कात्तिक ३०, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थाले प्राप्ति प्रक्रिया पूरा गरी मंगलवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका–१० मा आयोजित कार्यक्रममार्फत दुवै कम्पनीले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता गत चैत ९ गते भएको थियो। त्यसपछि दुवै कम्पनीको चैत ३१ गते आयोजित वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो।
नेपाल राष्ट्र बैंकले पनि आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई गत कात्तिक १ गते अन्तिम स्वीकृति दिएको थियो। एकीकृतपश्चात कम्पनीको चुक्तापूँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ पुगेको छ। कम्पनीले एकीकृत कारोबार शुरु गरेपछि ५२ ओटा जिल्लामा १४९ ओटा शाखा सञ्जालमार्फत सेवा दिने भएको छ।
एकीकृत कारोबार शुभारम्भ गर्दै प्रमुख अथिति एवं नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले आजको मितिसम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ ओटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताए।
उनले केही नीतिगत कुराहरुमा सुधार गर्नुपर्ने धारणा पनि राखे। कार्यक्रममा देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले कम्पनीलाई सबल र सक्षम बनाउँदै अगाडि बढ्ने योजना रहेको बताए।