जेठ ११, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अध्यक्ष सन्तोष कुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भिमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल तथा प्रोप्राइटर सि.वि. बस्नेत उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर भएको हो ।
मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरु र लेखापरीक्षकको मिलेमतोमा आफ्नो सामुदायिक वनरुपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी प्रचलित कानूनविपरीत फर्जी विल भरपाई पेश गरेको अख्तियारको आरोप छ ।
त्यस्तै, उनीहरुले वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय एवम् पत्राचार तथा निर्देशन नलिई आफूखुसी मूल्य अवमुल्यन गर्ने, काठ नि:शुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्कन गर्ने, परिमाण घटाई विक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा विक्री वितरण गरी रकम हिनामिना गरेको समेत अख्तियारले बताएको छ ।
उनीहरु विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।