जनकपुरधाम। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व भएमात्रै आन्तरिक र बाह्य लगानी आकर्षण हुने बताएका छन् । बुधवार जनकपुरधाममा महासंघ मधेश प्रदेशको कार्यालय उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
लगानीकर्तालाई लगानीको सुरक्षा र नाफाको प्रत्याभूति नभएसम्म लगानी नआउने दाबी अध्यक्ष ढकालको थियो । ‘लगानीको सुरक्षा र २० प्रतिशत मुनाफाको ग्यारेन्टी नभएसम्म लगानी आउँदैन । नीतिगत स्थिरता लगानीको प्राथमिक शर्त हो,’ उनले भने ।
अर्थतन्त्रमा अहिले देखिएको भन्दा खराब अवस्था नआउने दाबी पनि उनले गरे । ‘योभन्दा खराब अवस्था आउँदैन । यसको समाधानका लागि सबै पक्ष बराबर जिम्मेवार हुनुपर्दछ,’ ढकालले भने ।
अहिलेको संकटमा सरकार र निजीक्षेत्र दुवै जिम्मेवार रहेको उनले बताए । श्रीलंंकाको संकटबाट उत्पन्न त्रासका कारण अपनाइएको आवश्यकताभन्दा बढी सावधानीका कारण अर्थतन्त्र समस्यामा परेको दाबी उनको थियो ।
महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले कृषि क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताए । सरकारले उद्योगी व्यापारीलाई सहयोग गरेको भए अहिलेको संकट नआउने दाबी उनको थियो ।
न्यू बिजनेश एज प्रालिका अध्यक्ष एवम् प्रधान सम्पादक मदन लम्सालले जनकपुर क्षेत्रको विकासका लागि सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए । निजीक्षेत्रले नेतृत्व गरेको आर्थिक विकासबाट मात्र समृद्धि सम्भव हुने स्पष्ट पारे । निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठले अहिले उद्योगी व्यापारी पीडामा रहेको बताए । ‘आज कुनै पनि व्यापारी सन्तुष्ट छैनन् । सरकारी नीतिका कारण उद्योगी व्यापारी सकसमा परेका छन्,’ उनले भने ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह (हिरा) लगायतले उद्योग व्यापारले भोगेका समस्या समाधान हुनुपर्नेमा जोड दिएका थिए ।