बागलुङ । नेपालको एकमात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन शुरू भएको छ । कात्तिक २ गतेदेखि शुरू भएको शिकार पर्यटन मङ्सिर २५ गतेसम्म हुने भएको छ ।
ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि ७ नाउर र पाँचओटा झारलको शिकार अनुमति दिएको छ । विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात शिकारीले सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मङ्सिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् ।
ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् । उनले हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको शिकार गर्न अनुमति लिएको बताए ।
यस्तै हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक÷एक नाउर र झारलको शिकार गर्ने, ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक÷एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्ने र फ्रान्सेली शिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का शिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुन ब्लकमा एउटा झारलको शिकार गर्ने अनुमति लिएको अधिकृत कँडेलले बताए । उनले शिकारका लागि दुईजनाको एउटा समूह शिकार ब्लकतर्फ लागिसकेको जानकारी दिए ।
यस वर्ष शिकार खेल्ने दूरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि १ लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यसबाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले बताएको छ ।