साउन २८, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा हालसम्ममा ८४ हजार ६८८ जनाले आवेदन दिएका छन् ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधवारसम्ममा ८४ हजार ६८८ जनाले १ करोड ६९ लाख ७५ हजार ८७५ कित्ताका लागि आवेदन परेको हो । यो मागभन्दा २ दशमलव ८२ गुणा बढी हो ।
कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता छुट्याएको छ ।
शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्ममा आवेदन गर्न पाइने छ । आवेदकले साउन ३२ गतेसम्म शेयर भर्न पाउने छन्। सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौंमा सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ ।
साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिनेछ ।कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।