माडीको मगर होमस्टे पर्यटकको रोजाइमा, परम्परागत खानासँगै कला र संस्कृतिको आनन्द

माघ २४, चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडीमा रहेको मगर होमस्टे पर्यटकको रोजाइमा पर्दै गएको छ ।  माडी नगरपालिका वडा नम्बर ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (मगर होमस्टे) पर्यटकको आकर्षण बढ्दै गएको हो । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । मारूनी, सोरठी, कौडा, सालैजो, ठाडोभाका, लाखे नाचलगायतका गीत र नृत्य मगर समुदायको मौलिक पहिचान रम्ने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगर बताउँछन् । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् । पुनमगरको बाहुल्यता रहेको यो ठाउँमा १३ घर होमस्टेमा मगर संस्कृति, सोरठी, मारूनी, थाल नाचको प्रस्तुति हुने गरेको छ । मोहनबहादुर पुनमगर लगायत तुलबहादुर पुनमगर, चन्द्रबहादुर थापामगर, पम्फा श्रेष्ठ, गौमाया पुनमगर, शान्ति पुनमगर, गीतादेवी पुनमगर, नैना श्रेष्ठ, लालबहादुर पुनमगर, ठिलबहादुर पुनमगर, गीता पुनमगरलगायत १३ घरपरिवारले एउटा घरमा दुई कोठा र चार बेडका हिसाबले ५२ बेड क्षमताको होमस्टे चलाउँदै आएका छन् । परम्परागत खानासँगै संस्कृति र कलाको आनन्द त्यहाँको घरवासमा लिन सकिन्छ । सो क्षेत्रमा रहेका निजी होटलकोभन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरवासमा आकर्षित हुने गरेका हुन् ।  ‘हामीकहांँ पर्यटकको चाहना अनुसार ताजा, अर्गानिक परिकार पनि पाईन्छ पुन मगरले भने, अन्य होटलहरु भन्दा सस्तो तर सेवा सुविधा पनि बढी छ ।’ पोखरीको ताजा माछासँगै स्थानीय जातको धान कुटेर पकाइने भात, फापर वा कोदोको रोटी, चामल वा कोदोको लोकल रक्सी, लोकल कुखुराको मासु मगर होमस्टेमा उपलब्ध परिकार हुन् । माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरवासमा बस्ने गरेको मगरको भनाइ छ । हालसम्म हामीले १५ हजारभन्दा बढी पाहुनाको स्वागत गरिसकेका उनले बताए । घरवासमा आउने पर्यटकलाई  मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् । होमस्टेमा एउटा घरमा दुईओटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् । एट्याच बाथरूमसहितको कोठा, स्थानीय परिकार र मगर सांस्कृतिक कार्यक्रमको प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गर्दछन् ।  घरवासमा ६०० मा बस्ने र २५० मा खाना खुवाउने गरिएको छ । घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाइन्छ । घरवासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारीखेती गर्नसमेत सहयोग गरिएको उनी बताउँछन् । विसं २०७२ मा शुरु भएको घरवासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरवासमा सोरठी, मारूनीसमेतको आनन्द लिन पाइन्छ ।  ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए । नजिकै रहेको मचानबाट सूर्योदय, सूर्यास्त र वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।  माडी ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण देशकै १०० पर्यटकीय गन्तव्य मध्ये एक पर्यटकीय गन्तव्य भित्र पर्दछ । 

सम्बन्धित सामग्री

कास्कीका घरबासमा पर्यटक खचाखच, 'रैथाने संस्कृति र खानपानले लोभ्यायो'

गण्डकी । कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौं पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्टे) र होटलमा पाहुना भरिभराउ रहेको बताउँछन् । ‘अहिले दैनिक १५ सयदेखि १७ सयसम्म पर्यटक घान्द्रुक आइरहेका छन्, जसमा आन्तरिक पर्यटक नै बढी छन्,’ उनी भन्छन्, ‘घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ ।’ अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास छन् । रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने पर्यटकको रोजाइमा घरबास पर्ने गरेको छ । सेवा र गुणस्तरअनुसार पाहुनाका लागि घरबासको छुट्टाछुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।  हिमालको काखमा पहाडेशैलीका लहरै घर । ग्रामीण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार घान्द्रुकमा पर्यटक लोभ्याउने वस्तु हुन् । असोज–कात्तिक नेपालको मुख्य पर्यटकीय याम हो । यहीबेला ठूला चाडबाड पर्ने भएकाले मानिस घुम्ने योजना बनाइरहेका हुन्छन् । घान्द्रुकजस्ता छोटो दूरीका गन्तव्यमा पर्यटकीय चहलपहल बढी हुन्छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रूपमा देशविदेशमा परिचित छ ।  बर्सेनि हजारौं पर्यटकले यहाँ पाइला टेक्छन् । यहाँको प्रकृति र संस्कृतिमा रमाउँछन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्द्रुकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक घान्द्रुक आउने गरेको अध्यक्ष गुरुङ बताउँछन् ।   अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रूपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा जाँदा एक/डेढ घण्टामै त्यहाँ पुग्न सकिन्छ ।  कास्कीकै माछापुच्छ्रे गाउँपालिका–८ स्थित घरबास गाउँ ल्वाङमा पनि दशैंपछि पर्यटकको चहलपहल बाक्लिएको छ । ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङका अनुसार त्यहाँका २६ घरमा घरबास सेवा छ ।  ‘यहाँ बढी आउने आन्तरिक पर्यटक नै हो, अहिले पर्यटकीय याम चलिरहेकाले विदेशी पाहुना पनि आइरहेका छन्,’ उनी भन्छन्, ‘दशैंपछि पर्यटकको आगमन राम्रो छ, घरबासका कोठा खाली राख्नुपर्ने अवस्था छैन ।’ पोखरादेखि नजिकको गन्तव्य भएकाले पनि ल्वाङ गाउँ पर्यटकको सहज पहुँचमा छ । प्रकृति र संस्कृतिमा रमाउनेका लागि सो गाउँ उपयुक्त मानिन्छ । गुजमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गे छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । ससाना गल्ली, गल्छेंडा र तगारा आदि ल्वाङ गाउँका आकर्षण हुन् । ‘ल्वाङको गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पर्यटकलाई लोभ्याउने गरेको छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।’ विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो । एकै रातमा चार सय जनासम्म पाहुना राख्ने क्षमता घरबासमा छ । कुनै पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ ।  समुद्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशविदेशका अध्येता र अनुसन्धानकर्मीसमेत ल्वाङ पुग्ने गरेका छन् । बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कारसहित रैथाने खानाको स्वाद चखाउने गरिएको घरबास सञ्चालक बताउँछन् । इच्छुक पर्यटकलाई करेसाबारीमा खेती गर्ने र भान्छामा परिकार बनाउने विधि पनि सिकाउने गरिएको उनीहरूको भनाइ छ । निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ । घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँ अन्नपूर्ण आधार शिविर र मर्दी आधार शिविरको पदयात्रामा जाने पर्यटककोसमेत रोजाइमा पर्ने गरेको छ । पर्यटक गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न घरबासलाई रोज्छन् । पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भीर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जादेखि खानेपानी, भेंडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।  घान्द्रुक र ल्वाङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्छन् । आयोजना प्रमुख डा. रबिन कडरिया ‘एक्याप’भित्रका कैयन स्थानमा घरबास सञ्चालनमा रहेको बताउँछन् । ‘घरबास खुलेपछि विशेष गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ, अन्नपूर्ण क्षेत्रको पदयात्रा गर्ने पर्यटकका लागि पनि घरबासले धेरै सहज बनाएको छ,’ उनी भन्छन्, ‘घान्द्रुक, ल्वाङ, सिक्लेस, भुजुङलगायत गाउँमा घरबास सेवा छ ।’ रासस