गत आर्थिक वर्षको पहिलो महीनामा विलासिताका वस्तुको आयातमा प्रतिबन्ध थियो र तिनको आयात ठप्प थियो । तर, चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महीना गत आवको सोही अवधिको दाँजोमा वैदेशिक व्यापार घटेको छ । अर्थात् आयात र निर्यात दुवै घटेको छ । यसले देशको आन्तरिक अर्थतन्त्र अझै कमजोर रहेको संकेत गरेको छ ।
चालू आवको साउनमा १ खर्ब ४२ अर्ब बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको भन्दा २ दशमलव २८ प्रतिशत कम हो । यसमा आयातको अंश १ दशमलव ५६ प्रतिशतले घटेको छ भने निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको छ । आयातभन्दा निर्यात बढी घट्दा यसको अनुपात विगतमा भन्दा बढेको देखिन्छ । आयात घटेर खासै समस्या त हुने देखिँदैन तर गत आवमा भन्दा सरकारले भन्सार
राजस्वको लक्ष्य बढाएकाले उक्त लक्ष्य पूरा हुन सक्ने देखिँदैन । गत आवमा नै सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा सरकारी खाता घाटामा गएको थियो । यस वर्ष पनि त्यस्तै नहोला भन्न सकिँदैन ।
आयात घट्यो भन्दा पनि किन घट्यो र कस्ता सामानको आयात घट्यो भन्ने कुराले विशेष अर्थ राख्छ । आयात घट्नुको अर्थ उपभोग्य वस्तु र औद्योगिक कच्चा वस्तुको माग घट्नु हो । यसले आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको थप पुष्टि गर्छ । अर्थतन्त्रमा न उत्पादन बढेको छ न त माग नै बढेको छ । यसो हुँदा उद्योगहरूले आफ्नो उत्पादन कटौती गरेको देखिन्छ जसको अर्थ त्यहाँ कार्यरत कामदारको पनि कटौती हुन्छ अथवा ज्याला कटौती । यसले अर्थतन्त्रलाई झनै सुस्त बनाउँछ ।
आयात घट्यो भन्दा पनि किन घट्यो र कस्ता सामानको आयात घट्यो भन्ने कुराले विशेष अर्थ राख्छ । आयात घट्नुको अर्थ उपभोग्य वस्तु र औद्योगिक कच्चा वस्तुको माग घट्नु हो । यसले आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको थप पुष्टि गर्छ ।
अहिले विदेशी विनिमय सञ्चिति बढेको छ । विप्रेषण आय पनि बढेको छ । विप्रेषण आय बढ्दा उपभोग बढ्नुपर्ने हो । नेपालमा धेरै घरधुरीमा विप्रेषण रकम पुग्छ । त्यो रकमको अत्यधिक अंश उपभोगमा नै सकिने गरेको छ । अहिले त्यो रकम खर्च भएको छैन । खर्च नहुँदा त्यो बचतका रूपमा बंैकमा पुग्नुपर्ने हो । विप्रेषणको रकम बैंकमा राख्दा अलिक बढी ब्याज पाइन्छ । यस्तोमा प्रतिमहीना खर्बको हाराहारीमा आइरहेको रकमको ठूलो अंश बैंकमा गएको जस्तो देखिँदैन । गएको भए पर्याप्त तरलताका कारण निक्षेपको ब्याजदर घट्नुपर्ने हो । तर, बैंकहरूले कर्जा लगानी गर्न नसके पनि निक्षेपको ब्याजदर बढाएर पैसा तानातान गरिरहेका छन् । यसको अर्थ कि त नेपालबाट पैसा पलायन भइरहेको छ वा मानिसहरूले शिरानी हालिरहेका छन् भन्ने हुन्छ ।
आयात घट्नुको अर्थ मुलुक मन्दीमा नै छ र यो अवस्था अझै लम्बिनेछ भन्ने हो । निर्यात घट्नुको अर्थ नेपालको उत्पादन निकै कमजोर छ भन्ने हो । निर्यात सम्भावना नभएको होइन । प्रतिस्पर्धी वस्तु पहिचान गरेर तिनको उत्पादन बढाउन नसक्दा नै निर्यात बढ्न नसकेको हो । कतिपय वस्तुको माग भए पनि आपूर्ति गर्न नसकिएको भन्ने व्यवसायीको भनाइ छ । नेपालको कूटनीतिक क्षमता निकै कमजोर देखिँदै गएकाले विश्वमा नेपाललाई पत्याउन छाडेको पाइन्छ । त्यसले पनि निर्यात व्यापार प्रभावित भएको हो भन्न सकिन्छ ।
अहिले आन्तरिक अर्थतन्त्र निकै कमजोर छ । यो तथ्यलाई सरकारले कहिले स्वीकारेको पाइन्छ त कहिले अर्थतन्त्र ठीकठाक छ भन्ने बताइरहेको हुन्छ । यसबाट अर्थतन्त्रप्रति सरकारलाई चिन्तै छैन भन्ने देखाउँछ । संसद्मा अर्थतन्त्र सुधारबारे न गम्भीर छलफल भएको छ न त मन्त्रालयहरूले नै विशेष सक्रियताका साथ काम गरेका छन् । अहिलेको अवस्था अर्थतन्त्र सुधारका लागि विशेष काम गर्नुपर्ने हो । तर, त्यसमा गम्भीरता पाइएको छैन । आन्तरिक अर्थतन्त्रमा सुधार आएन भने सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सक्दैन र चालू खर्चकै लागि ऋण उठाउनुपर्ने बाध्यता हुन्छ । त्यसैले वैदेशिक व्यापारले देखाएको अहिलेको संकेतलाई गम्भीरताका साथ लिएर सरकारले आवश्यक कदम चाल्न ढिला गर्नु हुँदैन ।