अनौपचारिक अर्थतन्त्र : कारण र प्रभावहरू

कर्जायोग्य रकमको अभावसँगै चुलिएको तरलता संकटलाई केही हदसम्म भए पनि सम्बोधन गर्ने अपेक्षाका साथ बैंकहरूले निक्षेप तथा कर्जाको ब्याजदरमा फेरि पनि वृद्धि गरेपछि यस्तो वृद्धिले समग्र अर्थतन्त्र नै धरापमा पर्नसक्ने चेतावनी उद्योग व्यवसायीहरूले दिन थालेका छन् । कसैकसैले बैंकिङ प्रणालीमा ब्याजदर उच्च भएपछि त्यसले अप्रत्यक्ष रूपमा अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहन दिने र राज्यले थप आर्थिक क्षति बेहोर्नु पर्नेसमेत धारणा व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्रले औपचारिक भएपछि बेहोर्नुपर्ने अतिरिक्त विविध किसिमका व्ययहरूलाई समेत सरलीकरण गर्नाले पनि अनौपचारिक क्षेत्रलाई औपचारिकतर्फ परिवर्तित हुन अभिप्रेरित गर्ने हुन्छ । यसका लागि नियामकीय तथा प्रशासकीय प्रक्रियाहरूलाई सरलीकृत गर्नेदेखि लिएर सरकार र जनताबीच प्रत्यक्ष सम्पर्कमा सघाउने किसिमका प्रविधिको प्रयोग पनि सहायक सिद्ध हुन सक्छन् । हुन पनि निक्षेपमा बढेको ब्याजले कर्जाको ब्याज पनि बढाउने र अन्त्यमा गएर त्यसले समग्र उत्पादनको नै लागत बढाउने भएकाले देशको अर्थतन्त्र माथि यस्तो ब्याजदर वृद्धिको प्रत्यक्ष प्रभाव त पर्छ नै । तर, विशेष गरी नेपाल चेम्बर अफ कमर्श तथा नेपाल उद्योग परिसंघजस्ता व्यवसायीहरूका प्रतिनिधिमूलक संगठनहरूले समेत बढेको ब्याजदरले बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र फाइदा पुग्ने तर त्यसले अनौपचारिक क्षेत्रलाई प्रोत्साहित गरी समग्र देशको आर्थिक व्यवस्थाप्रति प्रतिकूल प्रभाव पर्ने विज्ञप्ति जारी गरेको आलोकमा यो आलेखमा भने अनौपचारिक अर्थतन्त्रले समग्र देशकै अर्थतन्त्रमा पार्ने प्रभावका केही आयामका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ : अनौपचारिक अर्थतन्त्रको आकार र प्रभाव अन्तरराष्ट्रिय श्रम संगठनले यो शब्दलाई सन् १९७२ मा पहिलोपटक प्रयोगमा ल्याउनुका साथै परिभाषित पनि गरेको थियो । उसका अनुसार गरीबीका कारण कठिन परिश्रम गर्ने तर कतै पनि औपचारिक रूपमा लगत नभएका, कसैको नजरमा नपरेका, सुरक्षा तथा नियमनको छातामा पनि नपरेका क्षेत्रहरू नै ‘अनौपचारिक क्षेत्र’ हुन् । र, यिनै अनौपचारिक क्षेत्रले सृजना गर्ने अर्थतन्त्रले नै अनौपचारिक अर्थतन्त्रको आकार र प्रभावको प्रतिनिधित्व गर्छ । अनौपचारिक क्षेत्रमा उत्पदकत्व कम हुने भएकाले यसले देशको समग्र आर्थिक वृद्धिमा खासै योगदान गर्दैन भनिन्छ । बरु, उल्टो कर तथा अन्य राज्यको आम्दानी भने अनौपचारिक क्षेत्रले नबेहोर्ने भएकाले यसले नकारात्मक योगदान मात्र गर्ने कुरा निर्विवाद छ । अनौपचारिक अर्थतन्त्रलाई ‘प्रतिचक्रीय (काउन्टर साइक्लिकल) मानिन्छ अर्थात् देशमा आर्थिक संकट परेको बेलामा यो झन् विस्तारित हुदै जान्छ भने आर्थिक वृद्धि राम्रैसँग भएको अवस्थामा यसले फस्टाउने मौका पाउँदैन । हुन त कतै लागत दर्ता कायम भएर औपचारिक उपस्थिति नदेखिएका कारण अनौपचारिक अर्थतन्त्रको आकारलाई पहिचान गर्न त्यति सजिलो नहुने भए पनि यसको आकारको अनुमान गर्नुचाँहि विभिन्न कारणले गर्दा आवश्यक हुन आउँछ । अन्तरराष्ट्रिय श्रम संगठनले केही महीनाअघि जारी गरेको एक अध्ययन प्रतिवेदनअनुसार विश्वभर करीब २ अर्बजति श्रमिकहरू अनौपचारिक क्षेत्रसँग आबद्ध छन् । र, यो संख्या भनेको विश्वमा उपलब्ध सम्पूर्ण युवा श्रमशक्तिको करीब ६० प्रतिशत हुन आउने रहेछ । एशियाली विकास बैंकका अनुसार अनौपचारिक अर्थतन्त्रले न्यून तथा माध्यम आय हुने मुलुकहरूको ‘जीडीपी’को औसत ३५ प्रतिशत अंश र विकसित मुलुकहरूमा औसत १५ प्रतिशत अंश ओगटेको पाइन्छ । हुन त कतिपय अध्ययनले अनौपचारिक अर्थतन्त्रको वृद्धिले पनि देशको अर्थतन्त्रलाई धेरै दृष्टिले सकारात्मक योगदान नै दिएको देखाएका छन् तापनि जुन देशमा अनौपचारिक अर्थतन्त्रको आकार ठूलो हुन्छ, त्यहाँ त्यो देशको क्षमताभन्दा कम दरमा आर्थिक वृद्धि हुने हुने कुरामा अधिकांश अर्थविद्हरूको एकमत छ । उनीहरूको विचारमा यसो हुनुको पछाडि वित्त माथिको पहुँचमा हुने सीमितता तथा राज्यले प्राप्त गर्ने राजस्वमा हुने कमीले मुख्य कारकको भूमिका खेलेका हुन्छन् । फेरि अनौपचारिक क्षेत्रमा आबद्ध श्रम शक्तिहरू औपचारिक क्षेत्रमा संलग्न हुने श्रमिकहरूको तुलनामा सामान्यतया कम आर्जन गर्ने र गरीबीको रेखाको आसपास मात्र रहेका हुन्छन् । यसका अतिरिक्त तिनीहरूले वित्तीय पहुँच नपाउने मात्र होइन कि सामाजिक सुरक्षाका कतिपय सुविधाबाट समेत उनीहरू वञ्चित रहन्छन् ।  यसै गरी लैंगीय विभेद अनौपचारिक अर्थतन्त्रको अर्को नकारात्मक पक्ष रहिआएको छ । एशियाली विकास बैंकका अनुसार विश्वभर यस्ता अनौपचारिक तथा कम आय हुने क्षेत्रमा संलग्न श्रम शक्तिमध्ये ५८ प्रतिशतजति त महिला मात्र छन् । अझ कतिपय अफ्रिकी मुलुकको तथ्यांक हेर्ने हो भने गैरकृषिक्षेत्र जस्ता अनौपचारिक क्षेत्रमा आबद्ध भएका महिलाहरूको प्रतिशत करीब ८३ रहेको छ । किन फस्टाउँछ अनौपचारिक अर्थतन्त्र ? सरकारी गलत नीति, श्रम शक्तिमाथि पर्याप्त शिक्षा तथा तालीमको अभाव, पूर्वाधार सेवाको अभाव, कमजोर आर्थिक तथा पारिवारिक अवस्था जस्ता तत्त्वहरूले अनौपचारिक क्षेत्रलाई विस्तार हुने अवसर प्रदान गर्छन् । यसका अतिरिक्त नियामकीय तथा प्रशासनिक जटिलता, बारम्बार हुने कानूनी परिवर्तन, सूचना माथिको सीमित पहुँचजस्ता तत्त्वहरूले समेत अनौपचारिक अर्थतन्त्रलाई फस्टाउने अवसर प्रदान गर्ने बताइन्छ । अन्तरराष्ट्रिय रूपमा नै अहिले जल्दोबल्दो विषयका रूपमा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीसम्बन्धी कार्यक्रमहरूका कारण पनि अप्रत्यक्ष रूपमा अनौपचारिक अर्थतन्त्रले मौलाउने अवसर प्राप्त गरेको आशंका गरिन्छ । समाजमा हुने सबै सम्पत्ति तथा नगदको वैधानिक स्रोत पुष्टि गर्ने कागजातको अभावमा पछि कानूनी फन्दामा परिने डरले वैध सम्पत्ति धारण गर्ने मानिससमेत त्यस्तो सम्पत्ति तथा नगदको भण्डारण अनौपचारिक क्षेत्रमै गर्न प्रेरित हुने कारणले समेत अनौपचारिक अर्थतन्त्रले मौलाउने अवसर प्राप्त गरेको हुन सक्छ । यही परिप्रेक्ष्यमा अहिले नेपाल राष्ट्र बैंकले निश्चित सीमाभन्दा बढी रकममा भएको नगद कारोबारसम्बन्धी विवरण बैंकहरूबाट मागेको समाचार बाहिरिए पछि त्यसले पनि नजानिँदो तरीकाले वैध र स्वाभाविक कारोबार गर्नेहरू समेत झस्किन पुगेको कुरा व्यवसायीहरूले व्यक्त गरिरहेका छन् । यस्तो परिस्थितिको नतिजा भनेको फेरि पनि अनौपचारिक अर्थतन्त्र मोटाउनु नै हो । कसरी संकुचन गर्ने ? अनौपचारिक क्षेत्रलाई घटाउने नीतिगत व्यवस्थामध्ये विशेष गरी चार प्रकारका नीतिहरूलाई प्रभावकारी मानिन्छ । सबैभन्दा महत्त्वपूर्ण नीतिगत हस्तक्षेपमध्ये गुणस्तरीय शिक्षामाथिको आम पहुँचमा वृद्धिलाई प्रेरित गर्ने नीतिलाई प्रमुख मानिन्छ ।  अनौपचारिक क्षेत्रमा नै कायम हुन प्रोत्साहित हुने किसिमको कर नीतिमा यथोचित परिवर्तन गरेर पनि अनौपचारिक क्षेत्रलाई संकुचित गर्न सकिन्छ । त्यसै गरी वित्तीय पहुँच अभिवृद्धि हुने खालको नीतिगत व्यवस्थाले पनि अनौपचारिक अर्थतन्त्रलाई घटाउन सकारात्मक योगदान दिने कुरा अध्ययनहरूले देखाएका छन् । यसका अतिरिक्त अनौपचारिक क्षेत्रले औपचारिक भए पछि बेहोर्नुपर्ने अतिरिक्त विविध किसिमका व्ययहरूलाई समेत सरलीकरण गर्नाले पनि अनौपचारिक क्षेत्रलाई औपचारिकतर्फ परिवर्तित हुन अभिप्रेरित गर्ने हुन्छ । यसका लागि नियामकीय तथा प्रशासकीय प्रक्रियाहरूलाई सरलीकृत गर्नेदेखि लिएर सरकार र जनताबीच प्रत्यक्ष सम्पर्क कायम सघाउने किसिमका प्रविधिहरूको प्रयोग पनि सहायक सिद्ध हुन सक्छन् । यी सबै तथ्यको आधारमा कुनै पनि देशको दिगो विकासका लागि अनौपचारिक क्षेत्रको संकुचनलाई पहिलो शर्त मान्न सकिन्छ । लेखक बैंकर हुन् ।

सम्बन्धित सामग्री

कम्पनीमार्फत घरजग्गा कारोबारमा विलम्ब

घरजग्गा कारोबार निकै अव्यवस्थित भएको र सरकारले राजस्वसमेत गुमाइरहेको अवस्थामा यसलाई कम्पनीमार्फत मात्रै कारोबार गर्न पाइने व्यवस्था गर्ने भनिए पनि यसको कार्यान्वयनमा सरकारले कुनै चासो दिएको छैन । बजेट वक्तव्यमा उल्लेख गर्दै आए पनि त्यसको कार्यान्वयन गर्न आवश्यक कानून र कार्यविधि नबन्दा यो कार्यक्रम अलपत्र परेको हो । मुलुकको अनौपचारिक अर्थतन्त्र उच्च रहेको र घरजग्गा कारोबार नै अनौपचारिक कारोबारको ठूलो माध्यम भइरहेको बेला यथाशीघ्र कम्पनीमार्फत घरजग्गा किनबेच गर्ने व्यवस्था गर्न आवश्यक छ ।  अहिले व्यक्तिले सीधै घरजग्गा किनबेच गर्ने प्रचलन छ । तर, व्यवहारमा भने जग्गादलालहरूले क्रेता र विक्रेताबीच सम्पर्क मिलाउने काम गर्छन् । जग्गादलालहरूले जग्गाको मूल्य जथाभावी बढाउने गरेको पनि पाइन्छ । कम्पनीमार्फत घरजग्गाको कारोबार नहुँदा अहिले एउटै घरजग्गाको मूल्य नै फरकफरक मूल्यमा कारोबार देखाउने गरिएको छ । राजस्व तिर्ने प्रयोजनका लागि राखिने थैलीको मूल्य बेग्लै हुन्छ भने वास्तविक कारोबार अर्कै मूल्यमा भएको हुन्छ । त्यस्तै बैंक प्रयोजनका लागि अलग मूल्य बनाउने पनि गरिएको छ । थोरै मूल्य राखेर कम कारोबार शुल्क तिर्ने गरिएको छ । दलालले गर्ने आम्दानी पनि करको दायरामा आउन सकेको छैन । यसबाट सरकारले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ । सरकारी कर्मचारी कम्पनीमार्फत कारोबार गराउने कुरामा अनिच्छुक देखिएका छन् । यो अनौपचारिक भएकाले उनीहरूको आमदानी लुकाउने, भ्रष्टाचारको पैसालाई शुद्धीकरण गर्ने माध्यम बनेको छ ।  जसरी शेयर कारोबारका लागि दलाल कम्पनीहरूले काम गर्छन् र बजार मूल्यअनुसार शेयर खरीदविक्री हुन्छ त्यसैगरी घरजग्गा पनि किनबेच हुन्छ । यसका लागि घरजग्गा व्यवसायी कम्पनी सरकारी कार्यालयमा दर्ता हुनुपर्छ । कम्पनीले कुनै गल्ती गरे उसलाई कारबाही हुन्छ । अहिले घरजग्गा कारोबार अनलाइन प्रणालीबाट समेत हुने गरेको छ । त्यसो हुँदा कम्पनीमार्फत कारोबार गराउन सजिलो छ । विश्वभरि नै यस्तै अभ्यास पाइन्छ । कम्पनीमार्फत घरजग्गाको कारोबार गराउनुपर्छ भनेर आवाज उठेको पनि निकै भइसकेको छ । सरकारले बजेटमा यसलाई समावेश गरेको पनि केही वर्ष भइसकेको छ । तर, कानून बन्न सकेको छैन । यसका लागि विद्यमान कानूनका केही बुँदाहरू संशोधन गर्नुपर्ने हुन्छ । संशोधन विधेयक संसद्मा दर्ता भइसकेको बताइन्छ । संसद्ले यसलाई छिटो पारित गर्नुपर्छ र यसअनुसार कार्यविधि बनाइनुपर्छ ।  तर, अहिले सरकार परिवर्तन भएको छ । संसद्मा प्रस्तुत भएको बजेटको प्राथमिकता र सिद्धान्तमा छलफल हुनुपर्ने हो तर नयाँ सरकारले त्यसैलाई निरन्तरता दिन्छ कि अर्को कार्यक्रम संसद्मा लैजान्छ भन्न सकिँदैन । अब केही समय मन्त्री बनाउने, प्रदेश सरकार फेरबदल गर्ने जस्ता काममा नै सरकार अलमलिने निश्चित छ । नयाँ गठबन्धन कसरी अघि बढाउने भन्नेमा नै यो सरकार लाग्नेछ र संसद्को बैठक पनि तत्काल नबस्न सक्छ । नयाँ बजेटमा यो कार्यक्रम पर्छ कि पर्दैन भन्ने निश्चित छैन । नेपालमा विकास निर्माणका कामले गति लिन नसक्नुमा यस्तै कारण रहेका छन् ।  संसद्को काम कानून बनाउने भए पनि उसले फटाफट त्यहाँ प्रस्तुत भएका विधेयक पारित गर्न सकेको छैन । कानून नबन्दा थुप्रै काम प्रभावित भएका छन् । घरजग्गा कारोबार कम्पनीमार्फत गराउन यही कारण विलम्ब भइरहेको छ ।  अर्को कुरा, सरकारी कर्मचारी कम्पनीमार्फत कारोबार गराउने कुरामा अनिच्छुक देखिएका छन् । धेरै कर्मचारीले घरजग्गामा लगानी गरेका छन् । हुन सक्छ, कतिपय कर्मचारी नै दलालीमा लागेका छन् । यो अनौपचारिक भएकाले उनीहरूको आमदानी लुकाउने, भ्रष्टाचारको पैसालाई शुद्धीकरण गर्ने माध्यम बनेको छ । कम्पनीबाट कारोबार गर्दा उनीहरू समस्यामा पर्न सक्छन् । त्यसैले घरजग्गा कारोबारमा देखिएका धेरै विकृति रोक्न कम्पनीमार्फत कारोबार गराउने व्यवस्था छिटो शुरू गर्न सरकारले काम गर्न ढिला भइसकेको छ ।

झन् झन् फस्टाउँदै अनौपचारिक अर्थतन्त्र

नीतिगत अस्थिरता र अस्थिर सरकारका कारण मुलुकको अर्थतन्त्रमा अनौपचारिक क्षेत्र झन् विस्तार हुँदै गएको पाइएको छ । अनौपचारिक क्षेत्रलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्ने चर्चाका बिच यो क्षेत्र झन् फस्टाएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार’ सम्बन्धी अध्ययन प्रतिवेदनले नीतिगत अस्थिरता र अनौपचारिक अर्थतन्त्रको सोझो सम्बन्ध देखाएको हो ।

सम्पत्ति शुद्धीकरण रोक्न गम्भीर हुनुपर्छ

नेपालले सम्पत्ति शुद्धीकरण रोक्न पर्याप्त काम नगरेको भनी फाइनान्सियल एक्शन टस्क फोर्स (एफएटीएफ) अन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) ले असन्तुष्टि व्यक्त गर्दै आएको छ । यही बेला वित्तीय कारोबार गर्ने बैंक, सहकारी, बीमा, रेमिट्यान्स, धितोपत्र दलाललगायत कम्पनीहरूमा सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबारको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ । यसले शुद्धीकरणमा नेपालले पर्याप्त सुधार नगरेको भनी आलोचना गरेको एपीपीलाई नेपालप्रति नकारात्मक बनाउन सक्छ । त्यसो हुँदा नेपाल खैरो सूचीमा पर्ने सम्भावना बढ्न सक्छ । त्यसैले यो बढ्दो आँकडाले नेपालमा अवैध आर्जनको शुद्धीकरण हुन सक्ने देखाएको छ । नेपालले सम्पत्ति शुद्धीकरण रोक्न पर्याप्त कानूनी र अन्य सुधार गर्न ढिला भइसकेको छ । नेपालमा भ्रष्टाचार भयावह स्तरमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनललगायत निकायले प्रतिवेदन प्रकाशित गर्दै आएका छन् । त्यस्तै अनौपचारिक अर्थतन्त्र पनि उत्तिकै बलियो छ । यस्तोमा सम्पत्ति शुद्धीकरणको सम्भावना ज्यादा रहन्छ । सम्पत्ति शुद्धीकरण सहज भएमा अवैध आर्जन गर्न प्रोत्साहन मिल्छ । त्यसैले यसलाई रोक्न सरकार गम्भीर हुनुपर्छ । सम्पत्ति शुद्धीकरणबाट आतंकवादमा लगानी हुन सक्ने भनी अन्तरराष्ट्रिय रूपमा यसलाई रोक्न विभिन्न कार्यसूची बनाइएका छन् । यसको मूल्यांकनका लागि एफएटीएफले विभिन्न आधार तय गरेको छ । ती बुँदामध्ये केही बुँदामा नेपालले सुधार गरे पनि केही बुँदामा सुधार गर्न बाँकी छ । त्यसैले एपीजीले नेपाललाई निगरानीको सूचीमा राखेको छ । यदि ती सुधार गर्न नसके नेपाल खैरो सूचीमा पर्न पनि सक्छ । क्यानडाको भ्यानकुभरमा गत असार २४ देखि २९ गतेसम्म आयोजित एपीजीको बैठकमा नेपालको सुधारप्रति आंशिक सन्तुष्टि व्यक्त भएको थियो । नेपालले संसद्मा प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ का कारण नेपाल खैरो सूचीमा पर्नबाट जोगिएको बताइन्छ । तर, नेपाल निगरानीमा भने रहिरहेको छ । यस्तो अवस्थामा सम्पत्ति शुद्धीकरणको शंकास्पद कारोबार बढ्दा नेपाल सचेत हुनुपर्छ । शंकास्पद कारोबारको अर्थ सम्पत्ति शुद्धीकरण भएको छ भन्ने होइन । तर पनि यसले सम्पत्ति शुद्धीकरणको सम्भावनालाई सतहमा ल्याइदिएको छ । सम्पत्ति शुद्धीकरणका लागि विभिन्न उपाय अपनाइन्छन् जुन सामान्य तरीकाले सोच्नै सकिँदैन । खेलकुददेखि धार्मिक संघसंस्थामा दिइने दानसम्मका क्रियाकलापबाट सम्पत्ति शुद्धीकरण भइरहेको छ । यस्तोमा शंकास्पद कारोबार बढ्दा तिनको अनुसन्धानमा निकै गम्भीर हुनुपर्ने देखिन्छ । सम्पत्ति शुद्धीकरणका सूचनाहरू संकलन तथा विश्लेषण गर्दे आएको वित्तीय जानकारी एकाइका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा शंकास्पद कारोबारको सूचना संख्या ११३ दशमलव ४८ प्रतिशतले बढेर ५ हजार ९३५ पुगेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रावधानहरू कार्यान्वयन गर्न सचेतना बढेको र नियामक निकायहरूले कडाइ गरेकाले यस्तो संख्या बढेको उसको भनाइ छ । यसो हो भने पनि आवश्यक कानूनहरू बनाउन ढिला गर्नु हुँदैन । सम्पत्ति शुद्धीकरण रोक्न नेपाल सक्रिय छ भन्ने कुरा यस्तो कारोबार संख्या खोजेकाले प्रमाणित हुन्छ भनेर अन्तरराष्ट्रिय जगत्ले पत्याउँदैन । उसले पत्याउने भनेको मुलुकले बनाएको कानून र तिनको कार्यान्वयनका लागि खडा भएको संरचना नै हो । यसमा नेपाल चुकेको छ ।

अर्थतन्त्रको लय कतातिर ? : संकटको वास्तविकतामै विवाद

नेपालको अर्थतन्त्र संकटमा छ भनेर विश्लेषण भइरहँदा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक रहेको देखाएको छ । उद्यमी व्यवसायीहरूले अप्ठ्यारो अनुभव गरिरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले अप्ठ्यारामा पुगेको अर्थतन्त्रलाई सम्हालेको र अब केही समयमा नै नतिजा देखिने दाबी गरिरहेका छन् । सरकारले प्रस्तुत गरेको तथ्यांक, निजीक्षेत्रको दाबी र सर्वसाधारणले भोगेको अनुभवलाई हेर्दा अर्थतन्त्रमा तालमेल नमिलेको, तथ्यांकमा केही त्रुटि भएको र आआफ्नो स्वार्थको आधारमा विश्लेषण गरेको देखिन्छ । त्यसैले साँचिकै अर्थतन्त्रमा के भइरहेको छ भन्नेमा चाहिँ सर्वसाधारण कुहिराको काग बन्नुपर्ने अवस्था छ । एउटा उद्यमीका रूपमा मैले देखेको अर्थतन्त्र विगतकै निरन्तरताबाहेक खासै ठूलो संकट आएको वा समाधान भएको देख्दिनँ ।  सकारात्मक संकेत पछिल्लो समय महँगी केही घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । पछिल्लो समय विप्रेषण आप्रवाह बढिरहेको छ । त्यस्तै आयातमा कमी आउँदा विदेशी मुद्रा थपिँदै गएको छ । तर, विदेशी मुद्रा पर्याप्त भए पनि आवश्यक वातावरण नहुँदा सरकार र निजीक्षेत्रको खर्च गर्ने क्षमतामा वृद्धि भएको देखिँदैन । विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष (आव) को ४ महीनामा नै कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेको छ । चार महीनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महीनाको वस्तु आयात र ११.३ महीनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ । नेपाल श्रीलंका बन्न लागेको भाष्यलाई यसले चिरिदिएको छ । विदेशी मुद्राको अभाव भएर वस्तु आयात गर्न नसक्ने अवस्था नेपालमा देखिँदैन । यसो हुनुमा सरकारले आयातमा गरेको कडाइ एउटा कारण हो । तर, आयात खुला गर्दा पनि वस्तुको आयात बढ्न सकेको छैन । यो नबढ्नु राम्रो हो कि नराम्रो हो भन्न सकिँदैन । यो नबढ्नुको अर्थ उपभोग क्षमता घटेको भनेर अर्थ लगाइँदै छ । तर, उपभोगको मुख्य आधार भनेको विप्रेषण हो र यो बढिरहेको छ । त्यसो भए बचत बढेको हो भन्नुपर्छ । त्यो भनेको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो । तर, व्यापक विरोध र मागपछि अहिले राष्ट्र बैंकले नीति परिवर्तन गरेपछि ब्याजदर घटेको छ ।  यसपछि कर्जा केही बढेको छ र बैंकहरू अत्यधिक तरलताको समस्या भोगिरहेका छन् । एक वर्षअघिको तरलताको अभाव हटेको छ । तर, पनि अर्थतन्त्रका केही पक्षहरू सही देखिन्नन् । कात्तिकसम्मको तथ्यांकअनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । त्यस्तै चालू खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको देखिन्छ । तर, अघिल्लो आवको यही अवधिमा चालू खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अर्थतन्त्रको माखिसांग्लो  अर्थतन्त्रमा सुधार आएको भन्ने सरकारको दाबीलाई शेयरबजारमा निरन्तर भइरहेको केही वृद्धि र घरजग्गा कारोबारमा देखिएको सुधार पनि हो । कोरोना कालमा सुस्ताएको अर्थतन्त्रलाई राहत दिन सरकारले ल्याएको सस्तो पैसा घरजग्गा तथा शेयरबजारमा गएको थियो । तर, यी दुवै क्षेत्रमा मन्दी आएपछि अर्थतन्त्र नै संकटमा देखिएको हो । पैसा शेयरमा डुबेको छ र घरजग्गाको कारोबार नै छैन । यसो भएपछि व्यवसायहरू नै चौपट बन्न पुगेका हुन् । यी क्षेत्रमा उद्योगी व्यवसायी, बैंकर, सरकारी कर्मचारी जो केही लगानी गर्न सक्छन्, ती सबैले यी क्षेत्रमा लगानी गरे । त्यसैको परिणति अर्थतन्त्रमा फोका उठेको थियो । सरकारले यी कुरामा नियन्त्रण गर्न खोज्दा समस्या झनै चर्कियो । अहिले यी क्षेत्रलाई खुकुलो बनाएर अर्थतन्त्र सुधार्न खोजिएको छ । यसो गर्दा आउने समस्या भनेको पुरानै रोगको पुनरावृत्ति हो अर्थात् सरकारले सस्तो पैसा शेयर र घरजग्गामा लगानी गर्ने बाटो बनाइदिएपछि ती क्षेत्र बढ्छन् र कुनै पनि बेला त्यो फोका फुट्न सक्छ । नेपालको अर्थतन्त्रको समस्या नै यही हो । नेपालको जग्गाको भाउ यूरोप अमेरिकाका शहरी क्षेत्रसरह पुगेको छ भनिन्छ । त्यो घरजग्गा किन्नका लागि भ्रष्टाचारको पैसा प्रयोग हुन्छ । जिन्दगीभरको कमाइले घरजग्गा जोड्न नसक्ने भए पनि युवावर्ग निराश भएर देश छाड्दै छ । तिनलाई देश छाड्न सहयोग गर्ने पनि यही घरजग्गा क्षेत्र हो । घरजग्गामा लगानी गर्नेको हातमा केही पैसा परेपछि त्यही पैसा देखाएर क्यानडा र अस्ट्रेलिया उड्नेको संख्या बढेको हो । अर्थतन्त्रको यो चक्र यति अप्ठ्यारोमा छ कि त्यसको गाँठो फुकाउन सरकार, राष्ट्र बैंक र प्रशासनयन्त्रसँग सामथ्र्य नै देखिँदैन । एकातिर छोयो अर्कातिर प्वाल परिहाल्छ । त्यही प्वाल टाल्न अर्को केही वर्ष लाग्छ । अहिलेको कर्जामा खुकुलो नीतिले संकटको प्वाल टाल्न सक्छ कि सक्दैन, केही वर्ष कुुर्नुपर्ने हुन्छ ।  आयात–निर्यात र अर्थतन्त्र देशको अर्थतन्त्रको सबैभन्दा बलियो आधार आयातनिर्यात नै हो । हामीले कति र कस्तो वस्तु आयात गरेका छौं र कस्तो वस्तु निर्यात गरेका छौं, त्यसको अर्थतन्त्रको दिशा र दशा निर्धारण गर्छ । नेपालबाट निर्यात भएका वस्तुको परिमाण, देश र वस्तुको संख्या तथा तिनको उत्पादन स्थिति हेर्दा नेपालको अर्थतन्त्र कहालीलाग्दो छ । प्रणालीभित्रको कुनै छिद्र खोजेर वा सुविधा हेरेर तत्कालीन लाभका आधारमा वस्तुहरूको आयात र निर्यात भइरहेको छ । दिगो अर्थतन्त्रलाई टेवा पुग्ने गरी ज्यादै कम वस्तुमात्र आयात र निर्यात भइरहेका छन् । चार महीनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३ दशमलव ८ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३ दशमलव ३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४ दशमलव ५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ३०७ दशमलव ९ प्रतिशत र ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।  पहिलो र प्रमुख समस्या भनेको नेपालबाट निर्यात ज्यादै कम हुनु हो । यसले हामीलाई विदेशी मुद्रा कमाउन अवसर प्रदान गर्दैन । स्वदेशमा आम्दानीको अवसर सीमित छ । नेपालमा सबै आन्तरिक माग आयातले धान्ने गरेको छ । नेपालमा निर्यात र आयात करीब करीब १:१३ अनुपात छ । तुलनात्मक लाभका वस्तुको उत्पादन पनि रोकिएको छ । आयातित वस्तुमा पुन: निर्यात गर्दा पनि मूल्य अभिवृद्धि भएको देखिँदैन । सरकारी खर्चको चिन्ता महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म नेपाल सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आवको पहिलो ४ महिनामा २२ दशमलव १ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिमा १ दशमलव ३ प्रतिशतले मात्र वृद्घि भएको छ । चालू आवको पहिलो ४ महीनामा चालू खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पूँजीगत खर्च २९ अर्ब ९९ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । नेपालको अर्थतन्त्रको संरचना करीब ५१ खर्ब पुगेको मानिन्छ । यति सानो संरचना भएको अर्थतन्त्रमा धेरै समस्या छन् । अर्थतन्त्र उकास्ने भनेको सरकार र निजीक्षेत्रले हो । अस्थिर राजनीतिका कुनै पनि दलले पूर्ण अवधि सरकार चलाउन सकेको छैन । अर्थनीतिभन्दा माथि राजनीति हुनुपर्नेमा अर्थनीतिमाथि राजनीति हाबी भएको छ । राजनीति नै कमजोर भएकाले नीति निर्माण पनि कमजोर भइरहेको छ । निर्माण भएका नीतिको कार्यान्वयन पनि निकै कमजोर रहेको छ ।  सुदृढ अर्थतन्त्रका लागि सरकार नै महत्त्वपूर्ण पक्ष हो । सरकारले निर्माण गर्ने वित्त नीतिमा कमीकमजोरी देखिएका छन् । बजेट तर्जुमा नै हचुवा किसिमबाट हुने गरेको छ । आम्दानी र खर्चमा सामञ्जस्य हुन सकेको छैन । सरकारले गर्ने आम्दानी भनेको राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋण हो ।  हामीले कति र कस्तो वस्तु आयात गरेका छौं र कस्तो वस्तु निर्यात गरेका छौं, त्यसको अर्थतन्त्रको दिशा र दशा निर्धारण गर्छ । नेपालबाट निर्यात भएका वस्तुको परिमाण, देश र वस्तुको संख्या तथा तिनको उत्पादन स्थिति हेर्दा नेपालको अर्थतन्त्र कहालीलाग्दो छ । विकासका लागि पूँजीगत खर्च बढी हुनुपर्छ । तर, केही वर्षदेखि विकास खर्चभन्दा चालूगत खर्च धेरै हुने गरेको छ । यसले के देखाउँछ भने विकास खर्चलाई हाम्रो अर्थतन्त्रले प्राथमिकतामा नराख्दा यो ओझेलमा परेको छ । यस्तो अवस्था आउनुलाई अर्थशास्त्रीय दृष्टिकोणबाट राम्रो मानिँदैन । साथै, पूँजीगत खर्च बढाउनुपर्नेमा चालूगत खर्च बढ्दै गयो भने अनुत्पादक खर्चको बाहुल्य हुने गर्छ । यसले अर्थतन्त्रलाई कमजोर बनाउँछ । त्यसैगरी, सरकारले गर्ने खर्च मितव्ययी हुन सकेको छैन । सरकारबाट प्रवाह हुने सेवा महँगो भएको छ । अन्तरराष्ट्रिय स्तरमा नै वस्तु तथा सेवा महँगो हुँदा आयातित वस्तु तथा सेवा स्वत: महँगो हुन्छ । आयातमा आधारित अर्थतन्त्र भएकाले कच्चा पदार्थ, खाद्य सामग्री, प्रविधि तथा निर्माण उपकरणजस्ता वस्तु खरीदको बाह्य भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ र आयातित वस्तु वृद्धि हुँदा अर्थतन्त्रमा असर परेको छ । विप्रेषण वृद्धि र अर्थतन्त्र  अहिले देशको अर्थतन्त्र विप्रेषणले धानेको छ । करीब १२–१३ खर्ब रुपैयाँ विप्रेषण भित्रिइरहेको छ । यदि यो रकम प्राप्त नहुँदो हो त बाह्य अर्थतन्त्रमा ठूलो दबाब आउन सक्थ्यो । देशको अर्थतन्त्र बलियो भएको अवस्थामा वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्ने कुरा राम्रो हुन्थ्यो । सस्तो श्रम बेचेर प्राप्त गरेको आम्दानी पनि उत्पादनको क्षेत्रमा लगानी हुन सकेको छैन । जीवन निर्वाहका लागि मात्र विप्रेषणको रकम खर्च गर्ने हो भने देशको अर्थतन्त्र बेलुन फुलेसरह हुनेछ । जुन कुनै पनि बेला विस्फोट हुन सक्छ । बुझ्नुपर्ने कुरा के हो भने, विप्रेषणबाट आउने सबै रकम वैधानिक बाटोबाट आएको छैन । हुन्डीजस्ता अवैध मार्गबाट प्रवेश गर्ने हुँदा यसले पनि अर्थतन्त्रमा समस्या सिर्जना गरेको छ । विप्रेषणबाट आउने सम्पूर्ण रकमलाई वैधानिक बाटोबाट भित्त्याउन सकियो भने यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्नेछ । विप्रेषणको रकमले आयातका लागि विदेशी मुद्रा पुग्ने गरेको छ । अहिले विप्रेषण बढेकाले विदेशी मुद्राको सञ्चिति निकै बढेको छ । विप्रेषणले उपभोग बढाएको छ । त्यो उपभोगका लागि चाहिने सामान नेपालमा उत्पादन नहुँदा ती सामानका लागि पैसा विदेशिने गरेको छ । उत्पादन बढाउन सकेको भए विप्रेषणको पैसा नेपालमै बस्थ्यो । नेपाल धनी बन्न सक्थ्यो ।  भ्रष्टाचार र अनौपचारिक अर्थतन्त्र  अर्थतन्त्रको ठूलो शत्रु भ्रष्टाचार हो । यही कारण देशमा लगानी गर्ने वातावरण बनेको छैन । भ्रष्टाचारकै कारण अनौपचारिक अर्थतन्त्र मौलाएको छ । घरजग्गा महँगिनुको कारण पनि भ्रष्टाचार नै हो । वैधभन्दा अवैध आयात बढी भएकाले अनौपचारिक अर्थतन्त्र निकै बलियो बनेको छ । कुल अर्थतन्त्रको आधा त अनौपचारिक अर्थतन्त्र रहेको अनुमान छ । यसले अवैध कारोबार बढ्दै गएको छ भने सरकारले राजस्व गुमाउँदै गएको छ । गैरसरकारी संघसंस्थाहरूले अनौपचारिक बाटोबाट अनुदान ल्याउँदा पनि अनौपचारिक क्षेत्र बढेको छ । यसरी अनौपचारिक क्षेत्र हाबी हुँदै गयो भने अर्थतन्त्रको जोखिम बढ्दै जान्छ । भ्रष्टाचारकै कारण विदेशी लगानीकर्ता नेपाल आउन अनिच्छुक देखिएका हुन् । ब्याजदर, निक्षेप र मुद्रास्फीति तरलता अभावले गर्दा ब्याजदर बढ्यो । राष्ट्र बैंकले ब्याजदर बढाएर कर्जा महँगो बनाई उपभोग घटाउने रणनीति लियो । ब्याजदर बढी हुँदा बैंकहरूले लगानी गर्न सकेनन् । अहिले तरलता बढेपछि ब्याजदर घट्न थालेको छ । ब्याजदर घट्दै गयो भने पैसा पलायन हुन्छ । बैंकहरूमा निक्षेप घट्न थाल्छ । त्यसले फेरि ब्याजदर बढ्न सक्छ । नेपालमा यो चक्र चलेको पनि धेरै भइसकेको छ । ब्याजदर मुद्रास्फीति भन्दा थोरै भए पछि बैंकको विकल्प खोज्न थालिन्छ । त्यसले घरजग्गा र शेयरबजार उचाल्छ । यसले दीर्घकालीन रूपमा हाम्रो आर्थिक वृद्धिलाई असर गर्छ । त्यसैले ब्याजदर, निक्षेप र मुद्रास्फीतिलाई सन्तुलनमा राख्नु आवश्यक छ । यसमा सरकार र राष्ट्र बैंकको समन्वयकारी र समुचित भूमिका आवश्यक पर्छ । यो अवस्थामा उद्योगहरूमा लगानी बढाउने हो भने मात्रै उचित समाधान निस्कन्छ । तर, नेपालमा लगानीको वातावरण बन्न सकेको छैन । सरकारको दायित्व अर्थतन्त्र खस्कँदै गए पनि त्यसलाई लयमा ल्याउन राजनीतिक प्रतिबद्धता चाहिन्छ । नीतिगत सुधार चाहिन्छ । केही संरचनागत परिवर्तन पनि आवश्यक हुन्छ । टालटुले नीति र पुरानै संरचनाबाट काम गर्ने हो भने अर्थतन्त्रले गति नलिने निश्चित छ । अस्थिर सरकारका कारण नीति पनि अस्थिर हुने गरेको छ । त्यसैले सरकारले साहसिक कदम चाल्नैपर्छ । केही कठोर र अप्रिय निर्णय लिनैपर्छ । त्यस्तो हिम्मत गर्ने सरकार नआएसम्म अर्थतन्त्रमा तात्त्िवक अन्तर आउने देखिँदैन । लगानी बढाएर उत्पादन नबढाएसम्म अर्थतन्त्र दिगो बन्न सक्दैन । आन्तरिक उत्पादनले आयात कम गर्न सक्नुपर्छ, निर्यात बढाउन सक्नुपर्छ । अहिलेको विश्वमा जुन मुलुकले उत्पादन गर्न सक्छ त्यसैको अर्थतन्त्र बलियो हुन्छ, सरकार पनि बलियो हुन्छ । त्यसकारण सर्वप्रथम आन्तरिक उत्पादनमा वृद्धि गर्नैपर्छ । अर्थतन्त्र सुधार भनेकै उत्पादन बढाउनु हो । करीब ६७ प्रतिशत जनसंख्या कृषिमा लागेको तथ्यांक छ र कुल गार्हस्थ्य उत्पादनमा २४ प्रतिशत योगदान भए पनि यो क्षेत्र उपेक्षित नै छ । बिउ, मल, सिँचाइ, कृषि उपकरणजस्ता आधारभूत कुराको सधैं हाहाकार भइरहन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

आर्थिक नीतिमा दातृ निकायको दबाब

ब्याजदर उच्च अंकमै कायम राख्न अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपाल राष्ट्र बैंकलाई दबाब दिएको भनी निजीक्षेत्रले यसको विरोध गरिरहँदा अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता भएकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग मेल खान नसक्ने बताएका छन् । विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी भएर नेपाल फर्किएपछि उनले दातृ निकायको सुझाव पालना गर्नैपर्छ भन्ने नभएको बताए । तर, आईएमएफ वा विश्व बैंक ऋणदाता हुन् भने नेपाल ऋणी हो । ऋणीले ऋण लिँदा यी यी शर्तहरू पूरा गर्छु भनेको हुन्छ । त्यो शर्त नेपालले पूरा गर्नैपर्छ । तर, यी संस्थाका उच्च ओहोदामा नेपाली पुग्न सकेको भए त्यस्ता शर्तहरू नरम खालका बनाउन सकिन्थ्यो जसमा नेपाल चुकेको छ । नेपाल राष्ट्र बैंकले अहिले चालू पूँजी कर्जा मार्गदर्शनबाट ब्याजदर कसिलो बनाउने नीति लिनुका साथै कर्जा संकुचन हुने नीति लिएको छ । यसमा आईएमएफको दबाबले काम गरेको छ भन्ने सरोकारवालाहरूको बुझाइलाई अन्यथा मान्नुपर्ने कारण देखिँदैन । अन्तरराष्ट्रिय दातृ निकायहरूले आफ्नै खालको विश्लेषण गरेका हुन्छन् । त्यस्तै उनीहरूको आफ्नो स्वार्थ पनि हुन्छ । यी संस्थाले दिएका शर्त पालना गर्दा धेरै मुलुक संकटमा फसेका छन् । संकटमा फसेको मुलुकलाई उद्धार गर्न फेरि यी नै संस्थासँग गुहार माग्नुपर्ने बाध्यता हुन्छ ।  आईएमएफ र विश्व बैंक जस्ता संस्थाको उच्च तहमा आफ्ना प्रतिनिधि पुर्‍याउन आवश्यक कूटनीति र लबिङको काम गर्न नेपाल चुकेको छ । यदि यी संस्थाका उच्च ओहोदामा नेपाली पुगेको भए नेपाललाई केही न केही सहज हुन्थ्यो । नेपाल आईएमएफको सञ्चालकमध्ये एक हो । त्यसैले त्यहाँ कार्यरत कर्मचारीभन्दा नेपालका अर्थमन्त्रीको हैसियत बढी हुन्छ । आईएमएफको बोर्डमा अर्थमन्त्री गभर्नर र राष्ट्र बैंकका गभर्नर वैकिल्पक गभर्नरका रूपमा रहेका हुन्छन् । त्यसैले अर्थमन्त्रीले बोर्डबाट नै नेपालजस्तो देशले लाभ लिन सक्ने नीति पारित गराउन भूमिका निर्वाह गर्न सक्नुपर्छ । यी संस्थाको उच्च तहमा आफ्ना प्रतिनिधि पुर्‍याउन आवश्यक कूटनीति र लबिङको काम गर्न नेपाल चुकेको छ । यदि यी संस्थाका उच्च ओहोदामा नेपाली पुगेको भए नेपाललाई केही न केही सहज हुन्थ्यो । नेपालले निश्चित शर्त पालना गर्छु भनेर ऋण स्वीकृत गराउने तर त्यसपछि ती शर्त पालना गर्न बेवास्ता गर्ने गरेको पाइन्छ । यसो गर्नु चाहिँ गलत हो । अर्थमन्त्रीले आईएमएफका शर्त पालना गर्ने नगर्ने बारेमा प्रतिक्रिया दिनुभन्दा यी संस्थामा नियमन बनाउन भूमिका खेल्न सक्नुपर्छ । तर, यसमा नेपालले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन । आइएमएफ वा विश्व बैंकमा जुन देशले प्रभाव पार्न सक्छ उसले सस्तोमा सहज तरीकाले पैसा पाउँछ । त्यसैले लबिङमा नेपालको सक्रियता जरुरी छ । आफू बलियो हुन सक्ने हो भने अरूले यसो गरे उसो गरे भनेर गुनासो गर्नुपर्ने अवस्था आउँदैन ।  नेपालको अर्थतन्त्र धेरै मात्रामा भारतीय नीतिबाट प्रभावित हुने खालको छ । त्यसैले वित्तीय वा मौद्रिक नीति तय गर्दा नेपालले आफ्नो अवस्थाअनुसार गर्नुपर्ने हुन्छ । खुला सिमानाका कारण नेपालमा अनौपचारिक अर्थतन्त्र औपचारिककै आकार बराबर रहेको छ । मौद्रिक वा वित्तीय नीतिले यो प्रवृत्तिलाई आत्मसात् नगरी अर्थशास्त्रीय दृष्टिकोणबाट कुनै नीति लियो भने त्यसले अर्थतन्त्रमा उल्टो असर पर्ने निश्चित छ । त्यसैले अर्थमन्त्री होस् वा गभर्नर कसैले पनि नेपालको अर्थतन्त्रले खोजे अनुसारको नीति लिनुपर्छ । आईएमएफ वा विश्व बैंकबाट ऋण लिँदा यी पक्षमा ध्यान जानु जरुरी छ । उदाहरणको लागि अहिले हौसिएर वा कुनै प्रभावमा परी अनेक शर्त मानेर ऋण लिएपछि भविष्यमा त्यो शर्त बाध्यकारी हुन्छ । कथम्कदाचित निर्णय गलत रहेछ भने त्यसको भागीदार देश नै हुने हो । त्यो बेला शर्त पालना नगर्ने भन्ने हुँदैन । नेपालजस्तो मुलुकका लागि त झनै शर्तबाट उम्कने ल्याकत छैन । त्यसैले अहिलेको संकटको कारण के हो भन्ने कुरा अर्थमन्त्रीले राम्ररी विश्लेषण गरेर निकास निकाल्न विशेष नीति लिनु जरुरी छ ।

अवैध कारोबार र अनौपचारिक अर्थतन्त्र

नियमसंगत कारोबार गर्ने व्यवसायीले विभिन्न नाममा अनेक समस्या भोग्ने गरेका समस्या वर्षौंदेखि उठ्दै आएका हुन् । यसै क्रममा वैध बाटोबाट सामान आयात गर्ने व्यवसायीसमेत सरकारको निशानामा पर्न थालेको गुनासो सार्वजनिक भएको छ । अर्कोतर्फ अवैध रूपमा कारोबार गर्नेहरू भने निर्धक्क छन् भन्ने आवाज पनि उद्योगी, व्यवसायीले नै उठाएका छन् ।  सरकारले खुला नाकाबाट भइरहेको चोरीपैठारी रोक्न विशेष पहल लिनुपर्नेमा वैध रूपमा काम गर्नेलाई निचोर्न खोज्नु शोभनीय हुँदैन । अवैध बाटोबाट हुने पैठारी रोक्न नसकिएको अवस्थामा सरकारले वैध बाटो भएर आयात गर्न प्रोत्साहन गर्नु जरुरी हुन्छ । तर, यसमा सरकारी संयन्त्रले गरेको सुधारको पहल प्रभावकारी देखिँदैन । यसको उदाहरणको रूपमा केराउ र छोकडालाई लिन सकिन्छ । सरकारले केराउ र छोकडा आयातमा लगाएको प्रतिबन्ध कायमै छ । तर, आयात प्रतिबन्ध लगाएको वस्तु बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । त्यसको स्रोत खोज्न सरकारलाई केले रोकेको छ ? प्रतिबन्ध लागेको वस्तु विक्री गर्न अपराध नै हुन्छ । भारतीय सीमाबाट भित्रिएको वस्तु मुलुकभरका पसलमा पुग्दा सयौं प्रहरी चेकपोस्ट पार गरेर जानुपर्छ । ती ठाउँमा यस्ता वस्तुको चेकजाँच किन गरिएन ? वैध बाटोबाट सामान आयात गरिएका कन्टेनरलाई बिलबीजक देखाउँदा पनि प्रहरी र राजस्व गस्तीले अनेक दु:ख दिएको व्यवसायीको गुनासो छ । त्यसो भए चोरीको सामानचाहिँ किन बीचमा हेरिएन ? यसले अवैध आयातमा मिलेमतो छ भन्ने कुरालाई पुष्टि गर्छ ।  उपभोग्य वस्तुहरूमा चर्को भन्सार शुल्क लिँदा चोरीपैठारी बढेको हो । यदि थोरै भन्सार लगाउने हो भने जोखिम लिएर अवैध तरीकाले कसैले पनि सामान ल्याउँदैन । गाडी नेपालमा ल्याएर दर्ता गर्नुपर्ने भएकाले अवैध बाटोबाट यो भित्रिएको छैन । त्यसबाहेक हरेक उपयोग्य वस्तु चोर बाटोबाट आइरहेको छ । यसले अनौपचारिक अर्थतन्त्रलाई बलियो बनाइरहेको छ । अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको अनुमान छ । ५० खर्बभन्दा केही बढीको अर्थतन्त्रमा २५ खर्बभन्दा बढी रकम अनौपचारिक अर्थतन्त्रले ओगट्नु भनेको औपचारिक अर्थतन्त्रको समानान्तर अनौपचारिक अर्थतन्त्र हुनु हो । यसरी अनौपचारिक अर्थतन्त्र बढ्दै जाने हो भने अर्थतन्त्र कुनै पनि बेला भयावह बन्न सक्छ । धेरै आर्थिक क्रियाकलाप कानून मिचेर सञ्चालन भइरहेका छन् । ती क्रियाकलाप न सरकारी निकायमा दर्ता छन् न करको दायरामा नै छन् । उत्पादन नाम मात्रको हुने भएकाले अत्यधिक मालवस्तु आयात गर्नुको विकल्प देखिँदैन । तर, चोर बाटोबाट आयात हुँदा सरकारले राजस्व गुमाइरहेको छ भने मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न पनि सकिएको छैन । अर्थतन्त्रमा अहिले देखिएको संकटको एउटा कारण चोरीपैठारी पनि हो ।  वैध व्यापार गर्ने र दर्ता भएर कर तिर्ने व्यवसायीमाथि भने सरकारको कर्के हेराइ देखिन्छ । सरकारले भन्सार कार्यालयहरूलाई करको लक्ष्य दिने र त्यो लक्ष्य पूरा गर्न वैध बाटोबाट व्यवसाय गर्नेलाई दु:ख दिने गरेको पाइन्छ । अवैध बाटोबाट सामान आयात गर्नेले कर्मचारीलाई ‘प्रभाव’ मा पारेकाले नै उनीहरूले त्यसलाई रोक्न पर्याप्त ध्यान नदिएका हुन् भन्ने आरोप छ । काजुको भन्सार बढाइएपछि अन्य वस्तु भनी भन्सार छुटाइएको र पछि समातिएको घटनाले यस्तो कार्यमा सरकारी अधिकारीहरूको संलग्नता पुष्टि हुन्छ । उपभोग्य वस्तुहरूमा चर्को भन्सार शुल्क लिँदा चोरीपैठारी बढेको हो । यदि थोरै भन्सार लगाउने हो भने जोखिम लिएर अवैध तरीकाले कसैले पनि सामान ल्याउँदैन । अवैध बाटोबाट आएको सामान बढी मूल्यमा बेचेर उपभोक्तालाई ठगिएको छ । यसले कृत्रिम मूल्यवृद्धि गराएको छ । तर, यसलाई रोक्न सरकारी तदारुकता देखिँदैन । वीरगञ्जमा ७९ रुपैयाँमा विक्री भइरहेको चिनी काठमाडौंमा १३० रुपैयाँमा विक्री हुनु यसको उदाहरण हो । सरकार पनि ठगिने र जनता पनि ठगिने यो अवैध आयात र त्यसले हुर्काएको अनौपचारिक अर्थतन्त्र रोक्न सरकारले सुझबुझको नीति ल्याउनुपर्छ र त्यसको कार्यान्वयनमा ज्यादै होशियार पनि हुनुपर्छ ।

सीमामा भारू सस्तिनुको कारण

नेपाली मुद्रा भारतीयसँग आबद्ध (पेग्ड) गरिए पनि कुनै बेला राष्ट्र बैंकले तोकेको मूल्यभन्दा बढी नेपाली तिरेर भारू साट्नुपर्ने भारतीय सीमाक्षेत्रमा अहिले तोकिएको दरभन्दा ५/१० रुपैयाँ सस्तोमा भारू पाउन थालिएको छ । १ सय भारूका लागि १६० रुपैयाँ तय गरिए पनि १५५ भन्दा थोरैमा भारू पाउन थालिएको छ । किन यसरी सरकारले तोकेको दरभन्दा नेपाली मुद्राको भाउ बढेको छ भन्ने कारण खोज्नुपर्ने देखिएको छ । भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । अन्यथा भोलिका दिनमा गम्भीर समस्या आउन सक्छ । छोटो समयका लागि सरकारले तोकेको दरभन्दा सस्तोमा वा महँगोमा भारूको कारोबार हुन सक्छ । २०७२ सालमा भारतीय नाकाबन्दी ताका थोरै समयका लागि यस्तो भएको स्थानीयको भनाइ पाइन्छ । तर, अहिलेको अवस्था केही फरक देखिएको छ । सरकारले तोकेको विनिमय दरभन्दा भारू सस्तोमा विक्री भइरहेको केही महीना भइसकेको छ । त्यसैले अहिलेको अवस्थालाई लिएर गम्भीर हुनुपर्ने देखिएको छ । सीमाक्षेत्रमा सरकारी मूल्यभन्दा कममा भारू विक्री हुँदा नियामक निकाय र सरकारबाट भने किन यसो भइरहेको छ भनेर अध्ययन गरेको सूचना सार्वजनिक भएको छैन । यसले गर्दा सर्वसाधारणले यसबारे जानकारी पाउन सकेका छैनन् । यसरी चासो नदिनु गलत हो । यसलाई बेवास्ता गर्ने हो भने भोलिका दिनमा ठूलै समस्या ननिम्त्याउला भन्न सकिँदैन । सिद्धान्तत: भारूको आपूर्ति बढेर यसको भाउ घटेको हो भन्न सकिन्छ । अर्थात् सीमाक्षेत्रमा भारूको आपूर्ति बढ्यो वा नेपाली मुद्राको माग बढ्यो । या त भारतीयले नेपालमा लगानी गरे या उनीहरूले नेपालबाट सामान बढी किने भन्ने अर्थमा बुझ्न सकिन्छ । यसका साथै सीमाक्षेत्रमा अनौपचारिक अर्थतन्त्र फस्टाएको पनि हुन सक्छ । त्यसो हुँदा उनीहरूलाई भारूभन्दा नेपाली रुपैयाँ बढी आवश्यक पर्‍यो । कतिपयले तेस्रो मुलुकबाट आएको सुन, चिनियाँ उत्पादन र लागू पदार्थ नेपालबाट भारततर्फ अवैध बाटोबाट गइरहेको तर्क गरेका छन् । उनीहरूले नेपाली रुपैयाँमा यसको भुक्तानी गर्ने भएकाले नेरूको माग बढेर भारू केही सस्तो भएको आकलन गरेका छन् । हुन त सुरक्षा संयन्त्रले यसरी भारततर्फ सामान जानै नसक्ने तर्क गरेको छ तर खुला सिमाना भएकाले यसै हो भन्न सकिँदैन । अर्को, भारतमा भन्दा अहिले नेपाली बैंकमा ब्याजदर बढी भएको बताइन्छ । बढी ब्याजका लागि भारतीयहरूले नेपाली रुपैयाँ साटेर यहाँ राखेको अनुमान पनि एकथरीको छ । त्यसो त भारतीयहरू सीमा क्षेत्रमा मदिरा सेवन गर्न आउने गर्छन् । त्यसले गर्दा पनि नेपाली रुपैयाँको माग भएको हुन सक्छ । तर, विनिमय दरलाई नै प्रभावित पार्ने गरी त्यति ठूलो परिमाणमा नेपालमा भारू आएको नहुनुपर्ने हो । अत: यसरी भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । भूराजनीतिक अवस्थाका कारण नेपालले भारत र चीनसँग निकै संवेदनशील भएर व्यवहार गर्नुपर्ने हुन्छ । दुवै मुलुकले नेपाललाई पूर्णत: विश्वास गर्न नसकेको अवस्था छ । खासगरी आफ्नो मुलुकको सुरक्षा संवेदनशीलताका विषयमा भारत र चीन दुवै निकै गम्भीर देखिन्छन् । यदि केही व्यवसायीको भनाइलाई पत्याउने हो भने चिनियाँ सुन तस्करी भएर भारत गइरहेको छ । यस्तो अवैध कारोबार भएको हो भने त्यो निकै गम्भीर विषय हो । त्यसमा पनि भोलि छिमेकी मुलुकले आवाज उठाउनुपर्‍यो भने नेपालको छवि बिग्रन सक्छ । साथै अन्य समस्या पनि आउन सक्छ, जसले दुई देशको आपसी विश्वासमा संकट उत्पन्न गर्न पनि सक्छ । त्यसैले यसबारे सरकारले तत्काल छानविन गरी वास्तविकता सार्वजनिक गर्न आवश्यक छ ।

उत्पादनमूलक क्षेत्रमा कर्जा

बैंकहरूमा तरलताको समस्या लम्बिँदै गएपछि नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा नियन्त्रण गर्ने उद्देश्यका साथ आफ्नो नीतिमाथि पुनर्विचार गर्न थालेको छ । बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले अनुत्पादक क्षेत्रमा गइरहेको कर्जामा कडाइ गर्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाहका लागि प्रोत्साहन गर्ने बताएको छ । व्यापारघाटाको डरलाग्दो अंक र उत्पादनमूलक क्षेत्रको सुस्त प्रगतिका कारण राष्ट्र बैंक यस्तो निर्णयमा पुगेको देखिन्छ । तर, केन्द्रीय बैंकले लिएका धेरै नीति निस्प्रभावी देखिइरहेको अवस्थामा उसको नीतिबाट सकारात्मक परिणाम आउने अपेक्षा कमै गर्न सकिन्छ । उत्पादन बढाउन सस्तो कर्जा उपलब्ध गराएर मात्र पुग्दैन । अन्य औद्योगिक वातावरण पनि सँगसँगै आवश्यक हुन्छ । कृषिक्षेत्रका लागि ब्याजमा अनुदान दिने केन्द्रीय बैंकको नीतिपछि यस क्षेत्रमा ठूलो लगानी भइसक्दा पनि अपेक्षित लाभ नदेखिनु यसैको उदाहरण हो । कोरोना महामारीपछि बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५९ अर्ब रुपैयाँ बराबर पुनर्कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराएका छन् । कोरोनाबाट थलिएको अर्थ अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुर्‍याउन केन्द्रीय बैंकले यस्तो कर्जाको व्यवस्था गरेको थियो । कोरोनाबाट थलिएको अर्थतन्त्रलाई यस्तो सहयोग अझै आवश्यक रहेको निजीक्षेत्रको माग भए पनि राष्ट्र बैंकले आफ्नो नीतिमा पुनर्विचार गर्ने बताएको छ । उसको विचारमा यो कर्जाको दुरुपयोग भएको छ । उद्योग व्यवसाय जोगाउन लिएको रकमको ऋणीले थोरै हिस्सा यस क्षेत्रमा प्रयोग भएको र ठूलो अंश शेयर तथा घरजग्गामा लगानी गरेको निष्कर्ष राष्ट्र बैंकको देखिन्छ । घरजग्गामा देखिएको ठूलो कारोबार तथा वृद्धिले यसलाई पुष्टि गर्ने आधार दिएको छ । घरजग्गाको कारोबारबाट अनौपचारिक अर्थतन्त्र झनै बढेको विश्लेषण पनि अर्थशास्त्रीहरूको रहेको छ । मुलुकभरि नै जग्गाको भाउ बढेको र प्लटिङ गरेर जग्गा विक्री बढी नै हुन थालेपछि राष्ट्र बैंक सतर्क भएको अनुमान छ । घरजग्गाको भाउ अत्यधिक वृद्धिले नयाँ उद्योग खोल्नसमेत समस्या थपिदिएको छ । त्यसैले यस क्षेत्रमा कडाइ गरी उत्पादनमूलक उद्योगलाई तुलनात्मक रूपमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउँदा उत्पादन बढ्छ भन्ने अनुमान राष्ट्र बैंकको देखिन्छ । नेपालमा प्रभावकारी अनुगमन संयन्त्र नहुँदा तथा अनुगमन यथार्थपरक तथा पारदर्शी नहुँदा नीतिगत तथा कानूनी छिद्रको प्रयोग गरी छिटो लाभ लिने प्रवृत्ति पाइन्छ । कोरोना प्रभावितलाई राहत प्रदान गर्न दिएको यो सुविधाको दुरुपयोग भएको सन्दर्भमा नयाँ नीति पनि त्यस्तै नहोला भन्न सकिँदैन ।  साथै, शेयर, घरजग्गा, सवारीसाधन आदिमा जाने कर्जाले अर्थतन्त्रमा योगदान नपुर्‍याएको निष्कर्षसहित निक्षेपको ब्याजदर बढ्न दिने नीति लिइएको छ । राष्ट्र बैंकले १९ प्रतिशत कर्जा विस्तार गर्ने नीति लिए पनि कर्जा विस्तारको ६ महीनाको अवस्था हेर्दा २७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कर्जा विस्तार गर्नुको अर्थ अर्थतन्त्र विस्तार हुनु हो । तर, उत्पादन वृद्धि नहुँदा तरलतामा चाप परेको छ र आयात तीव्र बढेको छ । त्यसो त नेपालीहरूको हातमा पुगेको पैसा बचत र लगानी गर्नुभन्दा उपभोगमा बढी खर्च भइरहेको छ । उपभोग्य वस्तु स्वदेशी उत्पादन नभई विदेशी हुने गरेको छ । त्यही कारण व्यापार घाटाको आँकडा निरन्तर बढ्दो छ । विश्व अर्थतन्त्रको गति हेर्दा कृषि, उत्पादनमूलक उद्योग हुँदै सेवाक्षेत्र फस्टाएको देखिन्छ । तर, नेपालमा कृषिक्षेत्रको जनशक्ति सेवाक्षेत्रतर्फ लाग्दा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान बढी देखिन थालेको छ । उत्पादनमूलक क्षेत्रमा प्रगति नगरी सेवा क्षेत्रमा प्रवेश गर्दा अर्थतन्त्रको गति अस्वाभाविक देखिन्छ । त्यसैले उत्पादन बढाउन आवश्यक छ । अर्धवार्षिक समीक्षामा उत्पादनमूलक क्षेत्रका लागि सस्तो ब्याजदरको कर्जा उपलब्ध गराउने नीति लिइएको छ । तर, उत्पादन बढाउन सस्तो कर्जा उपलब्ध गराएर मात्र पुग्दैन । अन्य औद्योगिक वातावरण पनि सँगसँगै आवश्यक हुन्छ । कृषि क्षेत्रका लागि ब्याजमा अनुदान दिने केन्द्रीय बैंकको नीतिपछि यस क्षेत्रमा ठूलो लगानी भइसक्दा पनि अपेक्षित लाभ नदेखिनु यसैको उदाहरण हो । नेपालमा प्रशासनिक, राजनीतिक र अन्य कारणले आद्यौगिक वातावरण बन्न सकिरहेको छैन ।   त्यसैले कर्जाका साथै अन्य औद्योगिक वातावरण पनि बनाइनुपर्छ । कानून संशोधन, लगानीकर्ताले बेहोर्नुपरेका विविध झन्झट हटाउने, कच्चा पदार्थ र औद्योगिक वस्तुको आयातमा रहेको करसम्बन्धी विवाद समाधन गर्नुपर्नेलगायत समस्या समाधान गरी उत्पादनमूलक उद्योगहरू खोल्न प्रोत्साहित गर्नु अहिलेको आवश्यकता हो ।