तनहुँ । सधैं पाहुनाको भीड लाग्ने व्यास नगरपालिका–१३ को आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहीन भएको छ । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् ।
कोरोना संक्रमण कम हुँदै गएपछि हाल जनजीवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकको भनाइ छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकको गुनासो छ ।
कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि पाहुनाविहीन हुँदा होमस्टे सञ्चालक खेती किसानी गरेर जीविकोपार्जन गरेको बताउँछन् । बास बस्न आएका पाहुनालाई दिइएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ सुरु भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरू बताउँछन् ।
विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । ०७६ चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन नसकेको होमस्टे सञ्चालक रेशम विकले बताए ।
कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकामा पुनः ओमिक्रोनले प्रभावित बनेको भानु नगरपालिका–१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । ‘दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउनै पाएनन्,’ अध्यक्ष गुरुङले भने ।
ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल बस्ती टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो ।
०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै गएपछि गाउँलेहरू उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाइ छ । पूर्वाधार विकासले बामे सर्दै गरेको होमस्टे पाहुनाविहीन हुँदा गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनको बुझाइ छ ।
यस्तै पीडा चार वर्षअघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भीमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकको छ । यो होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको उनीहरू सुनाउँछन् ।
व्यावसायिक बोयर बाख्रापालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए । ‘यहाँका उकाली–ओराली, भन्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे । अहिले सुनसान बनेको छ,’ अध्यक्ष आलेले भने ।
हाल ओमिक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिए पनि पाहुना नआएको सञ्चालकको भनाइ छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झन्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आँपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् । रासस