जाजरकोटका नवराज विकसँगै मारिएका छ जना युवाका आमा यतिबेला न्याय माग्दै राजधानी आउनुभएको छ । उहाँहरू सर्वोच्च अदालतसमेत पुग्नुभएको छ ।
सर्वोेच्च अदालतमा शुक्रबार थुनछेक बहस हुने खबर पाएपछि पीडित परिवार काठमाडौँ आएका हुन् । न्यायका लागि आफूहरू काठमाडौँ आएको नवराजकी आमा उर्मिला विकले जानकारी दिनुभयो ।
घटना भएलगत्तै ३४ जना आरोपी पक्राउ परेकामध्ये चार जना रुकुम पश्चिम जिल्ला अदालतले र चार जना उच्च अदालत सुर्खेतको आदेशले धरौटीमा छुटेका छन् । बाँकी २६ जनामध्ये पनि चार जनालाई धरौटीमै छुटाउन खोज्दा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सो मुद्दा सर्वोच्च अदालत आइपुगेको हो ।