सुधार निरन्तर भइरहने क्रियाकलाप हो । आज राम्रो मानिएको र सफल देखिएको काम भविष्यका लागि उपयुक्त नहुन पनि सक्छ । तर, महत्त्वपूर्ण कुरा समय र परिस्थितिअनुसार सुधारलाई कसरी अघि बढाइन्छ भन्ने हो । नेपालको पूँजी बजारमा पनि त्यही कुरा लागू हुन्छ । अन्य देशको तुलनामा नेपालको पूँजी बजार त्यति धेरै विकसित भएको पाइँदैन । यद्यपि देशको आन्तरिक अवस्थाअनुसार पूँजी बजारमा भएको विकासलाई कम आँक्न भने मिल्दैन ।
देशको अर्थतन्त्र बुझ्न पूँजी बजारले ऐनाको काम गर्ने मात्र नभई अर्थतन्त्रलाई चलायमान बनाउन महङ्खवपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले निष्क्रिय डिम्याट खातालाई कसरी सक्रिय बनाउने भन्नेबारे सोच्नैपर्ने देखिन्छ ।
धितोपत्र कारोबार घरमै बसेर गर्न सकिने भएको छ । त्यस्तै शेयर बेचेको वा किनेको रकमको भुक्तानी घरबाटै गर्न सकिन्छ । टी प्लस टू लागू भइसकेकाले कारोबारको २ दिनमा राफसाफको सुविधा थपिएको छ । केही समययता प्राथमिक शेयर आवेदन गर्न घण्टौं लाममा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
धेरैजसो सरकारी काममा कागजी प्रक्रिया छोड्न नसकेको अवस्थामा पूँजी बजारमा कागजरहित यति धेरै सेवा र सुविधा थपिनु पक्कै पनि राम्रो कुरा हो । तर, ५५ लाख ७७ हजार हितग्राही खाता खुलिसकेको पूँजी बजारमा १७ लाख ६३ हजार डिम्याट खाता निष्क्रिय रहेको खबर पनि बाहिरिएको छ । डिम्याट खाताको एक तिहाइभन्दा बढी निष्क्रिय हुनुले भने पूँजी बजारमा अझै पनि सुधार गर्नुपर्ने देखिएको छ । खासगरी यति धेरै मान्छेले किन डिम्याट खाता खोले ? र, के कारणले ती खाता निष्क्रिय भए भन्ने महत्त्वपूर्ण कुरा हो । यसले पूँजी बजारको विकासका लागि अझै लगानीकर्ताको बुझाइमा समस्या छ र यसका लागि नियामक निकायले काम गर्नुपर्ने, सुधार गर्नुपर्ने आवश्यकता छ भन्ने देखिन्छ । देशको अर्थतन्त्र बुझ्न पूँजी बजारले ऐनाको काम गर्ने मात्र नभई अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले निष्क्रिय डिम्याट खातालाई कसरी सक्रिय बनाउने भन्नेबारे सोच्नैपर्ने देखिन्छ । सीडीएससीका पदाधिकारीले एउटै व्यक्तिले दुईओटा खाता खोल्न पाइने भएकाले यति धेरै खाता निष्क्रिय भएको बताएका छन् । तर, डिम्याट खाता निष्क्रिय हुनुमा यतिमात्र कारण होइन । डिम्याट खाता निष्क्रिय हुनुमा खाता खोल्न र नवीकरणका लागि लिइने शुल्क महँगो हुनु मुख्य कारण हो । डिम्याट खाता नवीकरणका लागि हरेक वर्ष १ सय रुपैयाँ शुल्क लिने गरिन्छ । त्यस्तै यससँगै मेरो शेयरले थप ५० रुपैयाँ नवीकरण शुल्क लिने गर्छ । नेपालमा डिम्याट खाता खोलेका सबैले शेयर कारोबार गर्छन् र नाफा कमाउँछन् नै भन्न सकिने आधार छैन । कतिपयले विशुद्ध दीर्घकालीन लाभका लागि मात्र आईपीओ भर्ने गर्छन्, भलै त्यस्ता कम्पनीले तत्काल बोनस प्रदान गरून् वा नगरून् । कारोबार गरी कुनै लाभ नलिएका सेवाग्राहीले हरेक वर्ष नवीकरणका लागि जसरी शुल्क तिर्नु परिरहेको छ, त्यो न्यायपूर्ण देखिँदैन । त्यसैले नियामक निकायले अहिलेजस्तो नवीकरणका बेला सोलोडोलो एकैखाले शुल्क लिने व्यवस्थाको साटो कारोबारको आधारमा नवीकरण शुल्क लिने व्यवस्था गर्न सके प्रभावकारी हुने देखिन्छ । नवीकरण शुल्क लिनैपर्ने हो भने भर्चुअल रूपमा रहेका डिम्याट खाता सञ्चालनका लागि वास्तविक रूपमा कति लागत पर्छ, सोहीअनुसार मात्र नवीकरण शुल्क लिँदा ठीक हुन्छ ।
कुनै सेवाग्राहीले खोलेको डिम्याट खाताको सञ्चालन गरिराख्न ५–१० रुपैयाँ लाग्छ भने नवीकरण गर्दा त्यति नै रकम लिए पुग्छ । निष्क्रिय भएको भन्दै १७ लाख ६३ हजार डिम्याट खातालाई बन्द गराउनुभन्दा नवीकरण शुल्क घटाएर सक्रिय बनाउँदा पूँजीबजार थप चलायमान र बलियो हुन्छ । जबसम्म पूँजी बजारमा सानासाना लगानीकर्ताको विश्वास र सहभागिता बढ्दैन, तबसम्म पूँजी बजार परिपक्व हुँदैन भनेर नियामक निकायले बुझ्नुपर्छ । त्यस्तै हरेक वर्ष डिम्याट खाता अनिवार्य नवीकरण गर्नुपर्ने व्यवस्थाको साटो जुनबेला लगानीकर्ताले विक्री गर्न थाल्छन्, त्यो बेला नवीकरण गर्ने व्यवस्था जरुरी देखिन्छ । नवीकरण गर्दा पनि आम्दानीको आधारमा गर्न आवश्यक हुन्छ । हेर्दा सामान्य जस्तो लागे पनि पूँजी बजारमा यस्ता सुधारको जरुरी छ । जुन तत्काल थालिनुपर्छ । त्यस्तै आईपीओ भर्दा लगानीकर्ताले पाउने/नपाउने ग्यारेन्टी नभए पनि भर्दा नै शुल्क तिर्नुपर्ने अवस्था छ । लगानीकर्ताको संख्या धेरै रहेकाले शेयर प्राप्त गर्ने नगर्ने यकीन नहुँदा नहुँदै आईपीओ भरेकै कारण लगानीकर्ताले आफ्नो रकम पनि गुमाइरहेका छन् । यस्ता तमाम पक्षलाई पनि सम्बोधन गर्नुपर्छ ।