कालाबाङ घरेडी सामुदायिक होमस्टेमा पर्यटक खचाखच

पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा पर्यटक व्यवस्थापन गर्न स्थानीयलाई हम्मेहम्मे भएको छ । २०७१ देखि सञ्चालनमा आएको उक्त होमस्टे सुरुको दुई वर्षमा होमस्टे सञ्चालकहरू होमस्टे बन्द गर्ने कि भन्ने सम्मको सोच्न बाध्य भएका अन्ततः तेस्रो वर्षदेखि विस्तारै पर्यटकहरूको आगमन बढेसँगै हाल पर्यटक व्यवस्थापन गर्नसमेत हम्मेहम्मे भएको बताएका छन् ।

सम्बन्धित सामग्री

घरबासले फेर्दै छ थारू महिलाको जीवन

नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् । केही वर्षपहिलेसम्म घरधन्दा र खेतीपातीमै सीमित रहने देवचुली नगरपालिका–१७ का महिलाको दैनिकी अहिले भने फेरिएको छ । नयाँ मानिसका अगाडि उभिन डराउने महिला अहिले सबैको अगाडि निर्धक्कसँग बोल्न सक्ने भएका छन् । महिलामा परिवर्तन हुनुमा देवचुली नगरपालिका–१७ मा सञ्चालन भएको पिप्रहर सामुदायिक होमस्टे ग्राम अर्थात् घरबास हो ।

बोटे समुदायको होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण

चितवन । माडी नगरपालिका वडा नम्बर १ स्थित बोटे सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । सहुलियत दरमा अर्गानिक स्वादको साथै बस्न समेत पाउने भएपछि पर्यटकहरु आकर्षित भएका हुन् ।  २०७७ सालमा १२ घरधुरीले शुरू गरेको बोटे होमस्टेमा बोटे जातिको संस्कृतिलाई पनि संरक्षण गर्ने योजनाका साथ होमस्टे सञ्चालन गरिएको थियो । माछामा नै आश्रित रहेर जीविकोपार्जन गर्ने उक्त समुदायको जीवनस्त बृद्धि गर्ने उद्धेश्यसहित होमस्टे सञ्चालनमा ल्याईएको होमस्टेका अध्यक्ष सन्तोषप्रसाद बोटेले बताए । पर्यटकहरुलाई लोभ्याउन उनीहरुले शुरूमा माछाको चोखा र छ्याङ दिएर स्वागत गर्छन् । पछिल्लो समय आन्तरिक पर्यटकको साथै बाह्य पर्यटक समेत रमाउने गरेका छन ।  पर्यटकलाई होमस्टेबाट ५०० मिटर पर रहेको गोद्धकनाथ मन्दिर, १ किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, ४ किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण पनि गराउंँदै आएको  होमस्टे सञ्चालक कन्ना बोटे बताउँछन् । शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदीकिनारमा आएका जंगली जनावर पनि देख्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको हो ।  होमेस्टेमा आउने पाहुनालाई मौलिक खाना, मौलिक सांस्कृतिक कार्यक्रम देखाउन यहाँका महिलाहरु व्यस्त देखिन्छन् । होमस्टे सञ्चालनमा आएसँगै स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेको बन्ने होमस्टे नम्बर १० का सञ्चालक सुकबहादुर बोटे बताउँछन् । होमस्टेमा एक रात बसेको प्रतिव्यक्ति ६०० रूपैयाँ र मासुसहितको खानाको ३०० रूपैयाँ कायम गरिएको छ  पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादनहरु साग, निगुरोको तरकारी, माछाको अचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकारहरु खुवाउने गरेको होमस्टेका अर्का सञ्चालिका फुलमायाले बताईन  । माडीको रिउ नदी तरेपछि मूल सडकको सेरूवा गेटबाट १५०० मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भू–परिधि कार्यक्रम (ताल)ले आर्थिक सहयोग गरेका छन् । १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुई कोठाको होमस्टे बनाइएको छ । यस क्षेत्रमा १२ वटा होमस्टे छन्, जहाँ एक रातमा ६० जनासम्म अटाउने क्षमता छ। होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगानलगायत सांस्कृतिक कार्यक्रम गरिन्छ । यहांँ सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारूनी लगायतका कला र नाचहरु प्रदर्शन गरिन्छ ।

थारु होमस्टेमा ओइरिँदै पर्यटक

चितवन । कोरोना महामारी सुस्ताउँदै जाँदा चितवनमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पटिहानी र मेघौलीमा अहिले आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन । थारु समुदायको मौलिक संस्कृति र परम्परामा रमाउन पर्यटक थारु होमस्टेमा पुग्ने गरेका छन् । ठूला होटल तथा रिसोर्टको तुलनामा पछिल्लो समय होमस्टेमा आकर्षण बढ्दै गएको स्वयं व्यवसायी बताउँछन् । माडीको शिवद्वार होमस्टेसँगै भरतपुर महानगर–२७ मा रहेको थारु होमस्टेमा बाक्लो संख्याका पर्यटक देखिन थालेका छन् । होमस्टेमा अर्गानिक, मौलिक परिकार, सस्तो बसाइ र शान्त वातावरणका कारण पर्यटक आकर्षित भएका हुन् । मेघौलीमा ०६७ सालदेखि थारु समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे छोटो समयमै पर्यटक रोजाइमा परेको हो । थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा विदेशी पर्यटक पनि सामुदायिक थारु होमस्टेतर्फ तानिएका हुन् । भरतपुर महानगर–२७ का जीवन चौधरी कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन बढ्न थालेको बताउँछन् । ‘अहिले होमस्टे आउने पर्यटक बढिरहेका छन्  । हाम्रो खाना, परिकार, रहनसहन पर्यटकले मन पराउन थालेका छन् । अघिल्ला समय सुविधासम्पन्न होटलमा पर्यटक बस्न मन पराउँथे’, उनले भने, ‘अहिले मौलिक परम्परा र संस्कृतिमा रमाउन थालेका छन् ।’ होमस्टेमा विभिन्न स्वादसहितका अर्गानिक खाना, थारु नाच हेर्न पाइने भएकाले पर्यटक रोजाइमा परेको उनको बुझाइ छ । होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्छन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई आत्मीय प्रकट गर्दछ । स्वागतपछि होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोंगी, माछा, निगुरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले रौनक थप्ने गरेको छ । होमस्टेमा नेपाली पर्यटकले सादा खाना १ सय ५०, मासुसहितको खाना ३ सय, दिउँसो नास्ताको १ सय र एक रात बसेको ५ सय रुपैयाँ मूल्य राखिएको छ । थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्र्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा देखाइने चिचर, घोंगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी, झमटा, झुमरा, डम्फु नाच आदि मौलिक नृत्य देखाइने सामुदायिक होमस्टेका सञ्चालक बुद्धिराम महतोले जानकारी दिए । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण पर्यटकले  होमस्टे रोज्न थालेको महतो बताउँछन् । भरतपुरबाट दैनिक सयौंको संख्यामा गोलाघाट घुम्न आउने गर्छन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगम स्थल गोलाघाट भएकाले पनि पर्यटकका लागि नौलो अनुभव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा पर्यटकको चहलपहल बढी हुने मेघौली पर्यटन विकास समिति अध्यक्ष हरिचन्द्र महतो बताउँछन् । ‘शान्त तथा प्राकृतिक वातावरणसँग पर्यटकले नदी, जंगल, जनावर, सूर्यास्त, होमस्टे, थारु संस्कृतिका सबै अनुभव गर्न पाउँछन् । त्यसैले अन्य गन्तव्यभन्दा मेघौली फरक छ,’ उनले भने ।

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

तनहुँ । सधैं पाहुनाको भीड लाग्ने व्यास नगरपालिका–१३ को आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहीन भएको छ । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् । कोरोना संक्रमण कम हुँदै गएपछि हाल जनजीवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकको भनाइ छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकको गुनासो छ । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि पाहुनाविहीन हुँदा होमस्टे सञ्चालक खेती किसानी गरेर जीविकोपार्जन गरेको बताउँछन् । बास बस्न आएका पाहुनालाई दिइएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ सुरु भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरू बताउँछन् । विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । ०७६ चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन नसकेको होमस्टे सञ्चालक रेशम विकले बताए । कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकामा पुनः ओमिक्रोनले प्रभावित बनेको भानु नगरपालिका–१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । ‘दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउनै पाएनन्,’ अध्यक्ष गुरुङले भने । ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल बस्ती टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । ०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै गएपछि गाउँलेहरू उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाइ छ । पूर्वाधार विकासले बामे सर्दै गरेको होमस्टे पाहुनाविहीन हुँदा गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनको बुझाइ छ । यस्तै पीडा चार वर्षअघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भीमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकको छ । यो होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको उनीहरू सुनाउँछन् । व्यावसायिक बोयर बाख्रापालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।  ‘यहाँका उकाली–ओराली, भन्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे । अहिले सुनसान बनेको छ,’ अध्यक्ष आलेले भने । हाल ओमिक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिए पनि पाहुना नआएको सञ्चालकको भनाइ छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झन्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आँपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् । रासस

माडीको मगर होमस्टे पर्यटकको रोजाइमा, परम्परागत खानासँगै कला र संस्कृतिको आनन्द

माघ २४, चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडीमा रहेको मगर होमस्टे पर्यटकको रोजाइमा पर्दै गएको छ ।  माडी नगरपालिका वडा नम्बर ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (मगर होमस्टे) पर्यटकको आकर्षण बढ्दै गएको हो । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । मारूनी, सोरठी, कौडा, सालैजो, ठाडोभाका, लाखे नाचलगायतका गीत र नृत्य मगर समुदायको मौलिक पहिचान रम्ने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगर बताउँछन् । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् । पुनमगरको बाहुल्यता रहेको यो ठाउँमा १३ घर होमस्टेमा मगर संस्कृति, सोरठी, मारूनी, थाल नाचको प्रस्तुति हुने गरेको छ । मोहनबहादुर पुनमगर लगायत तुलबहादुर पुनमगर, चन्द्रबहादुर थापामगर, पम्फा श्रेष्ठ, गौमाया पुनमगर, शान्ति पुनमगर, गीतादेवी पुनमगर, नैना श्रेष्ठ, लालबहादुर पुनमगर, ठिलबहादुर पुनमगर, गीता पुनमगरलगायत १३ घरपरिवारले एउटा घरमा दुई कोठा र चार बेडका हिसाबले ५२ बेड क्षमताको होमस्टे चलाउँदै आएका छन् । परम्परागत खानासँगै संस्कृति र कलाको आनन्द त्यहाँको घरवासमा लिन सकिन्छ । सो क्षेत्रमा रहेका निजी होटलकोभन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरवासमा आकर्षित हुने गरेका हुन् ।  ‘हामीकहांँ पर्यटकको चाहना अनुसार ताजा, अर्गानिक परिकार पनि पाईन्छ पुन मगरले भने, अन्य होटलहरु भन्दा सस्तो तर सेवा सुविधा पनि बढी छ ।’ पोखरीको ताजा माछासँगै स्थानीय जातको धान कुटेर पकाइने भात, फापर वा कोदोको रोटी, चामल वा कोदोको लोकल रक्सी, लोकल कुखुराको मासु मगर होमस्टेमा उपलब्ध परिकार हुन् । माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरवासमा बस्ने गरेको मगरको भनाइ छ । हालसम्म हामीले १५ हजारभन्दा बढी पाहुनाको स्वागत गरिसकेका उनले बताए । घरवासमा आउने पर्यटकलाई  मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् । होमस्टेमा एउटा घरमा दुईओटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् । एट्याच बाथरूमसहितको कोठा, स्थानीय परिकार र मगर सांस्कृतिक कार्यक्रमको प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गर्दछन् ।  घरवासमा ६०० मा बस्ने र २५० मा खाना खुवाउने गरिएको छ । घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाइन्छ । घरवासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारीखेती गर्नसमेत सहयोग गरिएको उनी बताउँछन् । विसं २०७२ मा शुरु भएको घरवासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरवासमा सोरठी, मारूनीसमेतको आनन्द लिन पाइन्छ ।  ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए । नजिकै रहेको मचानबाट सूर्योदय, सूर्यास्त र वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।  माडी ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण देशकै १०० पर्यटकीय गन्तव्य मध्ये एक पर्यटकीय गन्तव्य भित्र पर्दछ ।

तनहुँको डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ मा डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट करिब ९०० मिटर उचाइमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ ।      सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिर पनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् । पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष आठ लाखको लगानीमा सो टावर निर्माण गरिएको थियो । भ्यू टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्न म्याग्दे गाउँपालिकाले पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष विहीसरा थापा पुलामीले जानकारी दिइन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन शुरू गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ । २०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताए । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरूले चाख्न पाउँछन् । प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुंगी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक, संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाका लागि प्याकेजमा एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहो¥याएर जाने गरेको बताइएको छ । रासस

स्याङ्जाका होमस्टेमा दुई हजार पर्यटक व्यवस्थापन गर्न सकिन

स्याङजाका ४९ वटा होमस्टेमा एकैरात २ हजार जना पर्यटक व्यवस्थापन गर्न सकिनेपोखरा-नेपालकै पहिलो सिरुवारी (पञ्चमूल) सामुदायिक होमस्टे (घरवास) यही माघ २७ गते सोमबारदेखि पर्यटकहरूका लागि खुला भएको छ । कोरोनाको जोखिम न्यूनीकरण हुँदै गएकाले चैत ११ देखि बन्द रहेको सिरुवारी होमस्टे सोमबारदेखि खुला भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सिरुवारी होमस्टेका संयोजक जुम गुरुङले बताए […]

मुक्तिनाथको फेदीमा रहेको ढुम्बा ताल घुमौ, थकाली होमस्टेमा बसौं

होमस्टेमा अन्नपूर्ण क्षेत्र र मुक्तिनाथ घुम्ने पर्यटक लोभिनेमा गाउँले आशावादी छन्। ‘हाम्रो होमस्टेमा बेडको दुई सय रूपैयाँ र खानाको २ सय ५० रूपैयाँ मात्रै पर्छ’, थकाली सामुदायिक होमस्टेका अध्यक्ष सनप्रसाद थकाली भन्छन्, ‘हामी पाहुनालाई लोकल परिकारहरू फापरको रोटी, नुन चिया, ढिँडो, चम्पा, याकको सुकुटी, स्याउ, आदि खुवाउँछौं ।’

पिप्रहर होमस्टे पर्यटकीय गन्तव्य बन्दै

नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् ।

होमस्टेबाट बन्दीपुरको पर्यटन प्रबद्र्धन

तनहुँको पर्यटकीय नगरी बन्दीपुर आफैंमा स्थल हो । रितिरिवाज, संस्कृति, हावापानी, रमणीय स्थल बन्दीपुरको चिनारी हो । बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने प्रमुख माध्यम मध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे समेत हो । होमस्टेकै कारण धेरै पर्यटक बन्दीपुर भित्रिने गरेका छन् । देशका विभिन्न ठाउँबाट बेला–बेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको होमस्टेमा रमाउन आउँछन् ।