कोरोना महामारी र त्यसको नियन्त्रणका लागि लगाइएका बन्देजका कारण घटेको पर्यटक आगमन केही हप्तायता उत्साहजनक रूपमा बढ्न थालेको छ । अहिले दैनिक २ हजार पर्यटक नेपाल भित्रिइरहेको सरकारी अधिकारीहरूको भनाइ छ । यसमा भारतीय सीमाबाट गाडी लिएर वा अन्य माध्यमबाट प्रवेश गर्ने पर्यटकको यकिन संख्या छैन । कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको पर्यटनमा अहिले आशाको सञ्चार भएको छ ।
विभिन्न देशबाट भैरहवा र पोखरामा सीधा वायुसेवा सञ्चालन हुने हो भने पर्यटक संख्या त्यस क्षेत्रमा निकै बढ्ने सम्भावना देखिन्छ ।
विदेशी विनिमय सञ्चितिमा आएको ह्रासका कारण अर्थतन्त्र संकटमा फस्ने त होइन भन्ने आशंका बढिरहेका बेला पर्यटक आगमनको संख्याले केही राहत दिएको छ । अहिले पर्यटकीय याम भएकाले पनि होटेलहरूको अकुपेन्सी बढेको व्यवसायीहरूको भनाइ छ । हिमाल आरोहणका लागि विभिन्न देशका ९१ पर्वतारोहण दलका ७४० जनाले स्वीकृति लिएका छन् । मुलुकका प्रमुख पर्यटकीय क्षेत्रहरूमा पर्यटकको संख्या उल्लेख्य मात्रामा देखिन थालेको छ । कोरोनाका कारण घुमफिर गर्न जान नपाएका पर्यटकहरू अहिले धमाधम पर्यटन प्याकेज लिइरहेका छन् । पर्यटनको यो विश्वबजारबाट नेपालले लाभ लिन विशेष कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।
नेपालले प्रचारका लागि विशेष अभियान चलाएका कारण पर्यटकको आगमन बढेको होइन । अहिले आएका पर्यटकमध्ये अमेरिकी र बेलायतीको संख्या उल्लेख्य देखिन्छ । यो गुणस्तरीय पर्यटनका लागि आशाको संकेत हो । तर, यी देशबाट बढीभन्दा बढी पर्यटक ल्याउन नेपालले प्रवर्द्धनात्मक कार्यक्रम गर्न पुगेको छैन । त्यस्तै, पर्यटनका विशेष प्याकेज पनि पर्याप्त छैनन् ।
अहिले देखिएको सकारात्मक वृद्धिलाई अझ बढी गति दिन पर्यटनसँग सम्बद्ध कार्यालयहरूमा व्यापक सुधार आवश्यक देखिन्छ । त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै पर्यटकहरूले जे अनुभव गर्छन् त्यो निकै महत्त्वपूर्ण हुन्छ । तर, अनलाइन तिर्न मिल्ने शुल्कका लागि नगद नै लिएर आइज भनेर अध्यागमन कार्यालयले यही ठाउँबाट नकारात्मक सन्देश दिएको छ । पर्यटक हैरानी बेहोर्न आएका होइनन्, सकारात्मक नयाँ अनुभव र अनुभूति सँगाल्न आएका हुन् । तर, उनीहरूले विमानस्थलबाट शुरू भएको हैरानी विभिन्न ठाउँमा झेल्नुपर्ने बाध्यता छ । त्यसैले नेपालले सेवाको गुणस्तर सुधार्नु जरुरी छ ।
नेपाल तुलनात्मक रूपमा सस्तो गन्तव्य भए पनि सीधा उडान नभएकाले पर्यटकले भाडाकै लागि ठूलो रकम खर्चिनुपर्ने बाध्यता छ । यो बाध्यताको अन्त्य गर्न प्रमुख पर्यटकीय बजारहरूमा नेपाली वायुसेवा पुर्याउन जरुरी छ जुन तत्कालका लागि भने कठिन देखिन्छ । विदेशी वायुसेवाहरूले सीधा उडान सेवा दिए भने पनि पर्यटक आगमन संख्या निकै बढ्छ । ट्रान्जिटमा नै लामो समय बिताउनुपर्ने अवस्था भएकाले इच्छा भएर पनि पर्यटकहरू नेपाल भ्रमणमा आउन सकिरहेका छैनन् । विभिन्न देशबाट भैरहवा र पोखरामा सीधा वायुसेवा सञ्चालन हुने हो भने पर्यटक संख्या त्यस क्षेत्रमा निकै बढ्ने सम्भावना देखिन्छ ।
नेपालले पर्यटकीय प्याकेजहरूमा नवीनता ल्याउन सकेको छैन । त्यही कारण पनि पर्यटक बढ्न नसकेको देखिन्छ । र्याफ्टिङका लागि नेपाल आउने पर्यटक भारततिर आकर्षित हुनु यसको उदाहरण हो । पछिल्लो समय तारे होटेलहरूको संख्या बढेको छ । केही साहसिक खेलहरू पनि थपिएका छन् । तर, यस्तो खेलमा विदेशीभन्दा स्वदेशी पर्यटक नै आकर्षित भएको देखिन्छ । यसो हुनुमा विदेशमा प्रचारको कमी एउटा कारण हुन सक्छ । नेपालले पर्यटनको बजारीकरणमा सही नीति लिन नसकेको देखिन्छ ।
नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका देशहरूको संख्या बढ्दो छ । तर, आर्थिक कूटनीति कमजोर भएका कारण यसबाट नेपालले खासै फाइदा लिन सकेको देखिँदैन । आर्थिक कूटनीतिबारे प्रशिक्षण दिने गरे पनि राजदूतहरूले नेपालको प्रचारका लागि पर्याप्त काम गर्न नसकेको देखिन्छ । बजेट पर्याप्त नहुँदा आर्थिक कूटनीतिका क्रियाकलाप प्रभावकारी बनाउन नसकिएको राजदूतहरूको गुनासो पनि पाइन्छ । यो साँचो हो भने उनीहरूलाई स्रोत उपलब्ध गराउन कन्जुस्याइँ गर्नु हुँदैन ।
नेपालले विशेष खालको पर्यटनमा जोड दिनु उपयुक्त हुन्छ । अपांगता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज ल्याउने हो भने गुणस्तरीय पर्यटक ल्याउन सकिन्छ । यो एउटा उदाहरण हो । त्यस्तै मेडिकल पर्यटनलगायत नवीन खालका प्याकेजमा लगानी बढाउन आवश्यक छ । यसबाट गुणस्तरीय र विशेष पर्यटकलाई तान्न सकिन्छ र कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढाउन सकिन्छ ।