काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड २१ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म रू. १ करोड २ लाखभन्दा बढी खुद नाफामा रहेको यो कम्पनी यस वर्ष भने सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याउनुपरेकाले नोक्सानीमा गएको हो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष खराब कर्जा संकलन बढाएको छ ।
गत वर्ष रू. ७० हजार मात्र खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ४५ लाखभन्दा बढी खराब कर्जा उठाएको छ । गत वर्ष रू. १ करोड ७८ लाखभन्दा बढी रकम सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले यस वर्ष रू. ९ करोड २१ लाखभन्दा बढी रकम छुट्याएको छ । त्यसैले कम्पनी रू. १२ करोड ४२ लाखभन्दा बढी सञ्चालन घाटामा गएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. १ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफामा रहेको थियो । गत साउनमा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम भएको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्ष रू. ८ लाखभन्दा बढी रहेकोमा यस वर्ष बढेर रू. २ करोड १९ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा करीब ५६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने करीब १५ प्रतिशत कर्जा सापटी लिएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ४९ करोडभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. २६ करोड ३३ लाखभन्दा बढी निक्षेप संकलन गरेको हो । कर्जा प्रवाह भने गत वर्षभन्दा यस वर्ष २६ प्रतिशत बढी रू. १ अर्ब ९१ करोड ३४ लाख भएको हो ।
निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४ दशमलव ६१ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर रू. ६ दशमलव ५० नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ७८ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्