पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् । सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम पुन, नरबहादुर पुन, बनबडेका हर्कबहादुर पुन, लेखबहादुर फगामीसहित ५० परिवारले किवी खेती गर्न थालेका हुन् ।
एक पटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो दुई सय ५० देखि छसय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् ।