काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भोलि अर्थात् चैत ९ गतेदेखि १५ दिन रोक्का हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशनअनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको शेयर बिहीवारदेखि रोक्का हुने भएको हो ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भई चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू हुँदै छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् ।
मर्जरपश्चात् बन्ने कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर रहने जानकारी दिइएको छ ।