काठमाडौं । वित्तीय प्रणालीमा तरलता अभावसँगै बजारमा ट्रेजरी बिल्सको ब्याजदर पनि बढ्न थालेको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिनको २ अर्ब २३ करोड ३२ लाख र १८२ दिनको ६ अर्ब गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल गरेको थियो ।
त्यसमध्ये २८ दिनको नयाँ ट्रेजरी बिल्सको ब्याजदर २ प्रतिशत विन्दुभन्दा धेरैले बढेको छ । पछिल्लोपटक माघ १७ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत ब्याजदर (डिस्काउन्ट रेट) ५ दशमलव ९ प्रतिशत रहेकोमा सोमवार ७ दशमलव २५ प्रतिशत पुगेको छ । यसअघि माघ २४ र फागुन २ गते बोलकबोलमा राखिएको २८ दिने ट्रेजरीमा बैंक, वित्तीय संस्थाले उच्च दर मागेपछि सरकारले विक्री गरेको थिएन ।
यसैगरी सोमवार नै जारी ९१ दिने ट्रेजरीको भने ब्याजदर घटेको छ । सोमवार ९१ दिने ट्रेजरीको औसत ब्याजदर ९ दशमलव ५७ प्रतिशत कायम भएको छ । गत साता यो दर १० दशमलव २२ प्रतिशत थियो ।
सोमवार बोलकबोलमा राखेको १८२ दिने ट्रेजरीमा बैंक, वित्तीय संस्थाले उच्च ब्याजदर मागेपछि खरीद गर्न पाएनन् । ब्याजदर उच्च भएपछि नवीकरणमा राखेको ट्रेजरी बिल्स सरकारले भुक्तानी गरेको हो ।
माघ २९ गते ५० अर्बको रिपो परिपक्व भएसँगै राष्ट्र बैंकले फागुन ३ गते १४ दिने रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । तर, यसले बजारमा ब्याजदर घट्न सकेको छैन । आइतवार बैंकहरूको औसत अन्तरबैंक ब्याजदर ८ दशमलव ५० प्रतिशत छ ।
माघमा ५० अर्बको रिपोपछि भने केही समय ट्रेजरी र अन्तरबैंक ब्याजदरसमेत घटेको थियो । त्यसपछि माघ १२ गते रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट खिचेको थियो । बुधवार नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र समेत जारी गर्दैछ । ५ वर्ष अवधिको उक्त बचतपत्रको ब्याजदर ११ दशमलव ५० प्रतिशत तोकिएको छ ।