काठमाडौं । नेपाली सेनाले प्रदेश नं १ मा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । प्रदेश नं १ स्थित नेपाली सेनाको श्री पूर्वी पृतना हेडक्वाटर ईटहरीमा सो सम्मेलन भएको हो ।
सम्मेलनमा प्रदेश १ का १४ वटा जिल्लाहरुमा बसोबास गर्ने ६ हजार ६४३ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।
सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा नं. १ प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सो सम्मेलन भएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रम राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले भूपू तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताउनुभयो ।