लाभांशमा केन्द्रीय बैंकको अवाञ्छित हस्तक्षेप

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने लाभांशमाथि निरन्तर हस्तक्षेप गर्दै आएको छ । हस्तक्षेपकारी नीतिले बैंक तथा वित्तीय संस्था अधिक पूँजीको भारवहन गर्न बाध्य भएका छन् । केही बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकको नीति स्वीकार पनि हुने र अधिक पूँजी पनि नहुने गरी अपनाएको मध्यमार्गलाई भने उल्लेखनीय पक्ष मान्नुपर्छ । पूँजी भनेकै चुक्ता हो भन्ने सोचाइले कम्पनी अधिक पूँजीकरण हुँदै गएका छन् । अधिक पूँजीले स्रोत परिचालनमा सृजना गर्ने जटिलताले पर्याप्त नाफा आर्जन गर्न सकिँदैन र यसो हुँदा परिमाणात्मक आम्दानी बढेको देखिए पनि गुणात्मक (प्रतिशेयर) आम्दानीमा ह्रास आउँछ । प्रतिशेयर आम्दानीमा ह्रास आउँदा शेयरको बजार मूल्य पूँजीकृत सम्पत्तिको मूल्यभन्दा कम हुन्छ । यस्तो अवस्था नआउन नदिन कम्पनीले पूँजी (चुक्ता) भन्दा सञ्चितिमा बढी जोड दिनुपर्छ र नियामकले पनि यस्तै कार्यका लागि प्रोत्साहित गर्नुपर्छ । तर, व्यावहारिक रूपमा कम्पनी सञ्चालक र व्यवस्थापक पूँजी बढाएर कम्पनी बलियो बन्छ भन्ने भ्रममा छन् । यस्तो भ्रम केन्द्रीय बैंकका अधिकारी र पदाधिकारीमा पनि देखिएको छ । यस्तो भ्रम रहनु कम्पनीका लागि शुभसङ्केत होइन । ऋणपत्र उठाउने वा नउठाउने कम्पनीको स्वतन्त्र निर्णय पनि केन्द्रीय बैंकको शिकार बनेको छ । यस्ता अवाञ्छित निर्देशन र हस्तक्षेपको सिलसिला लाभांशमा पनि परेको छ । हस्तक्षेपको सिलसिला बैंकहरूको बैंक, सरकारको आर्थिक सल्लाहकार र बैंक तथा वित्तीय संस्थालगायतको नियामक केन्द्रीय बैंक हो । सार्वजनिक प्रशासनले गर्न नसक्ने कार्य विशिष्टीकरण अनुरूपको व्यवसाय तथा पेशाको अनुमति, अनुगमन र सुपरिवेक्षण गर्न खडा गरिएका निकाय नियामक हो । यस्ता निकाय सार्वजनिक प्रशासनभन्दा भिन्न रहेर तोकिएको क्षेत्रमा स्वायत्त प्राधिकृत अधिकारको उपयोग गर्छन् र सरकारबाट स्वतन्त्र हुन्छन् । कोलिन्सको डिक्सनरीमा निश्चित क्षेत्रको गतिवधि नियमन गर्न सरकारद्वारा गठित संगठन भनिएको छ । नेपाल राष्ट्र बैंक विषयविज्ञ नियामक भए पनि विषयबाहिर गएर निरन्तर हस्तक्षेप गरिरहेको छ । पूँजी प्राप्त गर्ने एउटा वित्तीय उपकरणको रूपमा रहेको हकप्रद जारी गर्ने कम्पनी साधारणसभाको निर्णयमाथि अघोषित रूपमा हस्तक्षेप गरेको छ । हकप्रद ‘विकृत’ बनेको कुरामा कसैको पनि दुईमत छैन । तर, यसो भन्दैमा अनधिकृत निकायले हस्तक्षेप गर्नु सान्दर्भिक हुँदैन । बरु यस्ता उपकरणको तालुकी निकायसँग समन्वय गरी व्यवस्थित गराउन लाग्नुपर्छ । गाभ्ने गाभिनेसम्बन्धी विषयमा पनि अवाञ्छित हस्तक्षेप नै गरेको छ । गाभिने नगाभिने निर्णय गर्ने साधारणसभाको अधिकारमाथि कुठाराघात गर्दै त्यस्ता कम्पनीको शेयर कारोबार रोकेर राखेको छ । हुँदाहुँदा अहिले कर निर्धारकसमेत बनेको छ । महालेखा परीक्षकले शेयर प्रिमियम, कम्पनी गाभ्दा प्राप्त हुने स्वाप रकमलाई कम्पनीको आय मानी कर लगाउनु भनेर दिएको कैफियत प्रतिवेदन आफैमा विवादास्पद छ । यस्तो विवादास्पद निर्देशनमाथि टेकेर गाभिने कम्पनीबाट प्राप्त हुने स्वाप रकमलाई नाफासरह कर तिरेर पूँजीगत जगेडामा राख्न दिएको निर्देशन अचम्मलाग्दो छ । यस्तै रकमको विवादमा बीमा समितिले त्यस्ता रकमको सम्बन्धमा कुनै निर्णय नगर्न निर्देशन दिएको छ । कर विवादको छिनोफानो गर्ने निकाय सरकारबाहेक अरू हुन सक्दैन । यति कुरा केन्द्रीय बैंकले बुझेको छैन भन्ने ठाउँ छैन । त्यस्तै, कम्पनीलाई २५ प्रतिशत ऋणपत्र जारी गर्न दिएको बाध्यात्मक निर्देशन पनि सान्दर्भिक हुँदै होइन । ऋणपत्र उठाउने वा नउठाउने कम्पनीको स्वतन्त्र निर्णय पनि केन्द्रीय बैंकको शिकार बनेको छ । यस्ता अवाञ्छित निर्देशन र हस्तक्षेपको सिलसिला लाभांशमा पनि परेको छ । लाभांश वितरण गर्ने कम्पनी ऐन, २०६३ को व्यवस्थालाई पनि नियन्त्रणमा लिएर नगद र बोनसको दर तोकेको २ वर्ष भइसकेको छ । लाभांश कति बाँड्ने भन्ने पनि कम्पनीको निर्णय हो, जुन कम्पनी ऐनले नियमन गर्छ । व्यावसायिक गतिविधिमा व्यवसाय नियामकले अनुपालनाका विभिन्न शर्त तोक्नलाई अन्यथा भन्न मिल्दैन । तर, नियामकले तोकेका शर्त र प्रचलित कानूनका अधीनमा रहेर आर्जित आम्दानी शेयरधनीलाई बाँड्नमा लगाएको रोक वा नियन्त्रणमुखी हस्तक्षेप सान्दर्भिक होइन । केन्द्रीय बैंकको लाभांश नीतिले बैंकिङ कम्पनीलाई बलियो होइन, कमजोर बनाउँदै लगेको छ । कम्पनी चुक्ता पूँजी होइन, सञ्चितिले बलियो बनाउने हो । तर, केन्द्रीय बैंकको नीतिले बलियो होइन, धराशयी बनाउँदै लगेको छ । लाभांश नीतिमा पुनर्विचार गरी सञ्चित जगेडा बढाउनेमा केन्द्रित हुनुपर्छ । लाभांशको कानून बैंक होस् वा बीमा वा विमान सबै कम्पनीको सञ्चालनको नियमन कम्पनी ऐन, २०६३ ले गर्छ । लाभांश वितरण पनि कम्पनी ऐनकै विषयमा पर्छ । आयकर ऐन, २०५८ दफा २(क ध) ले लाभांश भन्नाले निकायबाट हुने वितरण सम्झनुपर्छ भनेको छ । सोही ऐनको दफा २ (भ) ले कम्पनीलाई निकायको परिभाषामा राखेको छ । अतः समस्त प्रकारको कम्पनी (निकाय) बाट हुने ‘वितरण’ लाभांश हो । यस्तो लाभांश वितरणको नियमन कम्पनी ऐनले मात्र गर्छ । कम्पनीले आर्जित लाभबाट तोकिएका शर्तबन्देज पूरा गरेर शेयरधनीलाई लाभांश बाँड्न सक्छन् । बैंक, बीमा र सरकारी स्वामित्वको कम्पनीको लाभांश नियामक र सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था कम्पनी ऐनको व्यवस्थासँग बाझिएको छ । नियामक लाभांशको नियामक होइन, व्यवसायको मात्र नियामक हो । नियमनमा रहेर व्यवसायजन्य गतिविधि गरेर प्रचलित कानूनबमोजिम आर्जन गरेको खुद नाफाको वितरणमा नियामक वा सरकार कसैले पनि स्वीकृति लिन आऊ भन्ने कार्य बेकारको कुरा हो । सरकारी स्वामित्वको कम्पनीमा सरकारको स्वीकृतिको प्रसंग पनि औचित्यहीन छ । सरकार आफै शेयरधनी र सञ्चालक भएर गरेको निर्णयमा सरकारको स्वीकृतिको औचित्य कतै देखिँदैन । लाभांश वितरणमा सबै कम्पनीको हकमा कम्पनी ऐनको दफा १८२(६) आकर्षित हुन्छ । उक्त दफामा कम्पनीले कुनै आर्थिक वर्षमा भएको नाफाबाट लाभांश वितरण गर्नुभन्दा पहिले पूर्व सञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरूपमा कट्टा गरिसकेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको प्रतिबन्धात्मक वाक्यांशमा लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा नगरी लाभांश वितरण गर्न नसक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंक र बीमा समितिले यही प्रतिबन्धात्मक वाक्यांशको व्यवस्थाअनुसार कार्य गर्न रोक लगाएको मानिँदैन । यस व्यवस्थाअनुसार बैंकिङ कम्पनीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ दफा ४४ र ४५ अनुसार साधारण जगेडा कोष र सटही समीकरण कोषका लागि रकम नछुट्ट्याई लाभांश वितरण गर्न सक्दैनन् । त्यस्तै, दफा ४७(२) मा सर्वसाधारणलाई शेयर निर्गमन नगरेसम्म र दफा ९९(घ) अनुसार केन्द्रीय बैंकद्वारा जारी नियम, विनियम र निर्देशन पालना नगरेमा लाभांश वितरणमा रोक लगाउन सक्छ । दफा ९९(घ) को प्रावधान यति र उति नगद र बोनस बाँड्न दिएको हस्तक्षेपकारी निर्देशनको पालना नगरेको भन्ने अवस्था होइन । यस्ता निर्देशनमा पूँजीकोष, जोखिम भारित सम्पत्तिलगायत निक्षेप र व्यावसायिक सुरक्षाका विषय पर्छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पूँजी होइन, पूँजीकोष बलियो बनाउन लगाएमा सबैभन्दा श्रेयस्कर कार्य हुन्छ र यसले वित्तीय स्थायित्व बढाउँछ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

अन्तरबैंक कारोबारमा पाकिस्तानी रुपया कमजोर, डलरको तुलनामा रुपयाको भाउ झन घट्यो

इस्लामावाद । पाकिस्तानी मुद्रा रुपयाको भाउ घटेको छ । शुक्रवार अन्तर बैंक बजारमा डलरको तुलनामा रुपयाको भाउ ७ रुपया १७ पैसा घटेर प्रतिडलर २६२ रुपया ६० पैसामा आएको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ८१ प्रतिशत कम हो । खुला बजारमा साँझ ४ः१५ बजेतिर पाकिस्तानी रुपया प्रतिडलर २६९ मा किनबेच भइरहेको पाकिस्तानका विनिमय कम्पनीहरूको संगठन इकयापका तथ्यांकले देखाएको छ । यो कमी अघिल्लो दिनको भन्दा ७ रुपया अर्थात् २ दशमलव ६७ पैसा कम हो । औपचारिक माध्यमबाट देशभित्र उल्लेख्य मात्रामा विप्रेषण भित्रिन शुरु भएको बताइएको छ । आगामी महीनामा विप्रेषण बढेर साढे २ अर्ब डलरमाथि पुगेर क्रमशः ३ अर्ब डलर नजिक पुग्ने अनुमान गरिएको छ । आगामी केही महीनमा निर्यात पनि सुध्रिएर मासिक ५० करोड डलरमा पुग्ने आशा गरिएको बताइएको छ । सरकारले विनिमय दरमा लगाएको सीमा हटाएपछि निर्यात अवस्था सुध्रिएको हो । सरकारले चार महीनाअघि नै सीमा हटाएको भए देशमा उच्च महँगी नहुने विश्लेषण गर्न थालिएको छ । विनिमय दरमा सीमा लगाउँदा विप्रेषणमा कमी र आयात महसुल अकासिएको लगायत अवस्थाले पाकिस्तानले ६ अर्ब डलर विदेशी मुद्रा गुमाउनुपरेको अल्फा बिटा कोरका सीईओ खुर्रम शहजादले बताए । शुक्रवारको समायोजनपछि पाकिस्तानमा विप्रेपण औपचारिक माध्यमतिर फर्किएको छ । यस्तोमा डलर स्थिर बन्ने विश्लेषकहरूको अनुमान छ । गएको मंगलवार विनिमय कम्पनीहरूले खुला बजारमा विनिमय दरमा लगाएको स्वघोषित सीमा हटाएका थिए । फलतः बुधवार खुला बजारमा डलरको भाउ २४० रुपया ७५ पैसाबाट बढेर २५२ रुपया ५० पैसामा उक्लिएको थियो । रुपयाको भाउलाई टेवा दिन एसबीपीले बजारमा हस्तक्षेप गरेपछि डलर रुपया विनिमय दर बलियो बन्दै २४३ रुपयामा झरेको थियो । तर, हस्तक्षेपको असर लामो समयसम्म टिक्न सकेन । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग रोकिएको वित्तीय उद्धार वार्ता सुचारु गर्न अनौपचारिक सीमा पनि हटाइयो । त्यसपछि रुपयाको भाउ खुला बजार र अन्तरबैंक बजारमा ह्वात्तै घटेको थियो ।  हालैका महीनामा यो अन्तर १५ रुपयासम्म थियो । यी घटनाक्रमहरूले मुद्रा बजारलाई झनै अस्थिर बनाइदियो । कारोबार छिटपुट भयो । विनिमयमा तोकिएको सीमा हटाउनु आवश्यक थियो । यो कदमले निर्यात प्रक्रिया बढाउने र आधिकारिक बैंकिङ च्यानलहरूमार्फत विप्रेषण आप्रवाह बढाउने विश्लेषण गरिएको छ । जुन २० मा सकिएको हप्तामा पाकिस्तानको विदेशी विनिमय सञ्चिति ३ अर्ब ६७ करोड ८० लाख डलरमा झरेको थियो । यसले १६र१७ दिनको मात्रै आयात धान्न पुग्छ । कोषको झन्डै ७ अर्ब डलर बराबरको कर्जा कार्यक्रम अन्तर्गतको रोकिएको किस्ता फुकेमा पाकिस्तानले १ अर्ब २० करोड डलर बराबरको किस्ता पाउनेछ भने मित्रदेश र अन्य बहुपक्षीय कर्जादाताहरूबाट पनि सहायता प्रवाहको बाटो खुल्नेछ । एजेन्सी

यसकारण हुँदैन सरकारी बैंकको मर्जर

त्यही निकाय जसले हिजो बैंकको इजाजतपत्र वितरण गरेको थियो, आज बैंकहरूको संख्या घटाउन लागिपरेको छ । विशुद्ध नाफा कमाउने हेतुले सञ्चालनमा रहेका यी बैंकको संख्या घट्दो क्रममा छ । यसलाई केन्द्रीय बैंक आफ्नो सफलता मान्दै आवश्यक परे सरकारी बैंकको समेत मर्ज गर्नुपर्ने भनेर चर्चा शुरू गरेको छ । सरकारी बैंकमा धेरै कर्मचारीलाई अवकाश दिनुपर्‍यो भने ठूलो धनराशि खर्च हुन्छ किनभने निजीमा जस्तो सजिलै कर्मचारीलाई अवकाश दिन सकिँदैन । मर्जरका विभिन्न फाइदा छन् । बैंकको पूँजी विस्तार मात्र नभएर बैंकको जोखिम वहन क्षमतासमेत वृद्धि भएको देखिएको छ । स्वस्थ प्रतिस्पर्धामा उल्लेखनीय वृद्धि र सुधार भएको भेटिन्छ । बैंकको वित्तीय आकार ठुलो हुनासाथ कर्जा लगानी क्षमता वा प्राविधिक पक्षमा राम्रो सुधार आउँछ । समग्रमा यसले सर्वसाधारणमा विश्वाससमेत बढाउँछ । केन्द्रीय बैंकलाई अनुगमन गर्न कम खर्चिलो हुन्छ । कर्मचारीहरूलाई एउटा ठूलो परिवार दिलाई काम गर्ने नयाँ शैली र प्रचलन, काम गर्ने नयाँ संस्कृति सिकाउन सहयोग गर्छ । बैंकभित्र रहेको वित्तीय अवस्था पारदर्शी पारेर कर्मचारीलाई एउटा स्थानमा रहेको आभास दिलाउन सहयोगसमेत यस्तो मर्जरले गर्ने गर्छ । तर, सबै पक्ष सकारात्मक छ भन्ने चाहिँ होइन । निजी बैंकहरूमा चलेको मर्जको लहरले नयाँपनमा संकुचन आउन थालेको देखिन्छ । बैंकहरूले ठूलो हुने उद्देश्य लिँदै गर्दा नयाँपन र प्रतिस्पर्धी भाव हराउन सक्ने देखिएको छ । मर्जरले साना ग्राहकलाई उपेक्षाका दृष्टिले हेर्ने परिपाटी बस्न सक्छ, जसबाट बैंकको सेवासुविधाबाट साना ग्राहकहरू वञ्चित हुन सक्छन् । आज जसरी सामान्य कृषक बैंकमा गएर कर्जा आवेदन दिन सक्छ, बैंकहरू ठूलो भएपछि ठूला ग्राहकहरू मात्र प्राथमिकतामा पर्न सक्छन् । यसले गर्दा वित्तीय पहुँचमा एउटा तगारो सृजना हुन सक्छ । भारतलगायत मुलुकको उदाहरण हेर्ने हो भने गाभिएर बैंक ठूलो भएपछि सेवासुविधा केही व्यापारी वर्गमा सीमित भएको देखिन्छ । राजनीतिक हस्तक्षेप भइरहने भएकाले नेपालका सरकारी बैंकहरू समस्यामा परेका देखिन्छन् । सरकारी बैंक मर्जमा गए पनि ठूलो समस्या आउँछ । मर्जर नहुँदा कुनै एकमात्र डुब्ने हुन सक्छ । सरकारी बैंकहरूले हजारौंलाई रोजगारी प्रदान गरिरहेको छ । बैंक मर्जमा गएपछि धेरै कर्मचारीले रोजगारी गुमाउनुपर्ने हुन्छ । निजी बैंक मर्जरमा गएका कारण थुप्रैको जागीर गुमेको छ । सरकारी बैंकमा पनि यस्तै अवस्था आउन सक्छ । सरकारी बैंकमा धेरै कर्मचारीलाई अवकाश दिनुपर्‍यो भने ठूलो धनराशि खर्च हुन्छ किनभने निजीमा जस्तो सजिलै कर्मचारीलाई अवकाश दिन सकिँदैन । त्यस्तै बैंकभित्र कर्मचारीको वृत्ति विकासमा समेत धक्का पुग्ने हुन्छ, जुन निजी बैंकहरूमा अहिले देखिएको छ । त्यसै गरी स्वैच्छिक अवकाश दिँदा अनुभवी कर्मचारीहरू बेरोजगार भएर बस्नुपर्ने हुन्छ । यसै गरी, ५० को दशकमा सरकारी बैंकमा संस्थागत सुधार कार्यक्रम ल्याइएको थियो । कर्मचारीहरू धेरै हुँदा बोझका रूपमा हेर्ने गरिन्थ्यो । मर्जरबाट त्यही अवस्था पुन: आउने सम्भावना हुन्छ । बस्ने कुर्सीको अभाव त नहोला तर कर्मचारीले गर्नुपर्ने काममा स्पष्टता नभएर समग्र उत्पादकत्व घट्न सक्ने अवस्था भने आइपर्छ । कर्मचारीलाई बोझको रूपमा हेरिँदै गर्दा कर्मचारीको महत्त्वमा कमी आउनु स्वाभाविक हो । कर्मचारीको संरचना नै परिवर्तन हुँदा हिजोसम्म बनाइएको आफ्नो स्थान फेरि शून्यमा झरेर कर्मचारीले आफ्नो पुन: प्रतिष्ठा जागृत गर्नुपर्ने हुन सक्छ । मर्जरमा लाग्ने खर्चले वासलातमा असर पर्ने भएकाले कर्मचारी सेवासुविधासम्बन्धी विषयले धेरै समयसम्म एउटा आधार पाउँदैन । एकातिर आफ्नो व्यवहार सम्हालेर बसेको कर्मथलो अनिश्चित हुन्छ भने अर्कोतर्फ समग्र वृत्ति विकासमा यसले रोक्न । भारतमा पनि २०१९मा मेगा मर्जरले तरंग ल्याएको थियो, जसमा पन्जाब नेशनल बैंक, युनियन बैंक, केनरा बैंक र इन्डिया बैंकहरू मर्ज भएका थिए । १९९३ देखि २००६ को अवधिमा मात्र भारतमा २१ ओटा बैंक मर्जरमा गएको पाइन्छ । ‘गाइडेड मर्जर’ अन्तर्गत मलेशियामा पनि करीब ५० ओटा बैंक मर्ज भएर १० ठूला बैंकमा बनेका थिए । दक्षिण कोरिया होस्, जर्मनी होस् या अमेरिका, त्यहाँ बैंकहरू मर्जरमा नगएको पक्कै होइन । नेपालका बैंकहरू आज पनि द बैंकर्सले प्रकाशित गर्ने बैंकको नामावलीभित्र पर्न सकेको छैन, जसले गर्दा हाम्रो बैंकिङ प्रणालीको अन्तरराष्ट्रिय स्थानमा पर्न नसकेको पुष्टि हुन्छ । मर्जर शायद उपयुक्त माध्यम हो नेपाली बैंकहरूलाई उच्च तहसम्म पुर्‍याउन । तर, हिजोझैं आज बैंकको संख्या घटाएर पुन: इजाजतपत्रको खेलमा निकाय नलागून् । लगभग पूर्ण सरकारी स्वामित्व रहेको बैंकलाई अगाडि कसरी लैजाने भन्ने जिम्मा पक्कै पनि नेपाल सरकारको हो । यदि एउटा बैंक आफू मातहत राख्न चाहेमा त्यसको फाइदा र बेफाइदा छन् । नचाहेमा पनि फाइदा बेफाइदा छन् नै । अहिले निजी बैंकहरू मर्ज हुँदा सरकारी बैंकहरू सानो आकारको हुँदै गएको अवश्य हो । तर, यी सरकारी बैंकलाई अब्बल पार्ने जिम्मेवारी सरकारले लिन सकेमा भोलिको दिनमा यसबाट आउने नाफा पनि नेपाल सरकारलाई नै हुनेछ । नेपाल सरकारको सम्पूर्ण बैंकिङ कारोबार सरकारी बैंकबाट गर्नुपर्ने प्रावधानसमेत सरकारले ल्याउन सक्नुपर्छ । आज ठूला र विश्वासिला कारोबार चाहे कर्जाको होस् या प्रतीतपत्रको होस् । त्यो निजी बैंकबाट गरेको भेटिन्छ । सरकारी बैंकहरूका पनि समस्या छन् । ५ प्रतिशत बोनसमा खुम्चिनु परेको छ । सेवासुविधा निजीसरह छैन । यही माग राखेर कर्मचारी युनियनहरूले व्यवस्थापनसँग विवाद बढाउन सक्छन् । सरकारी बैंकको मर्जरसम्बन्धी निर्णय पूर्णतया लगानीकर्ता अर्थात् नेपाल सरकारसमक्ष रहेको छ । तर, सरकारी बैंकहरू अक्षम भएर मर्जर गर्नुपर्छ भन्ने चाहिँ होइन । नाफामा समेत अब्बल हुन सक्ने यी बैंकहरूलाई हौसला र सहयोगमात्र आवश्यक छ । मर्ज हुँदैमा ठूलै उपलब्धि आइलाग्ने पनि शायद होइन । ठूलै केही गुमाउने पनि पक्कै होइन । यस कारण पर्याप्त बहस, विश्लेषण र अनुसन्धानपश्चात् मात्र ठोस निर्णयमा पुग्नु बुद्धिमानी हुनेछ । रेग्मी बैंकर हुन् ।

गभर्नर निलम्बनमा अदालतको आदेश

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नरले सर्वोच्च अदालतमा दायर गरेको रीटमा अदालतको एकल इजलाशले अल्पकालीन अन्तरिम आदेश दिएर निलम्बन रोकेको थियो । संयुक्त इजलाशले एकल इजलाशको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । अदालतको यस्तो आदेशले केन्द्रीय बैंकको स्वायत्तता ‘बच्यो’ भन्ने तर्क आएका छन् । साँच्चीकै यो आदेशले केन्द्रीय बैंकको स्वायत्तता ‘बच्यो कि गुम्यो’ भन्ने विषयमा राजनीतिक हिसाबले व्याख्या गर्दा ‘बच्यो’ भन्न सकिए पनि प्रणालीगत हिसाबले व्याख्या गर्दा भने ‘गुमेको’ छ । अदालतको आदेशले केन्द्रीय बैंकको हैसियतलाई एक साधारण संस्था र गभर्नरलाई त्यसको प्रमुख कार्यकारी अधिकृतसरहमा झारिदिएको छ । निलम्बन विरुद्धको रीट दर्ता गरेर अदालतले पहिलो गल्ती गरेको छ भने अन्तरिम आदेश दिएर अर्को गल्ती गरेको छ । न्यायिक जाँचबुझ समितिको कार्यक्षेत्रमा अदालतले गैरन्यायिक हस्तक्षेपसमेत गरेको छ । निलम्बन विरुद्धको रीट दर्ता गरेर अदालतले पहिलो गल्ती गरेको छ भने अन्तरिम आदेश दिएर अर्को गल्ती गरेको छ । न्यायिक जाँचबुझ समितिको कार्यक्षेत्रमा अदालतले गैरन्यायिक हस्तक्षेपसमेत गरेको छ । संक्षेपमा आदेश संयुक्त इजलाशले निरन्तरता दिएको आदेशमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १८ (१) ले गभर्नरको कार्यकाल ५ वर्षको हुने गरी पदावधि निश्चित गरेको तथा दफा २२ (५) को अवस्थामा बाहेकको गभर्नरलाई हटाउन नपाउने व्यवस्था दफा २२(६) ले गरेको भए पनि दफा २२(१) ले नेपाल सरकार, मन्त्रिपरिषद्ले दफा २२(५) बमोजिम पदमुक्त हुने अवस्थाका गभर्नरलाई पदमुक्त गर्नसक्ने र दफा २२(५)(ख) को अवस्थामा गभर्नरको पदमुक्त हुने व्यवस्था गरेको देखिन्छ । तर, पदमुक्त गर्ने प्रक्रिया शुरू गर्नासाथ आरोपित स्वतः निलम्बित हुने कानूनी प्रावधान रहेको अवस्था हुँदा जाँचबुझ गर्ने समिति गठन गर्नुअघि प्रारम्भिक रूपमा नै दफा २२(१) को प्रावधान बमोजिम दफा २२ (५) (ख) बमोजिमको पदमुक्त हुने अवस्था देखिनु देखाउनुपर्नेमा उक्त आरोपसँग जोडिएको मूर्त तथ्य उजागर गरेर वस्तुपरक तथ्यमा आधारित भएर पदमुक्त गर्ने प्रक्रिया शुरू गरी जाँचबुझ समिति गठन गर्नपर्नेमा सो अनुसार जाँचबुझ गर्नुपर्ने पूर्वावस्था हालसम्म नदेखिएको र निवेदकलाई लगाइएको आरोपका सम्बन्धमा प्रारम्भिक रूपमा कुनै प्रकारको सुनुवाइको मौका पनि दिइएको नदेखिएको, सिर्फ कानूनको दफामात्र उल्लेख गरी पदमुक्त गर्न आवश्यक भएको भनी जाँचबुझ समिति गठन गर्ने र निवेदकलाई निलम्बन गर्ने कार्य प्रथम दृष्टिमा नै पूर्वाग्राही, बदनियतपूर्ण रहेको देखिन आएकाले निवेदकउपर कारबाही गर्ने कार्य सुविधा सन्तुलनको दृष्टिकोणले निवेदक (गभर्नर) लाई बढी मर्का पर्ने देखिँदा प्रस्तुत मुद्दाको अन्तिम निर्णय नभएसम्म सर्वोच्च अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिइएको उल्लेख छ । निलम्बन, छानविन र रीट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २२(१) अनुसार मन्त्रिपरिषद्ले पदमुक्त हुने अवस्थामा पुगेका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्ने व्यवस्था छ । पदमुक्त हुने अवस्थाको रूपमा ऐनको दफा २२(५) मा (१) बैंकको उद्देश्य हासिल गर्नका निमित्त बैंकले गर्नुपर्ने कार्यहरू कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा वा, (२) मुलुकको बैकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने कार्य गरेको देखिएमा वा, (३) बैंकको कामकारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा वा, (३) मनासिब माफिकको कारणबिना लगातार तीन पटकभन्दा बढी सञ्चालक समितिको बैठकमा अनुपस्थित भएमा गभर्नर र डेपुटी गभर्नर पदमुक्त हुने व्यवस्था छ । यी उल्लिखित अवस्था जाँचबुझ गर्न दफा २३(१) अनुसार तीन सदस्यीय जाँचबुझ समिति गठन गर्ने र समितिले पेश गरेको सिफारिशको आधारमा पदमुक्त गर्ने व्यवस्था छ । जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा अपनाउनुपर्ने कार्यविधि आफैले निर्धारण गरी सम्बद्ध व्यक्तिसँग बयान लिन वा सोधपुछ गर्नसक्ने व्यवस्था पनि छ । जाँचबुझ समितिले राय ठहरसहितको आफ्नो सिफारिश १ महीनाभित्र नेपाल सरकारसमक्ष पेश गर्नुपर्छ । गभर्नर र डेपुटी गभर्नर दुवै पदलाई नेपाल राष्ट्र बैंक सेवाको कर्मचारी मानिँदैन । डेपुटी गभर्नरलाई गभर्नर बनाउन पनि सकिन्छ । राष्ट्र बैंक सेवाको कार्यकारी निर्देशकमध्येबाट डेपुटी गभर्नर नियुक्त हुनासाथ राष्ट्र बैंक सेवाबाट निवृत्त हुने व्यवस्था ऐनको दफा १६(३) मा छ । गभर्नरको नियुक्ति विशेष प्रकारको समिति बनाएर हुनेहुँदा गभर्नरको पदमुक्ति पनि विशेष प्रकारको जाँचबुझ समितिको सिफारिसमा हुन्छ । जाँचबुझ समितिले पदमुक्त गर्न सिफारिश गर्दा पनि दफा २२(१) को प्रतिबन्धात्मक वाक्यांशअनुसार नेपाल सरकारले सफाइ पेश गर्ने उचित अवसरबाट वञ्चित गर्नेछैन भन्ने व्यवस्थाले सुनुवाइको मौकै नदिएको भन्ने अर्थ लगाउन मिल्दैन । समितिले पदमुक्त गर्न सिफारिश गर्नुलाई तल्लो तहको अदालतको निर्णयसरह मान्ने हो भने सरकारले सिफारिशबमोजिम सीधै पदमुक्त नगरी पुनः सफाइ पेश गर्ने मौका दिनुलाई ‘पुनरावेदन’ सरहको अधिकार दिएको मान्नुपर्छ । यसरी दुवै तह (समिति र सरकार) बाट आफ्नो कुराको पूर्ण सुनुवाइ नभएको लागेमा सर्वोच्च अदालतको असाधारण अधिकार (रीट) क्षेत्रमा प्रवेश गर्न पाउने अधिकार हुन्छ । स्वायत्तता बच्यो कि गुम्यो ? सरकारले गभर्नर निलम्बन गर्नसक्ने अधिकार छ र निलम्बनको अर्थ पदमुक्त होइन । जाँचबुझ समिति गठन गर्ने ऐनको व्यवस्था कार्यान्वयन हुँदै गर्दा उक्त निलम्बन गैरकानूनी छ भनेर सर्वोच्च अदालतमा रीट लिएर प्रवेश गर्नु र अदालतले यस्तो अधिकारक्षेत्र ग्रहण गरेर रीट (अन्तरिम आदेश) जारी गर्नु सर्वथा अनुचित छ । जाँचबुझ समितिको गठन र सदस्यको योग्यताको विषयमा भने रीट क्षेत्रमा जान सकिन्छ तर, यहाँ गभर्नरले यस्तो विषयमा प्रश्न उठाएको देखिँदैन । रीट निवेदनमा ‘दुराशय राखी मलाई पदमुक्त गरी आफू अनुकूलको व्यक्तिलाई नियुक्त गर्ने बदनियत’ ले भन्ने मुख्य जिकीर देखिन्छ । गभर्नरले ऐनको दफा २२(५)(ख) अनुरूपको कार्य भए नभएको जाँचबुझ गर्नसमेत नपाउने अनौठो जिकीरसमेत गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरेको जाँचबुझ समितिलाई काम गर्न नदिनु र आफूलाई गभर्नरको रूपमा पूर्ववत् कार्य गर्न दिनु भन्ने समेत जिकीर छ । गभर्नरलाई तोकिएको समयसम्म निर्बाध काम गर्न दिनैपर्ने हो ? भन्ने प्रश्न पनि उठेको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीई) मा पनि गभर्नर पदको सुरक्षाको कुनै सुनिश्चितता छैन । आरबीईका एकजना गभर्नर यागा वेणुगोपाल रेड्डीले ‘आरबीआईमा गभर्नरभन्दा पियन वा क्लर्कको काम बढी सुरक्षित छ । सबै कुरा (पदावधि) सरकारले कति भरोसा गर्छ त्यसमा निर्भर हुन्छ’ भनेका छन् । रेड्डीको यो भनाइलाई मान्ने हो भने गभर्नरको पद सरकारको विश्वासमा अडेको हुन्छ । केन्द्रीय बैंकलाई सरकारले निर्देशन दिनसक्ने व्यवस्था नेपाल र भारत दुवैमा छ । आरबीआईलाई अहिलेसम्म भारत सरकारले कहिल्यै कुनै निर्देशन दिएको छैन । आरबीआईका अर्का एकजना गभर्नर रघुराम राजनले सरकारले के गर्न सक्छ के गर्न सक्दैन भन्ने सन्दर्भमा ‘कानूनमा के छ र वास्तविकतामा के छ छुट्ट्याउनुपर्छ, मलाई लाग्छ आरबीआई स्वतन्त्र छ’ भनेका छन् । गभर्नरले अन्य कर्मचारी जस्तो तोकिएको कार्यकाल पूरा गर्न पाउनैपर्छ भन्ने जिकीर लिन सकिने अवस्थाको विद्यमानता देखिँदैन । निचोडमा, केन्द्रीय बैंक स्वायत्त हुनुपर्छ, सरकारको हस्तक्षेप हुनु हुँदैन तर, सरकार र गभर्नरबीच कुनै कारणवश मनोमालिन्यको स्थिति आयो भने गभर्नरले सरकारलाई ‘कन्भिस’ गर्न सक्नुपर्छ नसकेमा ५ वर्षको लागि आएको हुँ अवधि सकाएर जान्छु, मबाहेक अरूले गर्न सक्दैन, मै चाहिन्छ भन्ने ‘जागीरे मानसिकता’ को अहम् लिएर बस्नु उचित हुँदैन । अदालतको आदेशले केन्द्रीय बैंकको स्वायत्तता अदालतको चरणमा पुगेको छ । यो राम्रो कुरो होइन । लेखक अधिवक्ता हुन् ।

तरलताको पिरलो

काठमाडौं । वित्तीय क्षेत्रका लागि वर्ष २०७८ तरलता (लगानीयोग्य पूँजी) अभावको वर्षका रूपमा रह्यो । कोरोना महामारी मत्थर हुनेबित्तिकै आर्थिक गतिविधि चलायमान हुँदा बैंक तथा वित्तीय संस्थाहरूले आक्रामक रूपमा कर्जा विस्तारमा जोड दिए । तर, बैंकहरूको कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि हुन नसकेपछि बैंकिङ प्रणालीमा तरलता अभाव हुन थाल्यो । फलस्वरूप वर्षको अन्तिममा आइपुग्दा बैंक तथा वित्तीय संस्थाको नयाँ कर्जा प्रवाह ठप्पप्रायः छ । बैंकहरूमा २०७७ चैत मसान्तसम्ममा ४४ खर्ब ५७ अर्ब ९८ करोड निक्षेप रहेकोमा २०७८ फागुनसम्ममा ४ खर्ब ४३ अर्ब ८८ करोड वृद्धि भई ४९ खर्ब १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने २०७७ चैतमा ४० खर्ब २२ अर्ब ३२ करोड रहेकोमा ६ खर्ब ७८ अर्व ७७ करोड वृद्धि भई ४७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावको मुख्य कारण बन्यो– नेपाल राष्ट्र बैंकको नीतिगत परिवर्तन । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को मौद्रिक नीतिबाट बैंकहरूमा पूँजी, कर्जा र निक्षेप (सीसीडी) अनुपात ८५ प्रतिशत कायम गर्नुपर्ने प्रावधान हटाएर कर्जा–निक्षेप (सीडी) अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान लागू गरेसँगै बैंकहरूले पूँजीबाट कर्जा प्रवाह गर्न पाएनन् र उनीहरूको कर्जा प्रवाह गर्ने क्षमता घट्यो । यसैगरी, अधिकांश कर्जा आयातका लागि प्रवाह भयो भने देशको विदेशी मुद्रा आर्जनको बाटो विप्रेषण, पर्यटनलगायत क्षेत्र प्रभावित बन्दा निक्षेप बढ्न सकेन । यसको कारण बजारमा वित्तीय क्षेत्रले तरलता अभाव भोगिरहेको छ । अर्थमन्त्रीको विवाददेखि गभर्नर निलम्बनसम्म वित्तीय क्षेत्रका लागि वर्ष २०७८ को महत्त्वपूर्ण घटना बन्यो– गभर्नर महाप्रसाद अधिकारीको निलम्बन । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने विषयबाटै अर्थमन्त्री जनार्दन शर्मासँग मनमुटाव शुरू भएकोमा चैत अन्तिम साता आइपुग्दा गभर्नरले सरकारलाई असहयोग गरेको भन्दै उनीमाथि छानविन अघि बढाएको छ । छानविन शुरू भएसँगै गभर्नर निलम्बनमा परेका छन् । यसअघि गभर्नरको निलम्बन आर्थिक अनियमितताको विषयमा मात्र भएकोमा यसपटक अर्थतन्त्र सुधारका लागि लागेका गभर्नरलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा कारबाही गर्‍यो भनेर आलोचना भइरहेको छ । अर्थमन्त्री–गभर्नर विवादका कारण यतिबेला राष्ट्र बैंकको नेतृत्व कामु गभर्नरको भरमा छ । शेयर धितो कर्जादेखि एलसीसम्म कडाइ बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धि भए पनि अनुत्पादक क्षेत्रमा गएकाले यसलाई उत्पादनशील क्षेत्रतर्फ लैजानुपर्ने चुनौती वित्तीय क्षेत्रलाई छ । यही दबाबले राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गर्‍यो । मौद्रिक नीतिमार्फत एक व्यक्तिले एक वित्तीय संस्थाबाट ४ करोड र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको राष्ट्र बैंकले अर्धवार्षिक समीक्षाबाट भने घरजग्गा, गाडीलगायत कर्जाको जोखिम भार वृद्धि गर्दै यी क्षेत्रमा लगानी बढाउन निरुत्साहित गरेको छ । यसैगरी, विभिन्न ४७ प्रकारका हार्मोनिक कोडअन्तर्गतका वस्तुको आयात घटाउन एलसीमा शतप्रतिशतसम्म नगद मार्जिनको प्रावधान लागू गरेको केन्द्रीय बैंकले चैत अन्तिममा आएर केही समयका लागि एलसी नै नखोल्न बैंकहरूलाई मौखिक निर्देशन दिएको छ । ब्याजदरमा हस्तक्षेप यो वर्ष बैंकिङ क्षेत्रमा ब्याजदर दबाब पनि अर्को समस्या बन्यो । तरलता अभावसँगै बैंकहरूबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको वातावरण नै सृजना भयो । फलस्वरूप केन्द्रीय बैंकले हस्तक्षेप गरी एकपटकमा १० प्रतिशतभन्दा घटबढ गर्न नपाइने भन्दै निर्देशन जारी गर्‍यो । यसबाट बैंकहरू पनि संयमित भए र ब्याजदर एउटा सीमामै स्थिर बसेको छ । पछिल्लो समय त बैंकरहरूले भद्र सहमति गरेर ब्याजदर वृद्धि हुन दिएका छैनन् । वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमा भने प्रगति देखिएको छ । १ वर्षअघिको तुलनामा अहिले विद्युतीय माध्यमबाट कारोबार गर्ने ग्राहकको संख्या र कारोबारको रकम बढेको छ । केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई विद्युतीय प्रविधिमार्फत कारोबार गर्न प्रोत्साहनका कार्यक्रम गरिरहेका छन् । यतिबेला मोबाइल वालेट, मोबाइल बैंकिङ, कनेक्ट आईपीएसजस्ता सेवाको उपभोग गर्दै वित्तीय कारोबारसमेत बढिरहेको छ । आन्तरिक र बाह्य कारणले गर्दा अर्थतन्त्रको सूचक नकारात्मक भए पनि यसको सुधारका लागि सरकार र केन्द्रीय बैंकले चालेका कदमका कारण अर्थतन्त्र नियन्त्रणभित्रै रहेको सरकारी अधिकारीहरूको दाबी छ । बैंक तथा वित्तीय संस्थाहरूमा बलियो आधार र प्रभावकारी नियमनका कारण समस्या खासै छैन । अर्थतन्त्रलाई सकारात्मक बनाउन सरकार र केन्द्रीय बैंकले चालेका कदमका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव देखा पर्न थालेको छ । चालू आवको पहिलो महीनादेखि नै लगातार घट्न थालेको विप्रषण आप्रवाहमा थोरै सुधार देखिएको छ । फागुनसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यसैगरी, फागुनमा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ । विप्रेषण र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएपछि विदेशी मुद्राको सञ्चितिमाथिको दबाब केही घटेको छ । बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदरको उतारचढावले समग्र अर्थतन्त्र र सर्वसाधारणलाई परेको समस्या छिट्टै समाधान हुने राष्ट्र बैंकका अधिकारीहरूले बताउने गरेका छन् ।

गभर्नर अधिकारीलाई लगाएको आरोप पुष्टि हुँदैन : पूर्वगभर्नर नेपाल

चैत २९, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन् । मंगलवार रिर्पोटर्स क्लबमा बोल्दै पूर्वगभर्नर नेपालले गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि हुन नसक्ने बताए । उनले  नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनु पर्ने बताए । वित्तीय स्वायत्तता दियो  भने केन्द्रीय बैंकले वित्तीय स्थायीत्व गर्न सक्ने भन्दै नेपालले केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ भन्ने मान्यता विश्वभरी रहेको दाबी गरे । उनले केन्द्रीय बैंक र अर्थ मन्त्रालय फरक–फरक रुपमा अगाडि बढ्ने भएकाले अर्थमन्त्री र गभर्नर बीच टसल भइरहने गरेको बताए । पूर्वगभर्नर नेपालले सरकारले स्वायत्तता संस्थालाई हस्तक्षेप गर्दा अन्य काम गर्ने कर्मचारीहरुको मनोवल कमजोर हुने दाबी पनि गरे । गभर्नर निलम्बन तथा दबाबमा नेपालमा मात्रै नभएर विश्वका ठूला राष्ट्रमा पनि यस्तो हुने गरेको नेपालको भनाइ छ  । उनले सरकार र राष्ट्र बैंक सञ्चालनमा छुट्टै कानून भएकाले कानून अनुसार चल्नु पर्ने बताए । राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायीत्व जोगाउने सोधानान्तर स्थितिलाई राम्रो बनाउने, भुक्तानी प्रणालीलाई सुचारु गर्ने  र सरकारको सल्लाहकारको रुपमा काम गर्ने संस्था भएको पनि उनले बताए  ।उनले अहिले अर्थतन्त्र केही परिर्वतन भएको हो तर अहिले बाहिर आए जस्तो भएको आफूलाई नलागेको बताए । पूर्व गभर्नर नेपालले कोरोना महामारीपछि केन्द्रीय बैंकले उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्ने कुरामा दुई वर्ष नै निरन्तरताको कारण कर्जा विस्तार अत्याधिक भएको बताए । उनले राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा बजारमा तरलताको अभाव भएको बताए ।  उनले कर्जा विस्तार बढ्ने, समयमा बजेट नआउने, समयमा मौद्रिक नीति नआउने तथा मुलुक बजेट विहिन अवस्थामा पुगेको तथा केन्द्रीय बैंकले समग्र वित्तीय क्षेत्रमा ब्याजदर तोकेकाले थप बजारमा तरलता अभाव भएको पनि बताए । मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब रहेको पनि उनले बताए ।

राष्ट्र बैंकको स्वायत्ततामा सरकारको ठाडो प्रहार

नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि सरकारले ठाडो हस्तक्षेप गरेको छ । अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेको समयमा राष्ट्र बैंकका गभर्नरमाथि गरिएको कारबाहीले वित्तीय संकट निम्त्याउने देखिन्छ । विश्वव्यापी मान्यतालाई हेर्दा, केन्द्रीय बैंक स्वतन्त्र हुनुपर्छ । उसले आफ्नो हिसाबमा मौद्रिक नीति ल्याएर त्यसको कार्यान्वयन गर्न पाउँछ । तर, नेपालमा मात्र नभएर अधिकांश मुलुकमा गभर्नर र अर्थमन्त्रीबीच समय–समय […]

गभर्नर निलम्बन : विनाआधार छानविन

काठमाडौं । शोधनान्तर स्थिति, रेमिट्यान्स (विप्रेषण) आप्रवाह, विदेशी मुद्रा सञ्चितिजस्ता प्रमुख आर्थिक सूचकहरू नकारात्मक भइरहेका बेला देशको मौद्रिक नीति तर्जुमा र कार्यान्वयन गर्ने केन्द्रीय बैंकमाथि सरकारले हस्तक्षेप गरेको छ ।  संकटको सँघारमा पुगेको अर्थतन्त्रलाई सुधार गर्न प्रयासरत रहेकै बेला सरकारले कारबाही गर्ने पर्याप्त आधारविनै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन अघि बढाएर हस्तक्षेप गरेको हो । बिहीवारको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरूषोत्तम भण्डारीको नेतृत्वमा डा; सूर्य थापा र डा; चन्द्रकान्त पौड्याल सदस्य रहेको समिति गठन गरेको छ । समिति गठनसँगै गभर्नर अधिकार स्वतस् निलम्बनमा परेका छन् । केन्द्रीय बैंकको नेतृत्व कामु गभर्नर डा; नीलम ढुंगानाको हातमा पुगेको छ ।  नेपाल राष्ट्र बैंक ऐन–२०५८ मा गभर्नरलाई कारबाही गर्न विभिन्न ६ बुँदे आधार चाहिने प्रावधान छ । ऐनले तोकेअनुसार सञ्चालक हुन अयोग्य भएमा, बैंकको उद्देश्यअनुसार काम गर्ने क्षमता नभएमा, बैंकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने काम गरेमा, खराब आचरणका कारण पेशा वा व्यवसाय गर्न अयोग्य ठहर्‍याई प्रमाणपत्र खोसिए वा व्यवसाय गर्न रोक लगाइएमा, बेइमानी वा बदनियत गरेको देखिएमा र उचित कारणविना लगातार तीनपटकभन्दा बढी समितिको बैठकमा अनुपस्थित भएको खण्डमा जाँचबुझ समितिको सिफारिशका आधारमा गभर्नरलाई पदमुक्त गर्ने प्रावधान छ ।   सरकारले भने कुनै आधार प्रस्तुत नगरी छानविन प्रक्रिया शुरू गरेको छ । अर्थतन्त्रको अवस्था बिग्रेका बेला गभर्नरमाथि हुने छानविनले सर्वसाधारणमाझ गलत सन्देश गएको विज्ञहरूले औंल्याएका छन् । उनीहरू यसलाई राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप मान्छन् । केन्द्रीय बैंक र अर्थमन्त्रीबीच मतभेद हुनु सामान्य भए पनि अहिलेको अवस्थामा गभर्नरलाई चलाउँदा गलत सन्देश गएको पूर्वगभर्नर डा। चिरञ्जीवी नेपाल बताउँछन् । यस्तो मतभेद अन्यत्र पनि हुन्छ । ‘सरकार सुपर रेगुलेटर भएकाले नियामक निकायमाथि पनि छानविन गर्न सक्छ,’ पूर्वगभर्नर नेपाल भन्छन्, ‘अर्थतन्त्रको अवस्था खराब भएका बेलाको कदमले समाजको आत्मबल कमजोर हुनसक्छ ।’ केन्द्रीय बैंक र सरकारको उद्देश्य कतिपय ठाउँमा बाझिने भएकाले अर्थमन्त्री र गभर्नरबीचको मतभिन्नतालाई सामान्य रूपमा लिनुपर्ने डा। नेपालको सुझाव छ । अर्थ मन्त्रालयले बजारमा बढीभन्दा बढी पैसा पठाएर आर्थिक वृद्धि गर्ने उद्देश्य राख्छ भने केन्द्रीय बैंकले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्था पनि हेर्नुपर्ने भएकाले अर्थ मन्त्रालयसँग मतभिन्नता हुने गरेको अनुभव उनले सुनाए । विगतमा बुझेकै मान्छेबाट राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप हुनेगरी काम भएको समेत नेपालले आरोप लगाए ।  अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी कानूनमा अर्थ मन्त्रालयले निर्देशन दिनसक्ने व्यवस्था राखेर राष्ट्र बैंकमाथि हस्तक्षेप शुरू भएको स्वीकार गर्छन् । ‘राष्ट्र बैंकको स्वायत्तताको नारा दिनेकै पालामा अर्थ मन्त्रालयलाई राष्ट्र बैंकले निर्देशन दिनसक्ने र पालना गर्नुपर्ने राष्ट्र बैंकको दायित्व हुनेछ भनेर राखियो,’ उनले भने, ‘अहिले राष्ट्र बैंकले निर्देशन दिएको होरहोइन, राष्ट्र बैंकले पालना गर्‍योरगरेन भनेर सम्बद्ध निकायले छानविन गरेपछि थाहा होला ।’ सहायकस्तरको जागीरबाट राष्ट्र बैंकमा प्रवेश गरेका अधिकारी डेपुटी गभर्नरबाट रिटायर्ड भएका थिए । २०७६ चैतमा तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाको सिफारिशमा गभर्नर बनेका उनलाई राष्ट्र बैंक र अर्थतन्त्र बुझेका गभर्नरका रूपमा लिइन्छ ।  गभर्नर बनेलगत्तै कोभिड प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानसहितको मौद्रिक नीति ल्याएर प्रशंसा बटुलेका अधिकारीको अर्थमन्त्रीमा जनार्दन शर्मा आएपछि भने अर्थ मन्त्रालयसँग दूरी बढ्न थालेको हो । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि माओवादीको सिफारिशमा अर्थमन्त्री बनेका शर्माले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको बजेट संशोधन गर्दै प्रतिस्थापन विधेयक ल्याउने घोषणा गरे । त्यसका लागि उनले गभर्नर अधिकारीलाई मौद्रिक नीति जारी गर्ने समयसीमा पछि सार्न निर्देशन दिएसँगै विवाद शुरू भएको हो ।  यसैगरी मौद्रिक नीतिमार्फत गभर्नर अधिकारीले ल्याएको शेयर धितो कर्जामा कडाइ गर्ने प्रावधान सच्याउन दिएको निर्देशन नमानेपछि अर्थमन्त्री असन्तुष्ट बने । पछिल्लोपटक बैंकको ब्याजदरको विषयमा समेत अर्थमन्त्री र गभर्नरको विवाद बढेको थियो । यसैबीच पछिल्लोपटक छानविनको क्रममा रहेको अवैध सम्पत्ति फुकुवा गर्न अर्थमन्त्रीले निर्देशन दिएको सूचना पत्रिकाबाट बाहिरिएसँगै अर्थमन्त्री गभर्नरसँग थप रुष्ट बने । त्यसैको नतिजा गभर्नर निलम्बनको रूपमा प्रकट भएको हो । गभर्नरले आफूले दिएका निर्देशनलाई बेवास्ता गर्ने गरेको र अर्थतन्त्रको अवस्था खराब देखाएर सरकारलाई आलोचित बनाउने गरेको सरकारी पक्षको बुझाइ छ । यसको दृश्य शुक्रवार नेपाल राष्ट्र बैंकले नै आयोजना गरेको नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्समा स्पष्टै देखिएको थियो ।  उक्त कार्यक्रममा अर्थमन्त्रीभन्दा अघि देशको अर्थतन्त्रबारे बोलेका गभर्नरले बाह्य क्षेत्रको दबाबका कारण अर्थतन्त्रको अवस्था बिग्रँदै गएको र अवस्था सुधार गर्न नसके नेपालको अवस्था श्रीलंका जस्तै बन्ने चेतावनी दिएका थिए ।  त्यसपछि मन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्न नसक्ने भन्दै कसै कसैले श्रीलंका बनाउन चाहेको र त्यो पूरा हुन नदिने बताए । उनको भनाइ गभर्नरप्रति लक्षित थियो । कार्यक्रममै अर्थमन्त्री शर्माले राष्ट्र बैंकको नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको गम्भीर आरोपसमेत लगाए । सरकारको आर्थिक सल्लाहकार मानिने केन्द्रीय बैंकको नेतृत्वले सल्लाह नदिएको गुनासो पनि उनले गभर्नरकै सामु सबैलाई सुनाए ।  अर्थमन्त्री र गभर्नरबीच असन्तुष्टि सार्वजनिक कार्यक्रममा छताछुल्ल भएकै साँझ गभर्नर निलम्बित भएको सूचना बाहिरियो । जबकी बिहीवार सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा यसबारेमा केही बोलेका थिएनन् ।  यस्तो छ, कानूनी प्रक्रिया  नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा २३ मा गभर्नरलाई पदमुक्त गर्नुअघि सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गर्नुपर्ने व्यवस्था छ । समितिमा आर्थिक, मौद्रिक, बैंक, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रबाट दुईजना सदस्य मनोनीत हुन्छन् । ऐनको दफा २३ को ९उपदफा ४० अनुसार समितिले १ महीनाभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनु पर्नेछ ।  यही कानूनी व्यवस्थामा टेक्दै जाँचबुझ समितिले अनुसन्धान गर्दै आफ्नो राय र ठहरसहितको प्रतिवेदन सरकारलाई पेश गर्नेछ । प्रतिवेदनअघि समितिले निलम्बित गभर्नरसँग बयान वा सोधपुछ गर्न सक्नेछ । समितिको प्रतिवेदनका आधारमा सरकारले गभर्नरलाई पदमुक्त गर्न सक्नेछ ।

सहकारीको नियमन र अनुगमन कसले गर्ने ?

यतिखेर नेपालको सहकारी वृत्तमा सहकारीहरूको अनुगमनमा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) सरिक हुने वा उसलाई सरिक गराएर लाने चर्चाहरू आउन थालेका छन् । यस्तो चर्चा विगतमा पनि नभएका होइनन् । केन्द्रीय बैंककै केही कर्मचारीहरू सहकारीमा गएर तिनका अनुगमन कार्यमा नसघाएका पनि होइनन् । अहिले सहकारीहरूलाई जुन किसिमको एकखाले नियमन वा स्वनियमनहरूको व्यवस्था गरिएको देखिन्छ, त्यो केन्द्रीय बैंककै हार्दिक सरसल्लाहकै उपज हो । सहकारी ऐनमा पनि केन्द्रीय बैंकले कुनै निश्चित (रू. ५० करोड) कारोबारभन्दा बढी वासलात भएका सहकारीहरूको अनुगमन गर्नसक्ने व्यबस्था गरिएको देखिन्छ । तर, गर्नसक्ने भन्ने कानूनी प्रावधानमा र गर्नेछ भन्ने प्रावधानमा आकाश जमीनको अन्तर हुन्छ । यसैले हालको यो चर्चामा पनि केन्द्रीय बैंक सहयोग गर्न सकिने भन्ने कुरामा नै अडिग रहेको देखिन्छ । यो मूलतः सहकारीलाई उसले विगत ३ दशकयता बनाउँदै आएको धारणाभित्रकै अडान हो भन्ने अनुमान गर्न सकिन्छ । मूल कुरो सहकारी ऐन र केन्द्रीय बैंक ऐनमा केन्द्रीय बैंकको सहकारी क्षेत्रमा केकस्तो भूमिका रहने भन्ने कुरा स्पष्ट छैन । हाल देखिएको सहकारी क्षेत्रको समस्या अहिलेको होइन । यो विगत ३ दशकयताकै हो । सहकारी ऐन २०४९ आउनुपूर्व पनि तिनका समस्या यथावतै थिए, मात्रा केही सानो ठूलोको मात्र हो । हाल देखिएको सहकारी क्षेत्रको समस्या अहिलेको होइन । यो विगत ३ दशकयताकै हो । सहकारी ऐन २०४९ आउनुपूर्व पनि तिनका समस्या यथावतै थिए, मात्रा केही सानो ठूलोको मात्र हो । अहिले पनि ती समस्या यथावतै छन् । मात्रा केही बढेको होला । हालैको सिभिल होम्स् सहकारी प्रकरणले उब्जाएको समस्या मात्र होइन, त्यो । विगतमा पनि ओरियन्टल सहकारीमा त्यही समस्या थियो । भरखरै धरानको वराह सहकारीमा पनि सिभिल होम्स् वा ओरियन्टलकै समस्या दोहोरिएको देखिन्छ । खोजिपस्दै जाने हो भने सहकारी भनेकै केही वर्ष राम्ररी चलाएको देखाएर सदस्यहरूको विश्वास जित्ने र अन्त्यमा सुटुक्कै रकम कुम्ल्याएर भाग्ने जस्तै हो भनेर बुझिएको पनि एउटा तीतो सत्यजस्तै हो । सदस्यहरू पनि ब्याजको प्रलोभनमा परेकै हुन्छन् । बैंक वित्तीय संस्थाहरूले २–४ प्रतिशतको ब्याज दिन नसकिरहेको अवस्थामा सहकारीले १२–१४ प्रतिशतको ब्याज निक्षेपमा दिएका आकर्षणले तिनले बैंकमा भन्दा सहकारीमा निक्षेप राख्ने नै भए । तिनले अरू कुरा केही हेरोइनन् । यसका अतिरिक्त मूल कुरा के पनि देखिएको छ भने सहकारीका सदस्यहरू एकअर्कामा चिनेजानेकै हुने भएको र तिनका हालीमुहालीकर्ताहरू पनि तीबाटै छानिएर आउने हुँदा पनि त्यहाँ बढी विश्वास गर्ने गरिन्छ । अर्थात् फलाना सहकारीको अध्यक्षमा फलाना भएसम्मका लागि कुनै चिन्ता छैन भनी सदस्य निक्षेकर्ताहरू हाइसन्चोमा रहने गर्छन् । अनि, केही टाठाबाठाहरूले त्यहाँबाट ठूलै कारोबार पनि गर्छन् । अब १२–१४ प्रतिशतको ब्याजको सदस्यको निक्षेप लिएर उसले लगानी गर्ने भनेको कम्तीमा पनि २० प्रतिशत ब्याजमा हो । महँगो ब्याजले कारोबार पनि महँगै पर्छ । आरम्भमा त ब्याज असुल होला । तर, जब व्यबसायमा समस्या पर्न थाल्छ तब ऊ कर्जाको पासोमा पर्न थाल्छ । कतिपय सहकारीका हर्ताकर्ताहरूले नै रियल इस्टेट व्यवसायमा छलाङ मार्न खोजेकै कारण सहकारी संस्थाहरू धराशयी बनेका वा बन्न लागेका उदाहरण प्रशस्तै छन् । सिभल होम्स् सहकारीले वा त्यसका सहायक भनिएका कम्पनीहरूले त्यस सहकारीकै रकमबाट राजधानीवरपर हजारौं घर बनाएर विक्री गर्दासम्म त्यस सहकारी संस्थाको वित्तीय स्थितिको अनदेखा गर्ने सदस्यहरूको आँखाचाहिँ यस्तो बेला खुलेको देखिन्छ जुनबेला ढिलो भइसकेको हुन्छ र संस्था सदस्य निक्षेपकर्ताहरूको निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा हुन्छ । त्यो बेला प्रहरी र सीआईबीकहाँ उजुरीका चाङ लाग्छन् । के सहकारी भनेको यही हो वा सहकारी संस्थाहरूको कारोबारको अन्तिम लक्ष्य भनेको सीआईबी र अदालतकै ढोका चहार्नु हो त ? भन्ने यक्ष प्रश्नको जवाफको आवश्यकता पहिलो हो । त्यो भनेको सहकारीको अनुगमन केन्द्रीय बैंकलाई दिएर मात्र त्यसको निवारण अचूक हुने भन्ने होइन । मूल समस्याको जड सहकारीको दर्ता प्रक्रिया र नियमनमै छ । जस्तो ः सिभिल होम्स वा ओरियन्टलमा उठेका कुनै एकल सहकारीका समस्याहरूलाई लक्षित गरेरभन्दा पनि प्रणालीगत समस्याको मूलजरो पहिल्याएर निदानका लागि उपायहरू अगाडि ल्याउनुपर्छ । त्यो भनेको सहकारीको नियमनका लागि एक बेग्लै स्वशासित, तटस्थ र स्वतन्त्र नियामक निकाय नै गठन गरिनुपर्छ । त्यसका लागि केन्द्रीय बैंक नै चाहिन्छ वा उसको संलग्नता हुनुपर्छ भन्ने एकथरी सहकारीका अभियन्ताहरूको लबिङलाई स्थान दिइरहनुको कुनै अर्थ छैन । सहकारीको नियमन र अनुगमनका लागि बेग्लै संयन्त्र विकास गरेर लाने कुरामा सरकार स्वयम् नै पहिले अग्रसर, चेतनशील र विवेकी हुनुपर्छ । यसका लागि उसले हाल यो क्षेत्रमा देखिएको, अनुभूत गरिएको राजनीतिको प्रथ्यक्ष वा परोक्ष हस्तक्षेप वा त्यसको कुनै पनि किसिमको संलग्नतालाई हटाउने हिम्मत उसले गर्नैपर्छ । त्यो कुरा त्यति सजिलो छैन । अहिले त सहकारीहरू स्थानीय निकायका अंगै भइसकेका छन् । त्यहाँ पनि आर्को जटिलता उत्पन्न हुनसक्छ, तिनका भूमिकालाई पुनरवलोकन गर्ने सन्दर्भ आएका खण्डमा । मूल समस्या भनेकै अझै पनि सहकारीको वर्तमान संयन्त्रमा कताकति राजनीतिक प्रभावको भूमिका रहीआएको देखिन्छ । यस लेखकको केन्द्रीय बैंकसितको लामो संलग्नता रहँदा विगतमा सहकारी ऐन २०४९ आउनेताका उठेका र उठाइएका प्रश्नहरूको जवाफको निदान गर्नेतर्फ अहिलेसम्म पनि सरकार उदासीन वा विवश रहेकै पाइएको छ । त्यो भनेको त्यतिबेलै पनि सहकारीलाई कुनै बेग्लै नियमनको संयन्त्रका अधीन राखेर लानुपर्छ भन्ने नै थियो । त्यसबेला सरकारमा रहेका कृषि मन्त्री, जो सहकारीका एक प्रखर अभियन्ता नै पनि हुन् केन्द्रीय बैंकलाई सहकारीको नियमन वा अनुगमनको भूमिका दिनु हुन्न भन्ने अडानमा थिए । केन्द्रीय बैंकले सहकारी ऐनमा भएको व्यवस्थाको अस्पष्टताका हुँदाहुँदै पनि विगतमा सीमित बैंकिङ कारोबारका लागि केही सहकारीहरूलाई इजाजत दिएकै हो । हाल त्यो सबै इजाजत खारेज गरिएको छ । सहकारीबाट उसले हात झिकेको यो नै उदाहरण प्रशस्त छ । कानूनी जटिलता उत्पन्न गर्ने केन्द्रीय बैंकको विगतको आफ्नो नीतिगत कमजोरीलाई उसले ढिलै भए पनि करेक्सन गरेको पाइन्छ । सहकारीका आफ्ना निर्देशक सिद्धान्त छन् । कार्यप्रणाली छ, अभियन्ताहरू छन्, त्यसका राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जालहरू छन् । तालीम केन्द्र मात्र होइन, सहकारीकै जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानहरू पनि छन् । जस्तै : वैकुण्ठ मेहता नेसनल इन्स्टिच्युट अफ कोअपरेटिभ म्यानेजमेन्ट, पूणे भारत) । सहकारीका मन्त्रालय (कहिले कृषि, भूमिसुधार त कहिले गरीबीसितकै होस् ), बोर्ड छन्, अनेक सञ्जालहरू छन् । तर पनि सहकारीमै सिभिल होम्स र ओरियन्टलका जस्ता समस्या आउँछन् किन ? यसको उत्तर खोज्ने कार्यमा हाम्रो चासो देखिएन । हो, कुनै एकल सहकारी जस्तो ओरियन्टलमा समस्या पर्दा त्यसका लागि सरकारले कुनै बेला आयोग पनि गठन गरेकै हो । त्यसरी यो क्षेत्रको समस्याको निदान गरिनु हुँदैन, त्यो मोडालिटी नै गलत थियो । कुनै सहकारीमा प्रभावकारी र उच्च घरानियाँहरूको सदस्यको निक्षेप फिर्ता गर्ने त्यस किसिमको तरीकाले सहकारीमा प्रणालीगत छिद्रहरू टालिँदैनन् । सहकारीको विचार र वैचारिकतामा समस्या छैन, थिएन पनि । तर, नेपालमा भने केही सीमित व्यक्तिहरूले यसलाई ठगी खाने भाँडो बनाएकै हुन् । सहकारीले गाउँघरमा राम्रो काम नगरेको होइन । महिलाहरूले चलाएका कतिपय सहकारीहरूले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरतालगायत लघुवित्तीय सेवा प्रवाह र उत्पादनशील रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएका उहाहरण प्रशस्तै छन् । सहकारी हाम्रोजस्तो अर्थ प्रणालीमा आवश्यक पनि हो । त्यसैले यसको आवश्यकता र केही सहकारीले ल्याएका विचलनबीच सन्तुलित सहकारी प्रणालीको खोजीको अर्को चुनौती पनि यथावत् नै छ । मूल कुरो, अहिलेसम्म पनि सरकारले गर्नपर्ने तर नगरेको र यो क्षेत्रमा बनाउनुपर्ने अति आवश्यकीय संरचना : एक स्वतन्त्र, तटस्थ र स्वतन्त्र नियामक निकाय, प्रणाली स्थापना गरेर यो क्षेत्रलाई अगाडि ल्याउन सक्यो भने यो क्षेत्रमा देखिएको र दोहोरिरहने विकृति कम गर्न सकिन्छ । त्यसका लागि हाल चर्चामा भइरहेकोजस्तो केन्द्रीय बैंकको संलग्नता नै अन्तिम उत्तर भने होइन । केन्द्रीय बैंकलाई उसले इजाजत दिएका, वित्तीय संस्थाहरूको नियमन र सुपरिवेक्षण गर्ने नै चुनौती रहिरहेका बेला तीसौं हजारको संख्यामा रहेका सहकारीको अनुगमन ऊबाट हुन्छ भन्ने सम्भावना क्षीण छ । केन्द्रीय बैंकलाई यस कार्यमा अलमल्याउन पनि बुद्धिमानी हुँदैन, उसको राय र प्राविधिक सहयोग जहिल्यै लिन सकिन्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूमा प्रतिष्ठाको जोखिम

हालसालै महालक्ष्मी विकास बैंकले सुन धितो राखेर कर्जा प्रवाह भएको विषयमा एक अनौठो घटना सार्वजनिक जानकारीमा आयो । कर्जाका ऋणीले कर्जा निखनी सक्दासमेत उक्त बैंकले धितोस्वरूप राखिएको सुन फिर्ता नगरेको विषयले प्रहरी कार्यालयको सहयोगसमेत माग्नुपर्ने अवस्था आएको रहेछ र त्यसै सिलसिलामा उक्त विषय बाहिर आएको रहेछ । पछि उक्त बैंकले त्यस कुरालाई बढाइचढाई गरिएको भनेर प्रेस विज्ञप्ति नै निकालेको पनि देखियो । साथै ऋणीको धितो फिर्ता गरिएको समेत जानकारी गराएको कुरा छापाहरूमा आएकै हुन् । विवादको मूल चुरोचाहिँ सुन फिर्ता गर्ने बेला उक्त सुन नक्कली रहेको भन्ने बैंकको भनाइ ऋणीमार्फत बाहिर आएको सुनियो । सम्भवतः यो विषय हाल साम्यजस्तो देखिएको भए पनि यस परिघटनाले भने बैंक तथा वित्तीय क्षेत्रमा केही गम्भीर प्रश्नहरू उठाएका छन्, जसलाई प्रतिष्ठाको जोखिमसित जोडेर विश्लेषण गर्नुपर्ने हुन्छ । बैंक वित्तीय संस्थाहरूको प्रतिष्ठाको जोखिम र पूँजीबजारको जोखिमको आयतन एउटै नहोला तथापि ती दुवैका यस जोखिमले पुर्‍याउने संस्थागत, प्रणालीगत जोखिमको बेलैमा आकलन गर्न सकिएन भने त्यसले संस्थालाई नै धराशयी बनाउने डर भने रहिरहन्छ । केही वर्षपहिले नेपाल बंगलादेश बैंकमा संस्थागत सुशासनसम्बन्धी गम्भीर घोटाला भएको विषयले उक्त बैंकको व्यवस्थापन केन्द्रीय बैंकले समेत लिनुपरेको त हामीसामु ताजै छ । सोही बैंकका केही सञ्चालकहरू अहिलेसम्म पनि निलम्बित अवस्थामै छन् । उक्त घटनाका कारण बैंकमा निक्षेपकर्ताको भीड थामी नसक्नुको थियो । भलै पछि केन्द्रीय बैंकको हस्तक्षेप र विश्वासका कारण बैंकले थप जटिल परिस्थितिको सामना गर्नु परेन  र अहिले उक्त बैंक सामान्य अवस्थामा चलिरहेकै देखिन्छ । कमजोर संस्थागत सुशासनले भित्रभित्रै कतिसम्म बैंक वित्तीय संस्थाहरूलाई खोक्रो बनाएर लैजान्छ भन्ने कुरा यो घटना नै पर्याप्त छ । किस्ट बैंक, नेपाल शेयर मार्केट्स, क्यापिटल मर्चेन्ट बैंक, नेपाल विकास बैंक आदिका घोटाला प्नि हामीबीच ताजै छन् । अहिले ती संस्थाहरूको आरम्भको भौतिक अस्तित्व छैन । कति खारेजीमा गए भने कतिलाई कुनै अरू वित्तीय संस्थाले गाभेर सम्हाले । कति अझै केन्द्रीय बैंकको व्यवस्थापनमा छन् । तिनका सञ्चालक, सीईओलगायत कतिपय पदाधिकारी कोही जेलमा र कोही फरार अवस्थामा छन् । कतिपयले जेलमा रहँदैका अवस्थामा यस संसारबाटै बिदा भएका दुःखद घटनाहरू पनि छन् । त्यसमा केन्द्रीय बैंककै पूर्वपदाधिकारीहरू, जो ती वित्तीय संस्थामा अवकाशपश्चात् जागीरे बनेका थिए, समेत अनुसन्धानमा तानिएका कारण केन्द्रीय बैंकमाथि नै पनि परोक्ष रूपमा केही नैतिक दबाबहरू सृजना भएकै हुन् । अहिले केन्द्रीय बैंकका पदाधिकारीहरूलाई अवकाशपछि कुनै बैंक वित्तीय संस्थाहरूमा जागीर खानका लागि केही वर्ष कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था लागू गरिएको पनि त्यसैको परिणाम हो । संस्थागत सुशासनमा केन्द्रीय बैंक केही कडा रूपमा प्रस्तुत हुनथालेको पनि यिनै र यस्तै खाले घटनाहरूकै परिणाम हो । वास्तवमा बैंक वित्तीय संस्थाहरू भनेका विश्वासकै आधारमा चल्ने संस्था हुन् । विश्वास भत्किएका दिन त्यहाँ थामी नसक्नुको पहिरो जाने डर जहिल्यै रहन्छ । धन्न, नेपालको वित्तीय क्षेत्रमा त्यसखाले सम्भावित गम्भीर दुर्घटनाहरू बेलैमा टरेका छन् । यसैका लागि हो नियमनकारी निकायहरूको बलियो, स्वच्छ, पारदर्शी र जिम्मेवारीपूर्वकको तटस्थताको उपस्थितिको आवश्यकता । यहाँनेर नियमनकारी निकायहरूचाहिँ सबै र सधैं दूधले नुहाइएका हुन्छन् भन्ने अर्थ पक्कै होइन । हालै मात्र धितोपत्र बजारको नियमनकारी निकायहरू सेबोन र नेप्सेका मूल अधिकारी नै एक कम्पनीको शेयरको भित्री कारोबारमा संलग्न भेटिएको परिघटना पनि हामीबीच आलै छ । आरोपित एक जनाले बीचैमा राजीनामा दिए भने अर्का एकजना हटाइएका छन् । त्यसबारे अनुसन्धान भइरहेको जानकारीमा त आएको छ । तर, आम नागरिक र धितोपत्र बजारका साधारण लगानीकर्ता तिनलाई केकस्तो कारबाही होला ? भनेर पर्खिरहेका देखिन्छन् । तर, मूल कुरा के हो भने नियमनकारी निकायहरू नै कतिसम्म तल्लो हदमा ओर्लेर भित्रिया कारोबार गर्न पुग्दा रहेछन् भन्ने कुरा यी दुई नियमनकारी निकायको परिघटनाले पस्केको हुँदा ती निकायमा बस्ने पदाधिकारीको नैतिक इमानदारी र इन्ट्रिग्रिटीको कुरा महत्त्वपूर्ण हुँदोरहेछ भन्ने पाठ बेलैमा सिक्नुपर्ने भने देखिएको छ । बैंक वित्तीय संस्थाहरूको प्रतिष्ठाको जोखिम र पूँजीबजारको जोखिमको आयतन एउटै नहोला तथापि ती दुवैका यस जोखिमले पु¥याउने संस्थागत, प्रणालीगत जाेिखमको बेलैमा आकलन गर्न सकिएन भने त्यस्ले संस्थालाई नै धराशयी बनाउने डर भने रहिरहन्छ । यसैले प्रतिष्ठाको जोखिम अन्य संस्थाहरूका तुलनामा बैंक वित्तीय संस्थाहरूमा अलिक भिन्न प्रकारमा हुने गर्छ । पूँजीबजार नियामकहरूमा देखिएको यो घटनाले पनि संस्थागत सुशासन पालना गराउने अधिकारीमाथि जहिल्यै प्रश्न चिह्न उठिरहन्छ र संस्थाको प्रतिष्ठाको जोखिम यहाँनेर पनि उपस्थित हुन्छ भन्ने हो । खोजी पस्दै जाने हो भने नेपालकै बैंक वित्तीय क्षेत्रमा थुप्रै घटना पाइन्छन् जुन संस्थाको प्रतिष्ठासितै सरोकार राख्तछन् । माथि उल्लिखित सुन धितो प्रकरणकै कुरालाई दृष्टिगत गर्दा के अनुमान हुन्छ भने बैंकजस्तो संस्थाले धितो लिने बखतमै त्यसको गुणस्तरको परीक्षण गर्नुपर्ने होइन र ? यदि त्यसो नगरीकनै धितो राखिएको हो भने प्रणालीमै दोष रहेको मान्नुपर्ने हुन्छ वा आरम्भमा मिलीभगतबाटै लगानी भएको पो हो कि भन्ने शंका गर्ने ठाउँ छ । त्यसैगरी बैंककै कर्मचारीको नियतमाथि पनि शंका उठाउन सकिन्छ । किनभने धितोको तालाचाबी त ग्राहकका हातमा रहँदैन वा ग्राहक र बैंकले खोल्ने गरी दुईओटा चाबीको व्यवस्था त गरिएको पक्कै हुँदैन । यसैले ऋण चुक्ता गरिसकेपछि धितोको गुणस्तरको सवाल उठाउनु वा उठ्नु भनेको बैंककै प्रतिष्ठासित सरोकार राख्ने घटना हो । सामान्यतया यस्ता कुरा नहुनुपर्ने हो । अब यस घटनाले उक्त बैंककै प्रणालीमाथि र त्यहाँको संस्थागत सुशासनमाथि प्रश्न उठाएकाले यसले संस्थाकै प्रतिष्ठाको जोखिम पनि निम्त्याएको देखिन्छ । यो प्रतिष्ठाकै जोखिम हो । प्रतिष्ठाको जोखिमले निम्त्याउने खतरा आँकडागत हिनामिनाभन्दा धेरै गुणा अधिक हुन्छ र त्यसले वर्षौंसम्म पनि पच्छ््याइरहन्छ । एनबी ग्रूप जोडिएको नेपाल बंगलादेश बैंकको प्रतिष्ठामाथि अहिले पनि आम नागरिक प्रश्न उठाइरहेकै छन् । केन्द्रीय बैंकको फिट एन्ड प्रपर टेस्टबाट समेत योग्य ठहरिएका तिनका सञ्चालकहरू संस्थागत सुशासनमा फितला र कमजोर भेटिनु भनेको दुवैतिर सधैं उठिरहने प्रश्न हुन् । यस्ता प्रश्नहरू नै हुन् जसले प्रतिष्ठाको जोखिमलाई निम्त्याएको हुन्छ । यो जोखिम कुनै कर्जाको जोखिमजस्तो मात्र होइन, एक खाले सार्वभौम जोखिमजस्तै हो । त्यसैले नियमनकारीहरू पनि आफ्ना स्थानमा जहिल्यै सतर्क रहनुपर्ने सन्देश यस्ता परिघटनाहरूले दिएका छन् । विदेशी बैंकहरूले अहिले प्रतिष्ठाको जोखिम अर्थात् रेपुटेसनल रिक्सलाई निकै महत्त्व दिएका छन् । उदाहरणका लागि नेपालमै कार्यरत स्ट्यान्डर्ड चार्टर्ड बैंकले यस्तो जोखिमको त्रैमासिक रूपमा सञ्चालक समितिमा नियमित मूल्यांकन गर्ने गरेको देखिन्छ । कुनै मिडियाले कुनै प्रश्नहरू उठाए कि उठाएनन् ? बैंकले अल्पसंख्यक शेयरधनीहरूको हितविपरीत वा केन्द्रीय बैंकको नियमनविपरीत कुनै कामहरू गरेका छन् छैनन् र भएका छन् भने तिनको आयतन के कस्तो र कत्तिको दूरगामी प्रभाव पर्ने खालका छन् ? कुनै जरीवाना, हर्जानाजस्ता कुराहरू पनि तिर्न परेको छ वा छैन ? संस्थाभित्र कुनै लैंगिक विभेद र आचरणगत विभेदहरू छन् कि छैनन् ? ग्राहकहरूसितको सम्बन्ध चिसिएका कुनै घटनाहरू छन् कि छैनन् ? कुनै मुद्दा मामिलाको स्थिति कस्तो छ ? कुनै स्याङसन्ड (जस्तो : म्यानमार, अफगानिस्तान, इरान, इराक आदि) देशहरूबाट लगानी भित्रिएका छन् वा तीसँग कारोबार भएका छन् छैनन् ? मनि लाउन्डरिङसित आबद्ध कुनै कारोबारहरू भएका छन् कि छैनन् ? कुनै साइबर क्राइमका घटना छन् छैनन् वा त्यसको सम्भावनाका लागि बैंकको प्रबलीकरणको अवस्था के कस्तो रहेको छ ?  सञ्चालकहरूले सम्पत्ति विवरण पेश गर्ने व्यवस्था र तिनको अवस्था कस्तो छ र तिनको र तिनका परिवारजनको बैंकसितको कारोबारहरू छन् वा छैनन् ? संस्थाभित्र उपहार, चन्दा लिनेदिने अबस्था कस्तो छ ? बैंक निक्ष्ोपकर्ताहरूको हिसाब तलवितल हुने स्थिति वा अवस्था वा त्यससित सम्बद्ध कर्मचारीहरूको आचरण व्यवहार कस्तो छ ? बैंकबाट नगद हराउने, चोरी हुने स्थितिहरू आएका छन् छैनन् ? बैंकको सुरक्षा प्रणाली कस्तो छ ? बैंकले प्रकाशित गर्ने तथ्यांक र वास्तविक स्थितिबीच केही फरक छ छैन ? बैंक सेवाग्राहीका गुनासाहरूको सम्बोधन गर्ने प्रणाली कस्तो छ ? धितोको अधिक वा कम मूल्यांकन गरिएका छन् छैनन् ? बैंकको रेकर्ड प्रणाली र त्यसको सुरक्षा, डिज्यास्टर मेनेजमेन्टको स्थिति, प्रणाली के कस्तो छ ? आदि कुराहरूलाई यस जोखिमसित जोडेर हेर्ने गरिन्छ, हेर्नुपर्ने हुन्छ । यी सबै कुनै न कुनै रूपमा यो जोखिम निम्त्याउने कारकहरू बन्नसक्ने हुँदा कुनै पनि बैंक वित्तीय संस्थाले आफ्नो संस्थाको प्रतिष्ठाको जोखिमलाई जहिल्यै उच्च प्राथमिकताका साथ निगरानी गरिराख्नुपर्ने हुन्छ । के नेपालका बैंक तथा वित्तीय संस्थाहरूले यतापट्टि सोचेका होलान् ? प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

संसदीय समिति गलत बाटोमा

चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका सम्बन्धमा संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना संक्रमणका कारण शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उत्थान गर्नेगरी नीति बनाउने समितिले निर्देशन दिएको हो । समितिको यो निर्देशनले राष्ट्र बैंक सरकारप्रति जवाफदेही वा संसद्प्रति भन्ने विवाद उठेको छ । संसदीय समितिले बेलाबखत विभिन्न सरकारी अधिकारीहरूलाई बोलाएर निर्देशन दिने गरेको छ जुन संसदीय अभ्यासअनुसार उपयुक्त मानिँदैन । बैंकले संसद्ले भनेको मान्ने कि सरकारले भनेको मान्ने अन्योल हुन्छ । त्यसैले संसद्ले सरकारमार्फत बैंकलाई निर्देशन दिनुपर्ने हो । संसद्मा संसदीय शासनप्रणालीलाई स्वीकार गर्ने राजनीतिक दलहरूबाट निर्वाचित व्यक्तिहरू नै सांसद छन् । संविधानको मर्म र भावना पालना गर्नु उनीहरूको अनिवार्य जिम्मेवारी हो । यदि यसको पालना गर्दैनन् भने तिनीहरू संसद्मा बस्न नैतिक र कानूनी रूपमा समेत बस्न पाउँदैनन् । संसदीय शासन प्रणालीमा सरकार संसद्प्रति जिम्मेवार हुन्छ । उसले सांसदहरूले उठाएको विषयको जवाफ दिनुपर्छ । तर, संसदीय समितिले सरकारमातहतका निकाय तथा अधिकारीहरूलाई बोलाएर स्पष्टीकरण लिने तथा निर्देशन दिने काम गर्न मिल्दैन । उसले सरकारमार्फत ती काम गराउनुपर्छ । तर, कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै नेपालको संसदीय प्रणालीमा यो निर्देशन दिने अभ्यास जारी छ र आफूलाई संसदीय व्यवस्थाका हिमायती भन्नेहरूले पनि यस्तो विवादास्पद काममा प्रश्न उठाएको नपाइनु विडम्बना नै हो । पहिलो कुरा त केन्द्रीय बैंक स्वायत्त संस्था हो । सरकारबाट यसका प्रमुख नियुक्त हुने भए पनि यसको मुख्य काममा सरकारले हस्तक्षेप गर्न पाउँदैन, हुँदैन । तर, नेपालमा भने कुनै न कुनै रूपमा यसमाथि सरकारी हस्तक्षेप भइरहने गरेको छ । पहिला व्यवहारले मात्रै सरकारी हस्तक्षेप हुनेमा अहिलेको कानूनले त यसलाई सरकारप्रति जिम्मेवार नै बनाएको छ । विश्वका सबैजसो देशमा केन्द्रीय बैंक स्वायत्त हुन्छ । यो सरकारको आर्थिक सल्लाहकार हो । अमेरिकामा फेडरल रिजर्भका अध्यक्षले संसदीय समितिमा सुनुवाइ गर्नुपर्ने हुन्छ । अध्यक्षले समितिमा गएर बयान दिन्छन्, आफ्ना नीतिहरूको व्याख्या गर्छन् । त्यसैले उनी संसद्प्रति जवाफदेही हुन्छन् । तर, राष्ट्र बैंक ऐनले सरकारप्रति जिम्मेवार हुनुपर्ने भनी यो अधिकार सरकारलाई दिएपछि राष्ट्र बैंकले संसदलाई जवाफ दिने होइन, सरकारलाई दिने हो । संसद् आफैले ऐन बनाएर त्यो अधिकार गुमाएको हो । यदि संसद्ले यस्तो निर्देशन दिने हो ऐन संशोधन गरेर त्यो अधिकार फिर्ता लिनुपर्छ । राष्ट्र बैंक जति नै स्वायत्त छ भने पनि सरकारको आदेश पालना गर्ने निकायको रूपमा उसले पहिलादेखि नै काम गरिरहेको हो । धेरै वर्ष अगाडिदेखि नै हस्तक्षेप गर्दै स्वायत्ततामाथि आँच पुर्‍याएको पाइन्छ तर अहिले ऐनकानूनले सरकारप्रति जिम्मेवार बनाइएको छ । अर्थात्, यो सरकार मातहत बनाउन खोजिएको छ । केन्द्रीय बैंक सरकारप्रति उत्तरदायी हो कि संसद्प्रति ? यो विवाद अहिलेको निर्देशनले फेरि उब्जाएको छ । राष्ट्र बैंकले सरकार र संसद् दुवैलाई रिपोर्ट गर्नुपर्ने अवस्था आयो भने काम गर्न समस्या हुन्छ । बैंकले संसद्ले भनेको मान्ने कि सरकारले भनेका मान्ने अन्योल हुन्छ । त्यसैले संसद्ले सरकारमार्फत बैंकलाई निर्देशन दिनुपर्ने हो । यसरी संसद्बाट आएको निर्देशन राष्ट्र बैंकले मान्दिन भन्न सक्नुपर्थ्यो तर कुनै पनि सरकारी अधिकारीले त्यसरी जवाफ दिएको पाइँदैन । काठमाडौं मधेश द्रुतमार्गको ठेक्कामा संसदीय समितिले यस्तै निर्देशन सेनालाई दिँदा संसद्मा केही नबोले पनि बाहिर उसले असन्तुष्टि जनाएको र ठेक्का रद्द गर्ने हो भने सरकारबाट निर्देशन आउनुपर्ने बताएको थियो । त्यो ठेक्का रद्द भएर र संसद्को निर्देशनको पालना भएन । आफ्नो निर्देशन पालना नगर्नेमाथि संसद्ले कुनै पनि कारबाही गरेको छैन । वास्तवमा उसलाई सीधै कारबाही गर्ने अधिकार छैन पनि । त्यसैले यसरी गलत तरीकाले निर्देशन दिने काम संसद्ले रोक्नुपर्छ, ऊ आफ्नो ठाउँमा बस्नुपर्छ । समितिले दिएका सुझावहरू ठीकै होलान् तर विधि भने मिलेको छैन । विधि बनाउने काम संसद्को हो । संसद्ले नै विधि मिचे यसको पालना कहाँ होला ?