पछिल्लो समय नेपाली चलचित्र विधामा देखिएको युवापुस्ताको उपस्थितिले कलाकारिता क्षेत्र अझ फराकिलो र विस्तारित देखिन थालेको छ । अभिनेता अनमोल केसी, पुष्प खड्का, निर्देशक निश्चल बस्नेत, दीपेन्द्र खनाल, दीपेन्द्र लामा, कोरियोग्राफर रेनेशा राई आदि युवाको सक्रियताले यस क्षेत्रलाई उर्वर बनाएको छ । कुनै समय सीमित निर्देशकको भरमा नेपाली चलचित्र अगाडि बढेको थियो तर अहिले यस क्षेत्रमा धेरै युवा संलग्न छन् । यसले दर्शकको सङ्ख्या पनि बढाएको छ ।
प्रदीप खड्का, साम्राज्ञी आर.एल. शाह, वर्षा सिवाकोटी, सुहाना थापा, आँचल शर्मालगायतका कलाकार नेपाली चलचित्र क्षेत्रमा जम्न थालेपछि चलचित्र हलमा युवापुस्ता आउन थालेको कुरालाई नकार्न सक्दैनौँ । हलमा सिनेमा हेर्न जाने भनेको सीमित दर्शकलाई मात्र बुझिन्थ्योे तर आज त्यो सोच हटिसकेको छ ।