ताप्लेजुङ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरको निर्माण स्थगित भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडासम्म निर्माण भएको कोरिडोर कोभिडका कारण आवश्यक सामग्री ढुवानीमा समस्या भएपछि गत हप्तादेखि रोकिएको हो ।
निषेधाज्ञा लागू भएपछि आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण स्थगित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए । ‘सातओटा एक्स्क्याभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकोमा बिर्तामोडबाट डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको हो,’ उनले भने ।
तमोर कोरिडरमा चार किलोमिटर ट्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए । विस्फोटक पदार्थको प्रयोगले कडा चट्टान फोरेर ट्र्याक खोलिएको छ । रासस