काठमाडौं । असोज र कात्तिक महीनामा साधारण सभा गरेका धेरैजसो कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बोनस शेयर सूचिकरण गराएका छन् ।
तर यी दुई महीनामा नै साधारणसभा गरेका केही कम्पनीले भने अहिलेसम्म पनि बोनस शेयर सूचिकरण गराएका छैनन् । समयमै बोनस शेयर सूचिकरण नहुँदा लागनीकर्ता मारमा परेका छन् ।
असोजमा साधारण सभााबाट बोनस शेयर पारीत गरेका अधिकांश कम्पनीले नेप्सेमा बोनस शेयर सूचिकरण गराइसक्दा असोज २३ गते साधारण सभा गरी २० प्रतिशत बोनस शेयर पारीत गरेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले अहिलेसम्म बोनस शेयर सूचिकरण गराउने सुरसार गरेको छैन् ।
त्यस्तै असोज १८ गते साधारण सभा सम्पन्न गरी ३० प्रतिशत बोनस शेयर पारीत गरेको नेपाल ल्यूव आयलले पनि अहिलेसम्म बोनस शेयर नेप्सेमा सूचिकरण गराएको छैन ।
त्यस्तै कात्तिकमा साधारण सभा गरेका अधिकांश कम्पनीले पनि बोनस शेयर नेप्पेमा सूचिकरण गराएर शेयरधनीको डिम्याट खातामा पठाउन थालिसकेका छन् ।
तर, कात्तिकमै साधारण सभा सम्पन्न गरेको सिभिल लघुवित्तले भने हालसम्म पनि बोनस शेयर सूचिकरण गराएको छैन । कम्पनीले कात्तिक २८ गते साधारण सभा गरेर १९ प्रतिशत बोनस शेयर पारीत गरेको थियो । कम्पनीका अनुसार बोनस शेयर लिस्टिङका लागि प्रक्रिया अगाडि बढेको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति गराएर नेपाल धितोपत्र बोर्डमा पठाइएको छ । अब धितोपत्र बोर्डबाट स्वीकृति भएपछि सिडिए एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गर्न पठाइने कम्पनीले बताएको छ ।
त्यस्तै डिप्रोक्स लघुवित्तले भने हालसम्म नेपाल राष्ट्र बैंकबाट बोनस शेयर स्वीकृतिको प्रक्रिया पनि अगाडि बढाउन सकेको छैन् । यो संस्था नाडेपसँग एक्वियर नभएपछि राष्ट्र बैंकले अर्काे संस्था खोजेर मर्जरमा नगएसम्म कम्पनीलाई बोनस शेयर वितरण गर्न रोक लगाएको थियो ।
मर्जरका लागि अर्काे संस्था खोजिरहेको र छिटै नै राष्ट्र बैंकको कारबाहीबाट छुटकारा पाएर लगानीकर्तालाई बोनस शेयर दिने कम्पनीका एक कर्मचारीले जानकारी दिए ।
असोजमै साधारण सभा सम्पन्न गरेको नेपाल ल्यूव आयलले पनि अहिलेसम्म नेप्सेमा बोनस शेयर सूचिकरण गरेको छैन् । यो कम्पनीले पनि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरणका लागि पठाएको छ । अब केही दिनमा नै नेप्सेमा बोनस शेयर सूचिकरण गर्ने कम्पनीले जनकारी दिएको छ ।