म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मंगलबारदेखि दरबाङ–धारापानी–ताकम हँुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन् ।
सडक निर्माण सहज बनाउन बादिकामा बन्द गरिए पनि आवतजावतलाई सुरक्षित र नियमत बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडक सञ्चालन गरिएको गाउँपालिकाका इञ्जिनीयर सोबिन जिसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङस्थित म्याग्दी खोलामा सातओटा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाएका छन् । झारवाङ घाटमा पूर्वाधार विकास कार्यालयले पक्की पुल पनि निर्माण गरिरहेको छ ।
२०७५ सालमा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । बर्खाअघि नै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ ।
यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुईओटा घुम्ती थपेर करिब ४०० मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोलासम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ ।
दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले ‘क’ वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।
पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको धारापानीसम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकिलो बनाइने भएको छ । ग्राभेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । रासस