धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितताको विषय चर्को रूपमा उठ्नान हुन थालेपछि अख्तियारको चासो बढेको छ । उक्त विषयमा छानबिन अघि बढाउने पहलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालय इटहरीको टोलीले विहीबार प्रतिष्ठानमा छापा मारेको छ ।
अख्तियारको केन्द्रीय कार्यालयबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा पाँचजना तथा इटहरीस्थित क्षेत्रीय कार्यालयको समन्वयमा दुई जनासहित सातसदस्यीय टोली प्रतिष्ठान आएको हो । टोलीले खरीद तथा निर्माणसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको छ भने विभिन्न शाखा तथा महाशाखा प्रमुखहरूसँग सोधपुछ गरेको छ । प्रतिष्ठानमा भएका खरीद, निर्माण तथा विद्युत् आपूर्ति लगायत विषयमा छानबिन शुरू गरिएको एसएसपी तामाङले बताए ।
प्रतिष्ठानका प्रमुख चार पदाधिकारीले काम सम्हालेपछि अनियमितता एवं भ्रष्टाचार बढेको तथा अन्य पदाधिकारीले समेत प्रतिष्ठान चुस्त दुरुस्त सञ्चालन गर्न नसकेको भन्दै सम्बद्ध चिकित्सक तथा कर्मचारीले आन्दोलन गरेकाले पनि अख्तियारको ध्यान केन्द्रित भएको बताइएको छ । बीपी प्रतिष्ठान शुद्धीकरणका लागि कर्मचारी, चिकित्सक, विद्यार्थी, विभिन्न फ्याकल्टी, नर्स लगायतको संयुक्त आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले नियमविपरित विभिन्न उपकरण खरीद तथा आफूखुशी क्वार्टर मर्मतको नाममा खर्च गरेको लगायत विषयमा समेत टोलीले छानबिन गर्ने अख्तियार स्रोतले बताएको छ ।