असार ७, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये आठ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।
आठ ओटा कम्पनीमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मूल्य ९ दशमलव २६प्रतिशतले घटेको छ ।उक्त कम्पनीको शेयरमूल्य योदिन प्रतिकित्ता रू. ५८८ मा झरेको हो ।
त्यसैगरी युनिभर्सल पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव १२ प्रतिशत,युनियन हाइड्रोपावरको ८ दशमलव ८१ प्रतिशत, हिमाल दोलाखा हाइड्रोपावरको ८ दशमलव ६२ प्रतिशतका दरले घटेको छ ।
त्यसैगरी लिवर्टी इनर्जी कम्पनीको ८ दशमलव ५२ प्रतिशत,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ८ दशमलव ४२ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ८ दशमलव ४० प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव २० प्रतिशतका दरले घटेको छ ।
ती कम्पनीहरुको शेयरमा क्रेताभन्दा विक्रेताहरु हावी हुँदा शेयरमूल्यमा उच्च गिरावट आएको हो । योदिन युनिभर्सल पावरको शेयर मूल्य प्रतिकित्ता रू. २७९,युनियन हाइड्रोपावरको रू. ३५२,हिमाल दोलखा हाइड्रोपावरको रू. २६५,लिवर्टी इनर्जीको रू. ३३३,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको रू. ४५७, प्रोगे्रशिभ फाइनान्सको रू. ३३८ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य रू. २८० कायम भएको छ ।
ती आठ ओटा कम्पनी बाहेक अरु कम्पनीको शेयरमूल्य पनि घटेको छ । सोमवार कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये १७८ ओटा कम्पनीको शेयरमूल्य घटेको हो ।
केहि दिनदेखि घटको बजार सोमवार पनि ७१ अंकले घटेको छ । आइतवार भने ६१ अंकले बजार घटेको थियो ।
दिनानुदिन उच्च अंकले बजार घटेकाले लगानीकर्ताको मनोबल कमजोर हुँदा धेरै कम्पनीहरुको शेयरमूल्य घटेको देखिन्छ ।