‘मेरो जग्गा बचाइदिनुपर्यो हजुर नत्र लिलामी हुँदाको दिन
मर्दिन्छु...,' गत साता बिजपाटीकर्मी राष्ट्र बैंक पुग्दा गुनासो
शाखामा यस्तो आवाज गुन्जियो ।झट्ट सुन्दा धम्कीपूर्ण लाग्ने यो गुनासो करीब ७० वर्षीय विनोद
चौधरीको अत्याससहितको बिन्ती हो । ‘त्यसो भन्ने हो भने अहिल्यै प्रहरी बोलाएर जिम्मा लगाइदिन्छु,
यस्तो
पनि बोल्ने हो ? सोच्ने हो ?’ राष्ट्र बैंकका गुनासो शाखाका प्रमुख
टेकराज भण्डरीले चौधरीलाई सम्झाउने प्रयास गर्छन्, 'पहिलो कुरा भनेको भौतिक
सम्पत्तिको लागि ज्यान दिने कुरा गर्ने हैन । फेरि, बैंक ग्राहकबाटै
चल्ने हुन् । ग्राहक रहे पो बैंक रहन्छ । सकेसम्म बैंकहरूले ग्राहकलाई बचाउनै
खोज्छन् । आज बैंक बन्द भईसक्यो होला, हामी बुझेर खबर गर्छौं । तपाई
नआत्तिनुस, कानूनले दिएसम्म तपाईको जग्गा लिलाम हुँदैन ।’ राष्ट्र बैंकको जवाफबाट वृद्ध चौधरी सन्तुष्ट त भएनन् तर मुन्टो भने
हल्लाइरहे । उनले गरेको गुहारले राष्ट्र बैंकको मन छोयो कि छोएन त्यो अलग कुरा हो
तर उनी पछिल्लो समयको एक प्रतिनिधि पात्र भने जरुर हुन् । उनीजस्ता हजारौं ऋणीहरू
पछिल्लो समय यही पीडाबाट गुज्रिएका छन् । उनी काठमाडौँको बुढानिलकण्ठमा बसेर सामान्य ठेक्कापट्टाको काम गर्छन्
। उनका दुई छोरा र एक छोरी छन् । छोरा सिभिल इन्जीनियर हुन् । उनै छोराको आग्रहमा
छोराको साथीसँग मिलेर ‘चौधरी ट्रेड एण्ड इन्भेष्टिमेन्ट प्रालि’ खोले । कम्पनी सञ्चालनको लागि छोराको साथी र आफ्नो जग्गा धितो राखेर एक
विकास बैंकबाट कर्जा निकाले । त्यसपछि उनले उक्त कम्पनी छोराको जिम्मा लगाएर आफ्नो
काममा फर्किए । तर केही समयपछि एक्कासी उनलाई कर्जाको
ब्याज नतिरेको भन्दै बैंकको फोन आयो । छोरासँग बुझ्दा हिसाबकिताब साथीले सम्हालेको र केही समयदेखि फरार
भएको थाहा भयो । बैंकले ३५ दिने सूचना निकालेर धितो लिलामी गर्ने चेतावनी दियो ।
बैंक धाउँदा र साहु खोज्दा खोज्दै उनको करिब २५/३० दिन बित्यो । केही उपाय नलागेपछि केही समय मिलाउनका लागि उनी
राष्ट्र बैंकको शरणमा आएका थिए । ‘बैंकबाट ऋण निकालौँ भएको जग्गा त्यही बैंकमा छ,' उनले बिजपाटीसँग
भने, 'कतै ऋण माग्दा होस या आफैँले दिएको ऋण उठाउन जादा पनि समय माग्छन् सबैले । यतिबेलासम्म पैसा कतैबाट जम्मा हुन्छ कि भनेर खोजें, केही उपाय नलागेपछि यहाँ आएको हुँ ।’ ३ महिनामा सबै कर्जा चुक्ता गर्ने गरी समय मिलाइदिन भन्दै उनले
राष्ट्र बैंकमा गुनासो दर्ता गरेर फर्केका छन् । बैंकसँग पनि घटनाक्रम बुझेर कानूनले
नछेकेसम्म समय थप गर्न के कसरी सकिन्छ ? बैंकको के सर्त हुन्छ बुझेर बताउने
प्रतिबद्धता भण्डारीले दिएपछि उनी फर्किएका हुन् । मोबाइल बैंकिङदेखि बैंक ग्यारेन्टी हुँदै पछिल्लो दिनमा
ब्याजदर वृद्धिका गुनासा बढी राष्ट्र बैंकले गत वर्षदेखि छुट्टै शाखा नै खडा गरेर बैंकिङ ग्राहकहरूको
गुनासो सुनुवाइ तथा सम्बोधन गर्दे आइरहेको छ । पहिला गुनासाहरू संकलन तथा फर्छ्यौटका
लागि छुट्टै व्यवस्था थिएन । तर गत वर्ष राष्ट्र
बैंकले ग्राहकका समस्यालाई प्रत्यक्ष रुपमा सुनुवाइ गर्ने गरी यस्तो व्यवस्था गर्यो
। यसलाई अझ व्यवस्थित गर्न राष्ट्र बैंकको वेभसाइटबाट सिधै, इमेल,
तथा
एक्सटेन्सन नम्बरमा सिधै फोन गर्न सकिने गरी गुनासो सम्बोधन गर्ने नीति अबलम्बन गर्यो
। पहिला लिखित रूपमा कम मात्रामा गुनासाहरू आउने गर्थे । पछिल्ला दिनहरूमा
भने दैनिक १५ देखि २० वटाको संख्यामा गुनासाहरू आउने गरेका छन् । ग्राहकहरूले मोबाइल
बैंकिङदेखि बैंक ग्यारेन्टीसम्मका गुनासाहरू लिएर आउने गर्छन् । एटीएमको चार्ज काटेर पैसा नआएको, एटीएम बुथ भित्र
कार्ड खसेको, मोबाइल बैंकिङमा अस्वभाविक सेवा शुल्क काटेको तथा काटिएको शुल्कबारे
जानकार नभएको, बैंक ग्यारेन्टी सन्दर्भमा, धितो लिलामको सन्दर्भमा र आजभोलि
अत्याधिक मात्रामा ब्याजदर वृद्धिका गुनासाहरू आउने गरेको राष्ट्र बैंक गुनासो
शाखाका प्रमुख भण्डारी बताउँछन् । भण्डारीका अनुसार राष्ट्र बैंकमा पछिल्लो समय अधिकतम गुनासाहरू
ब्याजदर वृद्धिको सन्दर्भमा आउने गरेका छन् । ब्याजदर वृद्धिको गुनासामा केही बैंकहरूले
प्रिमियम बढाएको पाइएपछि राष्ट्र बैंकले फिर्ता दिन भनेको छ । कतिपय भने बेसरेट
वृद्धिमै अलमलिएका गुनासा आउँछन्, जसलाई बैंकिङ प्रक्रिया बुझाएर गुनासा
सम्बोधन गर्ने गरेको उनले बताए । राष्ट्र बैंकका अनुसार दैनिक १५/२० वटा गुनासाहरू आउने गर्छन् । त्यसमध्ये
ग्राहकको गुनासो र वास्तविकतामा धेरै अन्तर हुने भण्डारी बताउँछन् । बैंकिङबारे
ग्राहकको बुझाइ र बैंकको प्रतिजवाफबीच धेरै भिन्नता हुने उनको भनाइ छ । यसमा
धेरैजसो गुनासाहरू बैंकिङ साक्षरताको अभावले आउने गर्छन् । भट्टराईका अनुसार बैंकिङ साक्षरताको अभावमा धेरै गुनासा र समस्या
आएको पाएपछि यसलाई व्यवस्थापन गर्नेतर्फ लागि परेको छ । राष्ट्र बैंकिङ साक्षरताको
लागि सर्कुलर नै जारी गरी कार्यबिधि बनाएर अगाडी बढ्ने तयारीमा रहको उनले बताए ।
स्थानीय सरकारसँग समन्वय गरी राष्ट्र बैंकले साक्षरता अभियान नै सञ्चालन गर्ने तयारी
गरेको छ । उजुरी तथा गुनासोको पछिल्लो अवस्था गत आर्थिक वर्षमा कूल १ हजार ३२६ गुनासो तथा उजुरीहरू आएका थिए ।
जसमध्ये लिखित १ सय ६६ रहेका थिए । त्यस्तै ९ सय ९० अनलाइन पोर्टलमार्फत आएका थिए ।
राष्ट्र बैंकले पोर्टलमा गुनासो दर्ता गर्न गत वर्षबाटै सुरु गरेको थियो । टेलिफोन, इमेल तथा मौखिक माध्यमबाट १ सय ७० उजुरी आएको राष्ट्र बैंकले जनाएको
छ । गत वर्ष उजुरी आएका मध्ये १ हजार ३१५ वटा समाधान भएका छन् भने ११ वटा अझै पनि
पक्रियामा रहेका छन् । चालू आर्थिक वर्षको असोजसम्म ५ सय ६ उजुरी आइसकेका छन् । उजुरी तथा
गुनासा आएकामध्ये ३ सय १४ वटा समाधान भएका छन् भने १ सय ९२ वटा प्रक्रियामा रहेका
छन् ।