काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सत्ता सम्हालेको झन्डै ३ महीनापछि मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएको असार २९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले यसअघि पाँच मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त गर्नुभएको थियो । शुक्रवार थप मन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त गर्दै मन्त्रिमण्डलको आकार २५ पु¥याइएको छ । लामो समय मन्त्रिमण्डलले पूर्णता नपाउँदा सरकारका कामकारबाही समेत प्रभावित भएको भन्दै उनी र उनको सत्ता गठबन्धनका नेताहरूको आलोचना भएको थियो । आपूm नेतृत्वमा सरकार बनेको ८८औं दिनमा देउवाले जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
नेपाली कांग्रेसबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, उमा रेग्मी, उमाकान्त चौधरी र गजेन्द्रबहादुर हमाल मन्त्री नियुक्त भएका छन् । रिजाललाई रक्षा, बडूलाई कानून, न्याय तथा संसदीय मामिला, चौधरीलाई खानेपानी, रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि कानूनमन्त्री रहेका प्रवक्ता कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण एवम् महेश्वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ ।
गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री, रामकुमारी झाँक्री शहरी विकास, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।
जनता समाजवादी पार्टीका तर्फबाट चार मन्त्री नियुक्त भएका छन् । जसपाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव, वन तथा वातावरण मन्त्रीमा रामसहाय यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा महिन्द्र राय यादव नियुक्त भएका छन् ।
हाल स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । नेकपा माओवादी केन्द्रकी बोधमाया कुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाइएको छ ।