घर छाडेर विद्यालय आसपासमै बसेर अध्ययन गरेका मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं ६ का चेपाङ बस्तीका ४१ जना किशोरीसहित ५३ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नु भएको छ । गाउँमै उच्च शिक्षा अध्यापन हुने विद्यालय नहुँदा उनीहरुको उच्च माध्यमिक शिक्षाको यात्रा भने अन्योलमा परेको छ ।
राक्सिराङ गाउँपालिका ६ सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट भर्खरै प्रकाशित २०७७ सालको एसइई परीक्षामा २५ जना चेपाङसहित ४१ जना छात्रा र १२ जना छात्रले एसएइ परीक्षा पास गरेको प्रधानाध्यापक तारानाथ दुवाडीले बताउनुभयो । उहाँका अनुसार ६० जनाले एसइइको फर्म भरे पनि ५३ जना मात्रै सहभागी हुनु भएको थियो ।
“राक्सिराङ गाउँपालिकाकै इतिहासमा एकै विद्यालयबाट यति धेरै छात्राहरु एसइई पास गरेको पहिलो घटना हो”, प्रधानाध्यापक दुवाडीले भन्नुभयो–“पास भएकामध्ये २ जना छात्राको विवाह भएकाले उच्च माध्यमिक तहमा पढ्न सक्ने अवस्था छैन भने बाँकी सबै उच्च कक्षामा जान चाहन्छन् ।”