघको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्षता मोदनाथ ढकालले गरेका थिए ।