म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने वैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवतजावतमा सुविधा पुगेको छ ।
यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिबाङ–शिख–चित्रे हुँदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले एक करोडभन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए । ‘महभिरदेखि घराम्दी–प्यारीभारानी हँुदै घोडेपानी जोड्ने छोटो दूरीको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ,’ उनले भने, ‘वैकल्पिक सडकबाट घोडेपानी आवतजावत हुन थालेको छ । धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।’
घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैयाँ चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै ठूलाखर्क पुर्याइएको सडक गतवर्ष थप पाँच लाख खर्चेर प्याराभारानी ताल पुर्याइएको उनले जानकारी दिए । यसैगरी गाउँपालिकाको १२ लाख र प्रदेश सरकारको आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुँदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन/तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ । घराम्दीका तीर्थबहादुर फगामीले सडक यातायातको सुविधासँगै पर्यटकीय महत्त्वको पेरी भरानी तालमा पर्यटकको आगमन बढेको बताए ।
गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोवास छ । समुद्री सतहबाट दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो । रासस