अहिले नेप्से परिसूचक ३१६१.५६ सय बिन्दुमा पुगेको छ । बजार बढ्दो प्रवृत्तिमा छ । १ वर्षअघिसम्म ११/१२ सय को हाराहारीमा रहेको बजारमा दैनिक २५/३० करोड रुपैयाँको कारोबार हुनेमा मंगलवार झन्डै १८ अर्ब रुपैयाँकोकारोबार भयो । कारोबारले २० अर्ब रुपैयाँसम्मको रेकर्ड बनाएको थियो । विगतमा पनि शेयरबजारमा यस्तै बढोत्तरी नभएको होइन । विसं २०५८, २०६२ र २०७२ सालमा शेयरबजार यसरी नै बढेको थियो । जुन बेला बजारमा बुलिस प्रवृत्ति देखिएको छ, त्यो बेला बैंक ब्याज कम रहने गरेको छ । अर्थात्, बैंकले दिने कर्जामा ब्याज कम भएको बेला नै शेयरबजारमा उछाल आएको देखिन्छ ।
जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो ।
यसपटक पनि जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो । यसमा अनलाइनमाध्यमबाटै लगानीकर्ता सहभागी हुन सक्छन् । पछिल्लो समय शेयरबजारमा भित्रिएको प्रविधि र प्रक्रियागत सुधारले पनि कारोबार बढाउन मद्दत पुर्याएको हो । यसका निम्ति अतिरिक्त पूर्वाधार र खर्चको आवश्यकता नपर्ने भएकाले पनि कारोबार सजिलो छ ।
लगानीकर्ताले सेकेन्डरी लगानीको विकल्पको रूपमा शेयरबजारलाई उपयोग गरेका छन् । लगानीकर्ताका लागि आफ्नो अतिरिक्त पैसा लगाउने सुरक्षित र सहज ठाउँ शेयरबजार नै बनेको छ । सामान्यतः साउन र भदौ महीनामा अन्य उद्यम व्यापार पनि उतिसारो नचल्ने भएकाले पनि यो बेला शेयरमा आकर्षण बढेको हो ।
अर्को, हाम्रो ७० लाख जनशक्ति विदेशमा काम गरिरहेको छ । महीनामै अर्बाैं रुपैयाँ विप्रेषण नेपाल भित्रिन्छ । कोरोना कालमा पनि यो रकम अनुमानअनुसार घटेन । यो रकम पनि कुनै न कुनै माध्यमबाट बैंकिङ च्यानलमै आउँछ । यसले बैंकमा तरलता बढाएको छ । बैंकमा तरलता बढ्नु र लगानीका क्षेत्र सीमित हुँदा ब्याजदर पनि खुम्चिन्छ । यसले पनि शेयरबजारलाई बढाएको हो ।
कोरोना महामारीमा अन्य उद्यम व्यापारमा मन्दी छाएको छ, यो रकम शेयरबजारमा गएको छ । यही बीचमा शेयर कारोबारमा अनलाइन प्रणालीले थपेको सहजता पनि बजार बढ्ने कारण बन्यो । डिम्याट खाताको संख्या ३५ लाख पुगिसकेको छ । ५ लाख जति सक्रिय छन् । अहिले शेयर किनेको तेस्रो दिनमा खातामा आइसक्छ । चौथो दिनमा बेच्न सकिन्छ । यो सुधारले पनि कारोबार बढेको हो । पहिला महीनामा ४ पटक कारोबार हुने लगानीले अहिले १२ पटकसम्म कारोबार गर्न सकिन्छ । यसले पनि स्वाभाविक रूपमा बजारको आकार बढाउन मद्दत मिलेको हो ।
तर, जसरी कारोबार बढ्यो त्यसको तुलनामा पूर्वाधार बढ्न सकेको छैन । आज पनि ४ दर्जन हाराहारीकै शेयर ब्रोकरबाट काम भइरहेको छ । दैनिक २५ करोड रुपैयाँ कारोबार हुँदाका पूर्वाधारमा दैनिक १०/१२ अर्ब रुपैयाँको कारोबारको व्यवस्थापन सहज रूपमा हुन सक्दैन । बैंकहरूलाई मापदण्ड बनाएर शेयर किनबेचको अनुमति दिइनुपर्छ । यसो भयो भने नयाँ लगानीकर्ता आउँछन् । जसरी शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको छ । त्यो अनुपातमा नयाँ शेयर पनि आउन सकेका छैनन् । पुनर्बीमा कम्पनी र निफ्राले आवेदन दिनेजति सबैलाई शेयर दिएयता आवेदकहरू ह्वात्तै बढेका छन् । यी कम्पनीले शेयरबजारमा धेरैको रुचि जगाएका पनि हुन् । तर, त्यसयता शेयर भर्ने धेरै, तर पाउने कम भएका छन् । अब नयाँ लगानीकर्तालाई शेयरबजारमा आकर्षित गरिरहने र टिकाउने हो भने ठूला लगानीका कम्पनी ल्याउनुपर्छ । ३०/३५ लाख कित्ता शेयर जारी गरेर हुँदैन । एउटा कम्पनीले कम्तीमा ५/७ अर्ब शेयर विक्री गर्नुपर्छ, यसो भयो भने शेयरबजारमा आकर्षण कायम रहन्छ ।
अहिले बैंकहरूले ६/७ प्रतिशत ब्याजमा बोलाइबोलाई पैसा दिइरहेका छन् । विगत डेढ वर्षयता कोभिडका कारण लगानीका क्षेत्र खुम्चिएका छन् । ठूला योजनामा लगानी गएको छैन । हामीकहाँ अन्य क्षेत्रमा लगानीको प्रवृत्ति सुझबुझपूर्ण छैन । उदाहरणका रूपमा नेपालमा खुलेका सिमेन्ट र डन्डी उद्योगलाई लिऊँ, खपतको दोब्बर क्षमतामा उद्योग लागेका छन् । २०७२ सालको भूकम्पअघि जस्तापाता उद्योग बन्द हुने अवस्था आएको थियो । त्यसपछि नयाँ उद्योग थपिए । घ्यू र तेल उद्योगको अवस्था उस्तै छ । कोरोनाका कारण जलविद्युत् योजनाका साना ठूला काम पनि अपेक्षित अघि बढ्न सकेका छैनन् । बैंकहरूले पनि त्यही क्षेत्रमा लगानी गरेका थिए । बैंकहरूले लगानी प्रवृत्ति पनि योजनाको सम्भाव्यतामा नभएर सहज क्षेत्रमा जाने भयो । कोरोनाका कारण यस्ता उद्योगको अवस्था खस्किएको छ । विगतमा ती उद्योगमा लगानी बढी भएकाले तरलता अभाव थियो । कोरोनाले बजार प्रभावित भएपछि अब केही समय यस्ता योजनामा नयाँ लगानी आउने सम्भावना देखिँदैन । यसले बैंकमा लगानीयोग्य रकम बढ्नेछ । यसले ब्याजदर घटाउनै दबाब दिन्छ । जबसम्म बैंकको ब्याज दर १० प्रतिशतबाट उकालो लाग्दैन, तबसम्म शेयरबजार उकालो चढिरहन्छ । बढ्दो बजारमा विकृति पनि बढिरहेका हुन्छन् । यस्तोमा लगानीकर्ताले आफ्नो लगानी कस्ता कम्पनीमा लगाउने भन्नेमा चाहिँ पर्याप्त सतर्कता सुझबुझ भने अपनाउनैपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का क्यापिटल मार्केट समितिका संयोजक अग्रवालसित गरिएको कुराकानीमा आधारित ।