चितवन । चालु आर्थिक वर्ष ०७९/८० को वैशाखमा आन्तरिक राजस्व कार्यालय, भरतपुरको कर असुली लक्ष्यभन्दा करिब २८ प्रतिशत कम भएको छ । कार्यालयका अनुसार वैशाखमा विभागले कार्यालयलाई २ अर्ब ६५ करोड ६८ लाख १८ हजार लक्ष्य दिएकोमा १ अर्ब ९२ करोड ३५ लाख ५ हजार रुपैयाँ राजस्व असुली भएको हो । यो लक्ष्यभन्दा करिब २७ दशमलब ६० प्रतिशत कम हो ।
कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्कबाट कर असुली गर्दै आएको छ ।
सबैभन्दा बढी कर असुली अन्तःशुल्कबाट
वैशाखमा कार्यालयले यी सबै शीर्षकमध्ये सबैभन्दा बढी अन्तःशुल्ककबाट कर असुली गरेको छ । जसअनुसार यो शीर्षकबाट १ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विभागले यो शीर्षकको लागि वैशाखमा २ अर्ब २५ करोड ९८ लाख ५० हजारको लक्ष्य दिएको थियो ।
यस्तै आयकरमा १५ करोड १० लाख १४ हजार लक्ष्य दिएकोमा १७ करोड ७२ लाख ६४ हजार रुपैयाँ, बहालकरमा ४२ लाख १ हजार लक्ष्य दिएकोमा २७ लाख १ हजार असुली र ब्याजकरमा २ करोड ३३ लाख १३ हजार लक्ष्य दिएकोमा १ करोड १३ लाख ९० हजार असुली गरेको छ ।
यसैगरी, मूल्य अभिवृद्धि करमा २१ करोड ६४ लाख ५७ हजार लक्ष्य दिएकोमा १५ करोड ८ लाख ४१ हजार रुपैयाँ राजस्व असुली, स्वास्थ्य सेवा करमा १९ लाख ८३ हजार लक्ष्य दिएकोमा १९ लाख ६८ हजार रुपैयाँ असुली भएको छ । यसैगरी शिक्षा सेवा करमा वैशाखमा कुनै पनि कर असुली भएको छैन । यो शीर्षकमा विभागले कुनै लक्ष्य पनि दिएको छैन ।
कार्यालयका सूचना अधिकारी विष्णुबहादुर रावतले देशमा सबै क्षेत्रमा आर्थिक मन्दी भएकोले लक्ष्य अनुसार कर संकलन गर्न नसकिएको जानकारी दिए । ‘यो कार्यालय अधिकांश रूपमा अन्तःशुल्कमा निर्भर छ,’ उनले भने, ‘अहिले मदिराजन्य वस्तुको निकासी पनि कम हुन्छ, माग पनि कम छ ।’
विभागले दिएको लक्ष्य अनुसार कर असुली गर्न नसकिए पनि कार्यालयले आयव्यय विवरण नबुझाउने कम्पनीहरूमा निगरानी र निरन्तर सम्पर्क गरिरहेको उनले बताए । लक्ष्य अनुसार कर असुली हुन घरजग्गा कारोबार, पर्यटन, गाडीहरू लगायतको कारोबारमा वृद्धि हुनुपर्ने उनको भनाइ छ ।
चालु आवको लागि विभागले कार्यालयलाई २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैयाँ कर असुलीको लक्ष्य दिएको छ । हालसम्म कार्यालयले १५ अर्ब ६५ करोड ६८ लाख २ हजार रुपैयाँ संकलन गरेको छ ।