बीमा कम्पनीको लगानी दायरा वृद्धिको अर्थ

बीमा कम्पनीहरूले आफ्नो ठूलो अंश निक्षेपमा लगानी गरिरहेका बेला नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले लगानी निर्देशिकाको प्रावधानबाहिर पनि लगानी गर्ने बाटो खोलेको छ । निर्देशिका संशोधनपछि लगानीको सीमा र दायरा वृद्धि अहिलेको आवश्यकता हो त भन्ने प्रश्नसँगै उब्जिएको छ । लगानीको दायरा वृद्धिले बीमा कम्पनीहरूलाई लगानी गर्न केही सहज हुन सक्ला तर बीमा व्यवसाय भनेको जोखिमको व्यवसाय भएकाले निक्षेपजस्तो सहज उपकरणमा लगानी गर्नु सही रणनीति हो त भन्ने प्रश्न जायज हो । सँगै के लगानीको सीमा र दायरा विस्तार गर्नुपर्छ भन्ने आवाज बीमा कम्पनीहरूको हो वा होइन भन्ने पनि स्पष्ट छैन ।  बीमा कम्पनीहरूसँग दिगो स्रोत हुने भएकाले दीर्घकालमा उच्च प्रतिफल दिने जलविद्युत्लगायत विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्छन् । यस्तो लगानीले कम्पनीहरूलाई मात्र होइन, मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ । त्यतिमात्र होइन, बैंकमा निक्षेप राख्दा ब्याजदरमा मोलमोलाई हुने गरेको छ । अहिले बीमा कम्पनीले संकलन गरेको निक्षेपका लागि बैंकहरूले बीमा कम्पनीलाई हरहमेशा खुशी राख्नुपर्ने अवस्था छ । बैंकहरूको दिने निक्षेपको ब्याजदरमा सानो फेरबदल आउनेबित्तिकै बीमा कम्पनीहरूको निक्षेप त्यतै सर्ने गरेको छ, त्यसले गर्दा बैंकहरूलाई अप्ठ्यारो परेको महसूस हुँदै आएको छ । त्यही कारणले बजारलाई पनि प्रभावित पार्ने गरेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को असोजसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ६ खर्ब र निर्जीवन बीमा कम्पनीहरूले ६० अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये जीवन बीमा कम्पनीको ७७ प्रतिशत र निर्जीवनको ७९ प्रतिशत रकम बैंक, वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ । मुद्दती निक्षेपमध्ये सबैभन्दा बढी लगानी वाणिज्य बैंकहरूमा छ । बीमा कम्पनीहरूले लगानी विविधीकरण गर्न नपाएको गुनासो गरेपछि तत्कालीन बीमा समितिले २०७५ चैतमा लगानी निर्देशिका संशोधन गर्दै कम्पनीहरूलाई मुद्दती निक्षेप र शेयरका अतिरिक्त घरजग्गा व्यवसाय र जलस्रोत, कृषि, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेको थियो । तर, निर्देशिका परिवर्तन भएको ५ वर्ष बितिसक्दा पनि नयाँ क्षेत्रमा कम्पनीहरूको लगानी नगन्य छ । प्राधिकरणले पनि केही यस्ता क्षेत्र तोकेर तिनमा निश्चित प्रतिशत लगानी गर्न बाध्यकारी व्यवस्था गरिदिएको भए बल्ल यो निर्देशन प्रभावकारी हुन्थ्यो । प्राधिकरणले केही सीमित क्षेत्रमा मात्रै लगानी गर्ने बाटो खुलाएको थियो । त्यसो हुँदा जोखिमयुक्त क्षेत्रमा लगानी गर्न इच्छा पनि देखाएका थिएनन् । तर, जति बढी जोखिम हुन्छ त्यति नै मुनाफा बढी हुने क्षेत्रहरू पनि छन् । लगानी निर्देशिका संशोधन गर्दै प्राइभेट इक्विटी, फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने खुला गर्नुका साथै शेयरमा लगानी गर्न पाउने सीमा पनि बढाइएको छ । निर्देशिका संशोधनपछि लगानीको दायरा विस्तार गर्नुपर्ने काम बीमा कम्पनीको हो कि  होइन ?, लगानीको दायरा वृद्धि भएपछि के हुन्छ ?, बीमा कम्पनीहरूले संकलन गरेको रकमलाई किन बैंकहरूको ऋणपत्रमा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएन ? भन्ने जस्ता प्रश्न उठेका छन् । त्यसैले यस्ता प्रश्नको उत्तर नआईकन लगानी निर्देशिका संशोधन गर्नुको कुनै अर्थ देखिँदैन । कम्तीमा बीमा कोषको ५–१० प्रतिशत रकम बैंकका ऋणपत्रमा अनिवार्य लगानी गर्ने व्यवस्था हुनुपथ्र्यो ।  नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्र घोषणा गरी ती क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यसले गर्दा नाममात्रकै फाइदा भए पनि बैंकहरूले ती क्षेत्रमा लगानी गरिरहेका छन् र त्यसको लाभ अर्थतन्त्रले लिएको छ । प्राधिकरणले पनि केही यस्ता क्षेत्र तोकेर तिनमा निश्चित प्रतिशत लगानी गर्न बाध्यकारी व्यवस्था गरिदिएको भए बल्ल यो निर्देशन प्रभावकारी हुन्थ्यो । यतिमात्र होइन, विज्ञहरूले इक्विटी, फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने खुला गर्नुका साथै शेयरमा लगानी गर्न पाउने व्यवस्थाले बीमा कम्पनीहरूमा जोखिम बढाएको समेत प्रतिक्रिया दिएका छन् । यसरी अरूलाई जोखिम व्यवस्थापन गर्ने दायित्व बोकेका बीमा कम्पनीहरूको जोखिम व्यवस्थापन प्रणाली कमजोर छ भन्ने कुरा कम्तीमा बीमा कम्पनीहरूको हकमा सुहाउँदैन । प्राधिकरणले यस्ता पक्षमा ख्याल नगरी निर्देशिका संशोधन गर्नुको कुनै अर्थ हुँदैन । 

सम्बन्धित सामग्री

तीन महिनाभित्र लेखापरीक्षण गराउन बीमा संस्थान र कम्पनीलाई अर्थको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । मन्त्रालयमा आज संस्थान र कम्पनीका प्रतिनिधिलाई बोलाएर २०८० साल वैशाख १६ सम्म लेखापरीक्षण सम्पन्न गर्न अर्थले निर्देशन दिएको हो । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ देखि लेखापरीक्षण गरेका […]

घरजग्गामा लगानी गर्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं । बैंक, वित्तीय संस्थाले आकर्षक मान्ने गरेको घरजग्गा व्यवसायमा लगानी गर्न बीमा कम्पनीहरू भने अनिच्छुक देखिएका छन् । नियामक निकाय बीमा समितिले २०७५ सालमा लगानीसम्बन्धी नयाँ निर्देशिका जारी गरेर बीमा कम्पनीहरूलाई घरजग्गा (रियल इस्टेट) व्यवसायमा लगानी गर्न बाटो खोलिदिएको थियो । त्यस्तो व्यवस्था गरेको ४ वर्ष बितिसक्दा पनि बीमा कम्पनीले घरजग्गा व्यवसायमा लगानी गर्न चासो देखाएका छैनन् । हालसम्ममा एउटा कम्पनीले मात्र घरजग्गा कारोबारमा लगानी गरेको देखिएको छ । हाल नेपालमा २० निर्जीवन, १९ जीवन र २ पुनर्बीमा गरी ४१ बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्र घरजग्गा कारोबारमा लगानी गरेको छ । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार उक्त कम्पनीले चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्ममा घरजग्गामा ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । नेशनल लाइफबाहेक अन्य कम्पनीले घरजग्गा व्यवसायमा लगानी गरेका छैनन् । गत पुससम्ममा सबै बीमा कम्पनीले गरी विभिन्न क्षेत्रमा ५ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । उक्त लगानीमा सबैभन्दा बढी अंश जीवन बीमा कम्पनीको छ । १९ ओटा जीवन बीमा कम्पनीले ४ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । गत पुससम्ममा २० निर्जीवन बीमा कम्पनीले ५२ अर्ब २५ करोड र २ पुनर्बीमा कम्पनीले २५ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीले अधिकांश रकम बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । अन्यको तुलनामा छोटो समयमा बढी प्रतिफल दिने घरजग्गा कारोबारमा भने बीमा कम्पनीहरूको आकर्षण देखिएको छैन । बीमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोत नै बीमितबाट संकलित रकम लगानीबाट प्राप्त हुने प्रतिफल हो । बीमितबाट संकलित बीमाशुल्क कम्पनीहरूले उद्योग, व्यवसाय, बैंक निक्षेपलगायत क्षेत्रमा लगानी गर्छन् । त्यसबाट हुने प्रतिफल नै बीमा कम्पनीहरूको मुख्य आम्दानी हो । तसर्थ, कस्तो क्षेत्रमा लगानी गरिएको छ भन्ने कुराले आम्दानीमा ठूलो अर्थ राख्छ । बीमा समितिले २०७५ सालमा लगानी नयाँ निर्देशिका ल्याएर बीमा कम्पनीहरूले लगानी गर्न पाउने क्षेत्र फराकिलो बनाएको थियो । निर्देशिकामार्फत बीमा कम्पनीहरूले आफ्नो कुल लगानीयोग्य रकम (टेक्निकल रिजर्भ) को ५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न पाउने व्यवस्था गरिएको हो । यो प्रावधान बाध्यकारी भने होइन । कम्पनीहरूलाई घरजग्गामा लगानी गर्ने बाटो खोल्न समितिले नीतिगत व्यवस्था गरेको हो । बीमा कम्पनीका उच्च अधिकारीहरू भने घरजग्गामा लगानी गर्न इच्छुक नै नभएको भन्न नमिल्ने बताउँछन् । प्राविधिक समस्याले गर्दा घरजग्गामा लगानी नगरेको उनीहरूको तर्क छ । ‘समितिको नयाँ निर्देशिका कार्यान्वयन गर्ने तयारीको क्रममा कोरोना महामारी आयो । कोरोनापछि विभिन्न कारणले अर्थतन्त्र थप समस्यामा पर्‍यो,’ एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्त भन्छन्, ‘त्यसमाथि नेपालको घरजग्गा मूल्य र कारोबार भोलाटाइल छ । त्यसकारण तत्काल घरजग्गा लगानी नबढाइएको हो ।’ समितिले तोकेको अनुपातमा लगानी गर्दा रकम नै कम हुने पनि कम्पनीहरूको भनाइ छ । अहिले जीवन बीमा कम्पनीसँग लगानीयोग्य रकम ७ खर्ब ६० अर्ब रुपैयाँ छ । त्यसअनुसार औसतमा एक कम्पनीसँग टेक्निकल रिजर्भ २३ अर्ब रुपैयाँ हाराहारी छ । २३ अर्बको ५ प्रतिशत रकम भनेको १ अर्ब १५ करोड हुन्छ । यता निर्जीवन बीमा कम्पनीहरूको टेक्निकल रिजर्भ १ अर्ब ५० करोड रुपैयाँ हाराहारी छ । त्यसको ५ प्रतिशत भनेको ७ करोड ५० लाख रुपैयाँ हो । त्यो रकम घरजग्गाका लागि न्यून हुने हुँदा बीमा कम्पनीहरूले लगानी गर्न नसकेको पन्त बताउँछन् । ‘त्यसमाथि नयाँ कम्पनीसँग असाध्यै थोरै लगानीयोग्य पूँजी छ । त्यसकारण घरजग्गामा लगानी गर्न समस्या छ,’ उनले भने, ‘हामी घरजग्गामा लगानी गर्न इच्छुक छौं । यो हाम्रा लागि ठूलो अवसर पनि हो । किनकि घरजग्गामा लगानीबाट बढी प्रतिफल पाइने सम्भावना पनि हुन्छ । तर, जम्मा ५/६ करोड रुपैयाँ लगेर कहाँ लगानी गर्ने ?’ पर्याप्त पूँजी नभएकाले बीमा कम्पनीहरूले घरजग्गामा लगानी गर्न नसकेको पन्तले थप स्पष्ट पारे । केही नीतिगत कुरा खुकुलो बनाए कम्पनीहरू लगानी गर्न तयारी अवस्थामा रहेको पनि उनले बताए । प्राइमलाइफ इस्योरेन्सका सीईओ मनोजकुमार भट्टराई पनि बीमा कम्पनी एक्लैले घरजग्गामा लगानी गर्ने अवस्था नभएको बताउँछन् । ‘पूँजीको आधारमा जीवन बीमाको हकमा केही कम्पनी एक्लै लगानी गर्न सक्ने अवस्थामा छन् । तर, यो क्षेत्रमा लगानी गरे पनि नियमित आम्दानी हुँदैन । घरजग्गा विक्री गरेपछि मात्र आम्दानी हुने हो । त्रैमासिक रूपमा ब्यालेन्स सिटमा देखाउने गरी हुँदैन । त्यसले गर्दा कम्पनीलाई नाफा कमाउन पनि चुनौती हुन्छ ।’ भट्टराई पनि यो अवस्थामा समितिले केही नीतिगत विषयलाई सम्बोधन गरिदिनुपर्ने बताउँछन् । ‘त्यसपछि हामी लगानी गर्न तयार छौं,’ उनले भने । घरजग्गामा टेक्निकल रिजर्भको ५ प्रतिशत नभएर रकमको आधारमा लगानी गर्न दिनुपर्ने उनको भनाइ छ । ‘त्यसपछि कम्पनीहरूले आफ्नो क्षमताअनुसार लगानी गर्न सक्छन्,’ सीईओ भट्टराईले भने, ‘साथै, धेरै पूँजी भएका कम्पनीलाई पनि घरजग्गामा लगानी गर्न अनिवार्य गर्नुपर्छ ।’ यस्तै, कन्सोर्टियम (सहलगानी) मार्फत कम्पनीहरूले संयुक्त रूपमा घरजग्गामा लगानी गर्न पाउनुपर्ने उनको भनाइ छ । ‘लगानीकै विषयमा कुरा गर्ने हो भने त सरकारले बीमाका लागि छुट्टै बोन्ड जारी गर्नुपर्छ । त्यस्तो व्यवस्था गरे बीमा कम्पनीहरूको प्रतिफल पनि राम्रो हुन्थ्यो,’ उनले भने, ‘सरकारले पनि समयसम्म पूँजी परिचालन गर्न पाउने थियो ।’

बीमा कम्पनी थप्नुको औचित्य

नेपालका नीतिनिर्मातामा दूरदृष्टि छैन र यस्ता निर्णयमा स्वार्थ अन्तर्निहित हुन्छ भन्ने भनाइलाई बीमा समितिको कामले पुष्टि गरेको छ । नयाँ कम्पनी सञ्चालनमा आएको २ वर्ष पनि नबित्दै पूँजीवृद्धिको नाममा मर्जरमा जान बाध्य पार्ने नीति समितिले लिएको छ । हिजो के आधारमा त्यति थोरै पूँजीमा कम्पनी खोल्न दिइयो भन्ने कुराको जवाफ समितिसँग छैन । अहिले कम्पनीको पूँजी किन बढाउन पर्‍यो भन्ने कुराको पनि पर्याप्त तर्कपूर्ण जवाफ पाइँदैन । संख्या घटाउन किन परेको हो भन्ने कुराको औचित्यपूर्ण जवाफ पनि समितिसँग छैन । त्यसैले बीमा समितिले केही व्यक्तिको स्वार्थ पूरा हुने गरी यी सबै काम गर्दैछ कि भन्ने आशंकालाई बल मिलेको छ । नियामक निकाय स्वायत्त हुँदा राम्रोसँग काम गर्न पाउँछन् । तर, राष्ट्र बैंक र बीमा समिति अर्थ मन्त्रालयभित्रको विभागजस्ता भएकाले सरकारको स्वार्थको शिकार भएको पाइन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पूँजी वृद्धि गर्दा त्यसको असर अहिलेसम्म परिरहेको छ । केहीको विश्लेषणमा यही पूँजी वृद्धि बाध्य पारिएकै कारण बजारमा तरलताको अभाव भएको हो । राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गर्दै बोनस शेयर दिन प्रोत्साहित गरेपछि बजारमा झनै नगद कम हुन थालेको हो । राष्ट्र बैंकले चार गुणा बढी चुक्ता पूँजी बढाउन लगाएर बैंकहरूलाई ठूलो पूँजीकोषको भारी बोकाएको छ । त्यही भएर बैंकहरूको मुनाफामा संकुचन आएको छ । नाफा कमाउनैपर्ने दबाबमा परेका बैंकहरूले वित्तीय स्थायित्वलाई भन्दा मुनाफा हेरेर लगानी गरे । त्यही कारण घरजग्गा, सवारीसाधन र आयातका लागि कर्जा प्रवाह बढी गरे । यही क्षेत्रका कारण अर्थतन्त्र सुन्निएर समस्या आयो र अहिले विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थाल्यो । बैंकको लगानी क्षमता बढाउन, नियमन गर्न सजिलो बनाउन आदि तर्क राष्ट्र बैंकले नदिएको होइन । तर, ती सबै उसको कमजोरीको परिणति हो । यही कमजोरी अहिले बीमा समितिले पनि देखाउन थालेको छ । मर्जरमा जाऊन् भनेर पूँजी वृद्धिको योजना ल्याए पनि एकाधबाहेक धेरै कम्पनीले हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्ने सम्भावना उच्च छ । बैंक तथा वित्तीय संस्थाहरूमा पनि यस्तै भएको थियो । केही नयाँ कम्पनीले त सर्वसाधारणलाई जारी गर्नुपर्ने शेयर पनि जारी गर्न भ्याएका छैनन् । बीमा जोखिमको रक्षावरण गर्ने अनिवार्य माध्यम भए पनि नेपालमा करकापमा मात्रै बीमा गर्नेको संख्या धेरै छ । सवारीसाधनको बीमा र बैंकबाट कर्जा लिँदा घरजग्गाको बीमा अनिवार्य गरिएकाले निर्जीवन बीमा कम्पनी खोल्न प्रतिस्पर्धा जस्तै भएको हुन सक्छ । यस्तोमा धेरै बीमा कम्पनीहरू खोल्न स्वीकृति दिन आवश्यक थियो त ? भन्ने प्रश्न उठेको छ । संख्या बढाउने पनि समिति र मर्जरबाट संख्या घटाउन खोज्ने पनि समिति, योभन्दा विरोधाभास र भद्रगोल कार्यशैली के हुन सक्छ ? कुनै पनि नीति कार्यान्वयनमा ल्याएपछि कम्तीमा पनि एकाध दशक त्यसको परीक्षण हुन जरुरी छ । त्यसपछि मात्रै त्यसको समीक्षा गरेर पुनर्विचार गर्नु उपयुक्त हुन्छ । तर, नेपालमा कुनै पनि नीति नेतृत्व परिवर्तन हुनासाथ परिवर्तन गरिहाल्ने ज्यादै खराब बानी पाइन्छ । यसले कसैलाई पनि व्यवसाय गर्न प्रेरित र प्रोत्साहित गर्दैन । नियामक निकाय स्वायत्त हुँदा राम्रोसँग काम गर्न पाउँछन् । तर, राष्ट्र बैंक र बीमा समिति अर्थ मन्त्रालयभित्रको विभागजस्ता भएकाले सरकारको स्वार्थको शिकार भएको पाइन्छ । गभर्नर निलम्बन प्रकरण यसैको उदाहरण हो भने बीमा समितिले गरेका निर्णय पनि यसकै प्रभाव हो भन्ने देखिन्छ । अतः कुनै पनि नीति लागू गर्दा पूर्ण अध्ययन र अनुसन्धान गरेर शुरू गरिनुपर्छ । हो, लामो समयसम्म कुनै पनि नीति यथावत् रहन सक्दैन । तर, पर्याप्त अध्ययनविना परिवर्तन गर्नु पनि हुँदैन । समितिको हचुवा निर्णयले बीमा क्षेत्र झनै पछि पर्ने मात्र होइन, अर्थतन्त्रमै गम्भीर समस्या नथपिएला भन्न सकिँदैन । अहिले जसरी समितिले बीमा कम्पनीको संख्या घटाउन खोजेको छ, त्यसको आधारमा यसअघि बीमा कम्पनीको संख्या किन वृद्धि गरियो भन्ने औचित्य पुष्टि हुन सकेको छैन । त्यसैले आगामी दिनमा यस्ता उदाहरणबाट पाठ सिक्न सबैका लागि जरुरी हुन्छ ।

कोरोना बीमामा नियामक र बीमा कम्पनी मिलेमतो, अर्थ मन्त्रालय रमिते

काठमाडौँ - कोभिड-१९ सुरु हुने ताका नेपालमा कोरोना बीमाका लागि सरकारको पहल र बीमा कम्पनीको सहमतिमा कोरोना बीमा सम्बन्धि कोरोना बीमा मापदण्ड २०७७ ल्याएर लागू गरी सर्वसाधारणबाट कोरोनाको बीमा गराई रकम उठाइयो । पहिला १ लाख रुपैयाँ बीमांकको लागि १ हजार तथा ५० हजारको लागि ५ सय रुपैयाँ शुल्क लिने एवं परिवारको सगोलको बीमा १…

कोरोना बीमामा नियामक र बीमा कम्पनी मिलेमतो, अर्थ मन्त्रालय रमिते

काठमाडौँ - कोभिड-१९ सुरु हुने ताका नेपालमा कोरोना बीमाका लागि सरकारको पहल र बीमा कम्पनीको सहमतिमा कोरोना बीमा सम्बन्धि कोरोना बीमा मापदण्ड २०७७ ल्याएर लागू गरी सर्वसाधारणबाट कोरोनाको बीमा गराई रकम उठाइयो । पहिला १ लाख रुपैयाँ बीमांकको लागि १ हजार तथा ५० हजारको लागि ५ सय रुपैयाँ शुल्क लिने एवं परिवारको सगोलको बीमा १…

दलीय भागबण्डामा बीमा कम्पनीको लाइसेन्स बाँड्ने प्रकृया तत्काललाई रोकियो

दलीय भागबण्डा गरी नयाँ बीमा कम्पनीको लाइसेन्स बाँड्ने प्रकृया सरकारले तत्काललाई रोकेको छ । सत्तासाझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको खबर रातोपाटीले सार्वजनिक गरेको थियो ।लाइसेन्स बाँड्ने प्रकृया पुऱ्याउन  तिहारअघि नै सूचना सार्वजनिक गर्न खोजेको बीमा समिति तत्काललाई पछि हटेको हो । ‘सूचना निकाल्ने अन्तिम तयारी थियो, तर समाचार सार्वजनिक भएसँगै वित्तीय क्षेत्रबाट सरकारको चरम आलोचना भयो, अन

दलीय भागबण्डामा नयाँ बीमा कम्पनी खोल्ने लाइसेन्स बाँड्ने तयारी

सत्तासाझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको छ । ठूलो रकम लेनदेन गरी लाइसेन्स बाँड्ने प्रकृयामा अर्थ मन्त्रालय र बीमा समितिले यतिखेर निकै सक्रियता देखाएका छन् । समितिका एक अधिकारीका अनुसार नयाँ लाइसेन्स वितरण गर्न तिहारअघि नै सूचना निकालिँदैछ ।नेपालमा अहिले नै १९ वटा जीवनबीमा र २० वटा निर्जीवन बीमा कम्पनी छन् । यी मध्ये कतिपय कम्पनीको अवस्था सन्तोषजनक छैन । अहिले फेरि मन्त्रालय र समितिले जीवन बीमाको

बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याइने

जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फा