तमोर कोरिडोर निर्माण द्रुत गतिमा

ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर निर्माण द्रुत गतिमा भइरहेको छ । कोरिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ गोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । ‘चीनको रिउ बजारसँग कोरिडोर जोडिनेछ,’ टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्षअघि नै खोल्ने काम भइसकेको छ ।’ सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङ्चुङगोलाको सुकेपानीसम्म कोरिडोर निर्माण गरिएको छ । भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताए । सुनसरीको चतरादेखि ओलाङ्चुङगोलासम्म उक्त कोरिडोर २३० किलोमिटर लामो छ । ओलाङ्चुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर छ । ‘कोरिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ,’ पौडेलले भने । धनकुटाको मूलघाटबाट तमोर कोरिडोर खन्न शुरू गरिएको हो । ओलाङ्चुङगोलामा ३०० मिटर ट्र्याक निर्माण सकिएको छ । तमोर कोरिडोरअन्तर्गत हाल धनकुटा, पाँचथर र ताप्लेजुङमा काम भइरहेको छ । सो खण्डमा १० पुल निर्माणाधीन अवस्थामा छन् । सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर क्षेत्रमा मात्र काम बाँकी छ । तमोर कोरिडोर निर्माण २०६५ सालमा थालिएको हो । सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । सडक निर्माणमा हालसम्म ४० करोड २० लाख खर्च भएको आयोजनाले बताएको छ । सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्नेछ । रासस