राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यलाई तीव्रता दिन निर्माणस्थलमा विस्फोट गराउने तयारी गरिएको छ । जिल्ला सुरक्षा समिति पाल्पा र रुपन्देहीको बैठकले जेठ १३ देखि विस्फोटको काम गरेर सुरुङमार्ग निर्माणलाई तीव्रता दिइने जनाएको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराउने स्वीकृति मागेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । विस्फोटका समयमा सीमित अवधिका लागि सिद्धार्थ राजमार्गमा सवारी आवागमन बन्द हुने उहाँले बताउनुभयो ।