ब्याजदर वृद्धिको होडबाजीले पार्ने प्रभाव

बजारमा अहिले देखिएको तरलता समाधानको निमित्त बैंकहरूबीच ब्याजदर उच्च पार्ने होडबाजी देखिएको छ । तरलता समाधानको निमित्त उच्च ब्याजदरले शायद कतै कुनै ठाउँबाट केही सीमित बैंक बाहिर रहेका रकम आकर्षित गर्ला, तर यसले एउटा बैंकमा रहेको निक्षेप अर्को बैंकमा रकमान्तर हुने कार्य मात्र हुन जान्छ । यसले अर्थतन्त्रमा कुनै सहयोग गर्दैन । केही रकम तरलताको निमित्त सहयोगी हुने देखिन्छ । तर, अन्तत: यसले कुनै दिगो समाधान पक्कै दिँदैन । यसले एक बैंकको तरलता समाधान गर्न मात्र सहयोग गर्ने र अन्य क्षेत्रलाई नकारात्मक प्रभाव र असर पार्ने देखिन्छ । ब्याजदर उच्च हुँदा मुद्दतीतर्फ आकर्षण बढ्नु स्वाभाविक हो । त्यसमाथि बैंकहरूले विभिन्न विकल्पसहितका निक्षेप योजनाहरू बजारमा ल्याइरहँदा त्यसको प्रत्यक्ष असर मुद्दती निक्षेप वृद्धि हुन्छ । सन १९४५ मा पल साम्युलशनले गरेको एक अध्ययनमा बैंकको ब्याजदर बढ्दैमा बैंकको आफ्नो उत्पादकत्व वा नाफामा कुनै प्रभाव नपार्ने, बरु अन्य क्षेत्र बढी प्रभावित हुने उल्लेख गरेका छन् । यसले समग्र बैंकिङ क्षेत्रमा कुनै चोटसमेत नलाग्ने उल्लेख गरेका छन् । यसले निक्षेप संकलनमा होडबाजी सृजना गर्छ । यसमा नीतिगत भ्रष्टाचार नै हुन सक्छ । बैंकिङ क्षेत्रभित्र अस्वस्थ प्रतिस्पर्धा निम्तिन्छ । अहिले कर्मचारी र शाखालाई अनावश्यक दबाब दिएको देखिन्छ । खुला बजारीकरणको सिद्धान्त पालना गरिरहँदा यस प्रकारको अस्वस्थ प्रतिस्पर्धाले बैंकिङ प्रणालीमा एउटा नराम्रो विकृति उत्पन्न हुन सक्छ । उच्च ब्याजदरले गर्दा निक्षेप आकर्षित त होला तर यसले अन्य क्षेत्रमा प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ । शेयरबजार र बैंकको ब्याजदरबीच प्रत्यक्ष सम्बन्ध भएको हुन्छ । बैंकको ब्याजदर बढ्दा स्वाभाविक तरीकाले शेयर बजार घट्न जान्छ, जसको प्रत्यक्ष असर अहिले नेप्से परिसूचकले प्रस्तुत गरिसकेको देखिन्छ । बैंकको ब्याजदर बढ्दै गर्दा बीमाक्षेत्र होस् या अन्य वित्तीय क्षेत्र, तिनीहरूमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना हुन्छ । त्यसैगरी आगामी दिनमा निष्कासन हुने नागरिक बचतपत्र होस् या ऋणपत्र त्यसमा आकर्षण घट्न जाने खतरासमेत रहन जान्छ । बैंकदर ७ प्रतिशत पुगिरहँदा अन्तरबैंक ब्याजदरसमेत सोहीअनुरूप बढ्न जाने देखिन्छ । त्यसले गर्दा दिगो रूपमा समस्या निम्तने डर रहन्छ । निक्षेपको ब्याजदर आफैमा स्वतन्त्र अवश्य छैन । यसको ब्याजदर बढ्दा कर्जाको ब्याजसमेत महँगो हुन जान्छ । कर्जाको ब्याज महँगो हुनु भनेको अर्थ समग्र अर्थतन्त्र महँगो हुनु हो । उद्योग कलकारखाना सञ्चालनको निमित्त होस् या सामान्य घर निर्माणको निमित्त लिइएको कर्जा होस् । ब्याजदर उच्च हुँदा यसले पार्ने प्रभावले पनि सोहीअनुरूपको उत्पादकत्व महँगो हुन जान्छ । उद्योग, कलकारखाना वा होटेल व्यवसायले उच्च ब्याजदर बुझाउनु पर्दा ग्राहकसँग पनि सामान्यभन्दा बढी शुल्क उठाउन बाध्य हुन्छन् । यसले महँगीलाई प्रोत्साहन गर्छ । तरलताका कारण महँगो भएको कर्जा तरलता सहज हुनासाथ घट्दैन । १० हजार तिर्ने डेरावालले आज १२ हजार तिर्नुपर्ने हुन्छ तर, घरबेटीको कर्जा सस्तो हुँदैमा डेरावालले तिर्नुपर्ने रकम घट्दैन । यसरी ब्याजदर महँगो हुँदा  घरजग्गा, वस्तुभाउ, सेवासुविधाको मूल्य बढ्न जान्छ र मुद्रास्फीतिको सम्भावना उच्च हुन्छ । यसरी ब्याजदर उच्च हुँदा स्वदेशी लगानीमा आकर्षण बढ्ने र विदेशी लगानीबाट बैंक तथा वित्तीय संस्थाको रुचि घट्ने सम्भावनासमेत रहन जान्छ । विदेशी मुद्रा रिजर्भ राख्नुको साटो नेपाली मुद्रा राख्दा नै बैंकहरूलाई फाइदा हुने देखिएपछि विदेशी मुद्राको एकलौटी भार केन्द्रीय बैंकमा थुप्रन सक्ने सम्भावना रहन जान्छ । बैंकदर ७ प्रतिशत पुग्दा अन्तरबैंक कारोबार पनि सोही अनुपातमा पुग्न जान्छ, जसले गर्दा अन्य क्षेत्रमा बैंकले गर्ने लगानी जस्तो शेयरबजार, घरजग्गा वा सुनचाँदीमा रुचि घट्न सक्छ । कर्जामा रोकटोक हुँदा घरजग्गामा भएको महँगी केही नियन्त्रण हुन सक्ला । तर, समग्र अर्थतन्त्रलाई कुनै तरीकाले सहयोग गर्दैन । आज बजारमा सयको ३ देखि ४ रुपैयाँसम्मको ब्याज चल्न थालिसकेको भेटिन्छ । ब्याजदर उच्च हुँदा मुद्दतीतर्फ आकर्षण बढ्नु स्वाभाविक हो । त्यसमाथि बैंकहरूले विभिन्न विकल्पसहितका निक्षेप योजनाहरू बजारमा ल्याइरहँदा त्यसको प्रत्यक्ष असर मुद्दती निक्षेप वृद्धि हुन्छ । यसरी ठूला निक्षेपकर्ताले आफूसँग भएको रकम बैंकको मुद्दतीमा राख्दा बाहिरी लगानी घट्न थाल्छ र समग्र अर्थतन्त्र बैंककै भरमा चल्नेसरह देखिन्छ । चालू रकम कम र पूँजी रकम वृद्धि हुँदा अर्थतन्त्र चलायमान राख्ने रकम बजारमा अभाव हुन सक्छ । सामान्य नागरिकले खर्चभन्दा बचत गर्ने बानी निर्माण गरेमा कुल गार्हस्थ्य उत्पादनमै केही कटौती हुन जान्छ । वैकल्पिक मुद्रा, क्रिप्टो करेन्सी आदिले मुद्रास्फीति नहुने भनी प्रचार भइरहेको छ । यसलाई नेपालमा गैरकानूनी भनिएको छ । त्यसतर्फ आकर्षण बढ्ने सम्भावनासमेत छ । जति नै गैरकानूनी भनिए तापनि यसको पहुँच नेपाली र दक्षिण एशियाली मुलुकमा सहजै हुने भएको हुँदा यसबाट भाग्न कठिन रहन्छ । अहिले कर्जाको ब्याजदर उच्च रहेको देखिन्छ । २०७५ भदौबाट लागू भएको मुलुकी देवानी संहिताले साहूले ऋणीसँग साँवा रकमको वार्षिक बढीमा १० प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था गरेको थियो । हुन त यो व्यवस्था अनौपचारिक क्षेत्रको लेनदेनमा मात्र लागू हुने र बैंकिङ क्षेत्रमा यो ऐन आकर्षित नहुने उल्लेख भएकाले बैंकको तरलतामा कुनै प्रभाव त पर्दैन । तर, यसैका कारण बजारमा अहिले प्रवाह हुने ऋण १० प्रतिशतभन्दा माथि रहेको स्पष्ट देख्न सकिन्छ, जसलाई अहिले नियन्त्रण गर्न कठिन छ । ब्याजदर निर्धारण गर्न नेपाल राष्ट्र बैंकले नीति शायद पहिलोपल्ट ल्याउनुपर्ने अवस्था आयो । यद्यपि सोही नीतिको अधीनमै रहेर पनि अहिले बैंकको ब्याजदर उच्च रहेको छ । यदि यसैगरी यो ब्याजदर बढ्दै जाने हो भने नेपालमा श्रीलंकाको अवस्था छिटै नआउला भन्न सकिँदैन । रेग्मी बैंकर हुन् ।

सम्बन्धित सामग्री

कर्जा वृद्धिको लक्ष्य सम्भव : बैंकर्स संघ

यसैबीच नेपाल बैंकर्स संघले मौद्रिक नीतिले लिएको निजीक्षेत्रतर्फको कर्जा वृद्धिको लक्ष्य प्राप्त हुने बताएको छ । सोमवार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले हाल बैंकिङ क्षेत्रमा रहेको तरलताको अवस्था हेर्दा साढे ११ प्रतिशत कर्जा वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना देखिएको प्रतिक्रिया दिए । पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्दा बैंकिङ क्षेत्रको तरलतामा सुधार भइरहेको उनको भनाइ छ । अहिलेको हिसाबमा ५६५ अर्ब रुपैयाँले कर्जा बढाउने लक्ष्य राखिए पनि समयक्रममा ७०० अर्ब रुपैयाँसम्म हुन जाने केसी बताउँछन् । कर्जा वृद्धि लक्ष्य प्राप्त गर्न सम्भव भए पनि केही चुनौती रहेको उनको भनाइ छ । यसअघि आव २०७७/७८ मा ८०० अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार भएको स्मरण गर्दै केसीले यसबाहेकका वर्षहरूमा ४७३ अर्बभन्दा बढी कर्जा विस्तार नभएको जानकारी दिए । घरकर्जाको सीमा बढाइएकाले यो क्षेत्रमा लगानी बढ्ने विश्वास अध्यक्ष केसीको छ । ‘घरकर्जामा सीमा बढ्दा निर्माण क्षेत्र चलायमान भई समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेछ,’ उनले भने । कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा लैजानुपर्ने राष्ट्र बैंकको निर्देशन कार्यान्वयनले वास्तविक क्षेत्रको वृद्धिमा सहयोग पुग्ने केसीको भनाइ छ । आगामी दिनमा ब्याजदर घट्ने पनि केसीले बताए । ब्याजदरमा भद्र सहमति तोड्ने निर्णयसँगै बैंकहरूबीच स्वस्थ प्रतिस्पर्धा बढ्दै गएको भन्दै यसको प्रभाव दीर्घकालसम्म सकारात्मक रहने उनले बताए । ब्याजदर तोक्ने जिम्मा बजारलाई नै दिँदा निक्षेपकर्तालाई फाइदा हुने र यसले निक्षेप संकलनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।  यस वर्षको मौद्रिक नीतिलाई संघले सन्तुलित भनेको छ । ४ दशमलव ५ प्रतिशत निक्षेप संकलनको दर र ७ दशमलव ५ प्रतिशत बैंकदरले मुद्रा बजारमा हुने उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा संघको छ । चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरवलोकन गर्ने घोषणाले वास्तविक क्षेत्रको विस्तारमा योगदान हुने बताइएको छ ।  निष्क्रिय कर्जाको विषयमा मौद्रिक नीतिले सम्बोधन नगरेकोमा भने संघले गुनासो गरेको छ । पछिल्लो त्रैमासमा निष्क्रिय कर्जामा केही सुधार देखिए पनि आगामी दिनमा राष्ट्र बैंकले निष्क्रिय कर्जाको विषयलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने संघको धारणा छ । बैंकिङ कसुर तथा सजाय ऐन संशोधन भए यो क्षेत्रमा काम गर्न थप सहज हुने संघको घारणा छ ।

कर्जाको ब्याजदर वृद्धिको प्रभाव – आन्दोलनको तयारीमा उद्योगी/व्यवसायी

कर्जाको ब्याजदर निरन्तर बढ्दै गएपछि उद्योगी/व्यवसायी रुष्ट बनेका छन् । अर्थतन्त्रलाई संकटमा जानबाट रोक्ने नाममा वाणिज्य बैंकहरूले निरन्तर कर्जाको ब्याज बढिरहेको छ । फलस्वरूपः पछिल्लो २ वर्षको अवधिमा सतप्रतिशतसम्म कर्जाको ब्याजदर बढेको छ । यससँगै, सस्तोमा ऋण लिएर उद्योग व्यवसायमा लगानी गरेका व्यवसायी रुष्ट बनेका हुन् ।वाणिज्य बैंकहरूको समूह नेपाल बैंकर्स एसोसिएसनले कात्तिक महिनादेखि कर्जाको ब्याजदर करिब १८ प्रतिशतसम्म पुर्याउने निर्णय गरिसकेको छ । यसका लागि संघले बेस रेट कम्तिमा ०.५ प्रतिशतल

अमेरिकामा ३० वर्षपछि सबैभन्दा धेरै बढ्यो ब्याजदर, विश्वभर कस्तो पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले व्याजदर ३० वर्षयताकै सबैभन्दा धेरै पुर्‍याएको छ । बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै करिब ३० वर्षयता सबैभन्दा धेरै ब्याजदर वृद्धिको घोषणा गरेको बीबीसीले जनाएको छ । अमेरिकाले मुख्य ब्याजदरलाई प्रतिशत विन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १.५ प्रतिशतदेखि १.७५ प्रतिशतको दायरामा पुर्‍याउने बताएको छ । गत […]

अनावश्यक आयात रोक्न ब्याजदर बृद्धि गर्यौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको तर्क गरेका छन् । मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थतन्त्रमा नै गम्भिर संकट पर्ने देखिएपछि ब्याजदर वृद्धिको स्वीकृति दिनुपरेको गभर्नर अधिकारीको भनाइ छ । आइतबार उद्योग वाणिज्य महासंघले राजधानीमा  आयोजना गरेको पेट्रोलियम पदार्थको तीब्र आयात र यसले पार्न सक्ने आर्थिक प्रभाव विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्

फेडको ब्याजदर वृद्धिको प्रभाव : आकाशियो एशियाली शेयर बजार

चैत ३, टोकियो । एशियाली शेयर बजारमा बिहीवार हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अघिल्लो दिन ब्याजदर बढाएपछि बुधवारको कारोबारमा अमेरिकी शेयर बजारमा हरियाली छाएको थियो । बिहीवार सोको प्रभाव एशिया क्षेत्रका शेयर बजारमा देखिएको हो । बुधवार बजार बन्द हुँदा नाष्डाक करीब ४ प्रतिशतले बढेको थियो । एसएण्डपी५०० चाहीं २ प्रतिशतभन्दा धेरै माथि आएर बन्द भएको थियो । दाउ जोन्समा पनि साढे १ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको थियो ।  फेड कोभिडका कारण खुकुलो बनाएको मौद्रिक नीति धमाधम कसिलो बनाउने बाटोमा छ ।  उक्त दिन बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक ३ दशमलव ४६ प्रतिशतले बढेर २ हप्तायताकै उच्च स्तरमा उक्लिएको थियो । दक्षिण कोरियामा पनि कोस्पी  परिसूचक १ दशमलव ३३ प्रतिशतले बढेको थियो । अष्ट्रेलियामा एएसएक्स २०० १ दशमलव ४ प्रतिशतले बढेको थियो ।  हङकङमा हाङशेङ परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतमाथि आएर बन्द हुँदा चीनमा साङ्हाई कम्पोजिटमा १ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको थियो । भारत, सिंगापुर, थाइल्यान्डलगायतका बजार पनि हरियालीमै आएर बन्द भएका थिए ।  अमेरिकामा शेयर बजार बिहिवार पनि बढ्ने शेयर फयूचर्सले देखाएका छन् । फेडले महँगी नियन्त्रण गर्न ब्याजदर आक्रामक रुपमा बढाउने भनेपनि ब्याजदर वृद्धिको प्रभावलाई सहन अर्थतन्त्र पर्याप्त रुपमा मजबूत रहेको फेड अध्यक्षले बताएपछि शेयर बजार सुदृढ रहेको हो ।  रुस र युक्रेन बीच युद्धविरामसम्बन्धी वार्तामा आशा जाग्दा पनि लगानीकर्ताहरु जोखिमयुक्त सम्पत्तिप्रति आकर्षण बढ्दा शेयर बजारले टेवा पाएको हो । लगानीकर्ताका मनोबल सुधार आएको भएपनि डलरको भाउ भने बढ्न सकेको छैन । ब्याजदर वृद्धि विश्लेषकहरुले गरेको अपेक्षा अनुरुप भएकोले पनि डलर बढ्न सकेन । यस वर्ष फेडले ब्याजदर ६ पटकसम्म बढाउने देखिएको छ । कमोडिटिज बजारमा बिहिबार कच्चा तेलको भाउ बढेका छन् । सुनमा पनि वृद्धि देखिएको छ । चाँदि, तामा, प्लाटिनमलगायत कमोडिजिट पनि हरियालीमा छन् ।  एजेन्सी

अमेरिकी केन्द्रीय बैंकले बढायो ब्याजदर : उपभोक्तादेखि व्यवसायसम्मलाई असर

चैत ३, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ । बैंकले बुधवार सन् २०१८ यता पहिलो पटक ब्याजदर बढाएको हो । कोरोना भाइरसको महामारी विरुद्धको लडाईदेखि चर्को मुद्रास्फीति र युक्रेनी युद्धका कारण उत्पन्न आर्थिक जोखिमहरु कम गर्न बैंकले आक्रामक योजना अगाडि सारेको छ । बैंकको ब्याजदर निर्धारक समितिले एक चौथाई प्रतिशत अंकले ब्याजदर बढाएको छ । यसको प्रभाव अमेरिकी उपभोक्तादेखि व्यवसायसम्म देखिनेछ । मुद्रास्फीति विरुद्ध लड्नका नीति निर्माताहरुले ब्याजदर धमाधम बढाउने संकेत गरेका छन् । केही नीतिनिर्माताहरुले आक्रामक बाटो अपनाउने  पक्षमा देखिएका छन् । यस वर्षको अन्त्यसम्ममा ब्याजदर बढेर १ दशमलव ७५ प्रतिशत देखि २ प्रतिशतसम्म  पुग्ने अनुमान अधिकांश नीति निर्माताहरुको छ ।  यसको अर्थ फेडको आगामी ६ ओटा नीतिगत बैठकमा एक चौथाई प्रतिशत ब्याजदर बढ्नेछ । आगामी वर्ष भनेन ब्याजदर २ दशमलव ८ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्र ब्याजदर वृद्धिको प्रभाव सहन सक्ने अवस्थामा भएको र अहिलेको सुदृढ कर्मचारी भर्ती र तलब वृद्धि कायम हुने फेडका अध्यक्ष जेरोम पावेलले बताएका छन् । अहिले फेडले सारा ध्यान महँगीका कारण आम अमेरिकी परिवारमा परेको प्रभाव कम गर्नपतर्फ लगाउनु पर्ने उनको भनाइ छ । पछिल्लो ब्याजदर वृद्धिपछि अमेरिकामा मँहगी सन् २०२४ सम्ममा २ प्रतिशत माथि रहने अनुमान छ ।  महँगी घटेन भने अधिकारीहरु ब्याजदर बढाउन हिच्किचाउन नहुने पावेलले भनेका छन् । ब्याजदर बढेसँगै घर, गाडी लगायतको ब्याजदर बढेपछि यस्ता ठूला खर्चको माग कटौती हुन्छ । यसले गर्दा आर्थिक वृद्धिदर सुस्ताउँछ भने र बेरोजगारी बढ्ने सम्भावना पनि हुन्छ । फेडले ब्याजदर बढाएपछि अमेरिकी डलर बलियो हुन्छ । डलरको तुलनामा अन्य मुद्राहरु कमजोर हुन थाल्छन् । विश्वका अधिकांश केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्ने गरेका छन् । एजेन्सी

शेयर बजारमा ब्याजदर वृद्धिको प्रभाव : एकैदिन १००.६७ अंकले घट्यो नेप्से परिसूचक

फागुन १, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०० दशमलव ६७ अर्थात् ३ दशमलव ५९ प्रतिशत घटेको छ ।  नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२७ धितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयरको ८१ हजार ८३७ पटकमा रू. ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० दशमलव ६४ बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२७ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रको मूल्य बढेको छ भने बाँकी सबै धितोपत्रको मूल्य घटेको हो । कारोबारमा आएका २२७ ओटा धितोपत्र मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य घटेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ३७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ मा झरेको हो ।  त्यसैगरी, दास्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत घटेर प्रतिकित्ता रू. ५०० कायम भएको छ । यस्तै, सर्वाधिक शेयर खरीदविक्री अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ  । कम्पनीको रू. ३२ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. २ करोड ३९ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । आइतवार सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ४७ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक २ दशमलव ३९ प्रतिशत, व्यापार समूहको २ दशमलव २६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको ३ दशमलव ४९ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव २३ प्रतिशत, वित्त समूहको ४ दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ६१ प्रतिशत, अन्य समूहको ३ दशमलव १७ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ४९ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव ९१ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ९५ प्रतिशत  र लगनी समूहको परिसूचक ५ दशमलव शून्य ३ प्रतिशत घटेको छ ।  बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएसँगै आइतवार लगानीकर्ता बढी प्यानिक भएको देखिन्छ । सोही कारण एकै दिन नेप्से परिसूचक १०० अंकको गिरावट आएको छ ।  बैंक तथा वित्तीय संस्थाले फागुन महीनाका लागि नयाँ ब्याजर सार्वजनिक गरेका छन् । माघ महीनामा १० दशमलव ५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको ब्याजदर फागुन महीनामा अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ पुगेको छ ।

ब्याजदर वृद्धिको असरले नेप्से सूचक २५ सय विन्दुमा

सेयर धितो कर्जामा गरिएको कडाइसँगै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार २५ सय विन्दुमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भई ब्याजदर वृद्धि भए पनि सेयर बजारमा समेत प्रभाव देखिएको छ । पछिल्लो दुई दिनमा गरी सेयर बजार डेढ सय अंकले गिरावट आएको छ । गत भदौ १ गते […]