इस्लामावाद । पाकिस्तानी मुद्रा रुपयाको भाउ घटेको छ । शुक्रवार अन्तर बैंक बजारमा डलरको तुलनामा रुपयाको भाउ ७ रुपया १७ पैसा घटेर प्रतिडलर २६२ रुपया ६० पैसामा आएको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ८१ प्रतिशत कम हो ।
खुला बजारमा साँझ ४ः१५ बजेतिर पाकिस्तानी रुपया प्रतिडलर २६९ मा किनबेच भइरहेको पाकिस्तानका विनिमय कम्पनीहरूको संगठन इकयापका तथ्यांकले देखाएको छ । यो कमी अघिल्लो दिनको भन्दा ७ रुपया अर्थात् २ दशमलव ६७ पैसा कम हो ।
औपचारिक माध्यमबाट देशभित्र उल्लेख्य मात्रामा विप्रेषण भित्रिन शुरु भएको बताइएको छ । आगामी महीनामा विप्रेषण बढेर साढे २ अर्ब डलरमाथि पुगेर क्रमशः ३ अर्ब डलर नजिक पुग्ने अनुमान गरिएको छ ।
आगामी केही महीनमा निर्यात पनि सुध्रिएर मासिक ५० करोड डलरमा पुग्ने आशा गरिएको बताइएको छ । सरकारले विनिमय दरमा लगाएको सीमा हटाएपछि निर्यात अवस्था सुध्रिएको हो । सरकारले चार महीनाअघि नै सीमा हटाएको भए देशमा उच्च महँगी नहुने विश्लेषण गर्न थालिएको छ ।
विनिमय दरमा सीमा लगाउँदा विप्रेषणमा कमी र आयात महसुल अकासिएको लगायत अवस्थाले पाकिस्तानले ६ अर्ब डलर विदेशी मुद्रा गुमाउनुपरेको अल्फा बिटा कोरका सीईओ खुर्रम शहजादले बताए । शुक्रवारको समायोजनपछि पाकिस्तानमा विप्रेपण औपचारिक माध्यमतिर फर्किएको छ । यस्तोमा डलर स्थिर बन्ने विश्लेषकहरूको अनुमान छ ।
गएको मंगलवार विनिमय कम्पनीहरूले खुला बजारमा विनिमय दरमा लगाएको स्वघोषित सीमा हटाएका थिए । फलतः बुधवार खुला बजारमा डलरको भाउ २४० रुपया ७५ पैसाबाट बढेर २५२ रुपया ५० पैसामा उक्लिएको थियो ।
रुपयाको भाउलाई टेवा दिन एसबीपीले बजारमा हस्तक्षेप गरेपछि डलर रुपया विनिमय दर बलियो बन्दै २४३ रुपयामा झरेको थियो । तर, हस्तक्षेपको असर लामो समयसम्म टिक्न सकेन ।
बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग रोकिएको वित्तीय उद्धार वार्ता सुचारु गर्न अनौपचारिक सीमा पनि हटाइयो । त्यसपछि रुपयाको भाउ खुला बजार र अन्तरबैंक बजारमा ह्वात्तै घटेको थियो ।
हालैका महीनामा यो अन्तर १५ रुपयासम्म थियो । यी घटनाक्रमहरूले मुद्रा बजारलाई झनै अस्थिर बनाइदियो । कारोबार छिटपुट भयो । विनिमयमा तोकिएको सीमा हटाउनु आवश्यक थियो । यो कदमले निर्यात प्रक्रिया बढाउने र आधिकारिक बैंकिङ च्यानलहरूमार्फत विप्रेषण आप्रवाह बढाउने विश्लेषण गरिएको छ ।
जुन २० मा सकिएको हप्तामा पाकिस्तानको विदेशी विनिमय सञ्चिति ३ अर्ब ६७ करोड ८० लाख डलरमा झरेको थियो । यसले १६र१७ दिनको मात्रै आयात धान्न पुग्छ ।
कोषको झन्डै ७ अर्ब डलर बराबरको कर्जा कार्यक्रम अन्तर्गतको रोकिएको किस्ता फुकेमा पाकिस्तानले १ अर्ब २० करोड डलर बराबरको किस्ता पाउनेछ भने मित्रदेश र अन्य बहुपक्षीय कर्जादाताहरूबाट पनि सहायता प्रवाहको बाटो खुल्नेछ । एजेन्सी