पछिल्लो समय नेपालले विकास र समृद्धिका लागि गरेको लगानीका परिणाम देखिन थालेका छन् । कृषि तथा पशुपालनलाई सरकारले आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको भरपर्दो क्षेत्र बनाउन ल्याएका विभिन्न कार्यक्रमको सफलतासँगै मुलुक धुलो दूध (एसएमपी), बटर (नौनी), मासु र अण्डामा आत्मनिर्भर भएको छ । केही वर्षअघिसम्म यस्ता खाद्यपदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने गरिन्थ्यो । कृषिका हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले हाल एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भरता घोषणाको तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल धुलो दूध, बटर, मासु, अण्डा उत्पादनमा आत्मनिर्भर रहेको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।