देशको विकास योजनाका लागि तथ्याङ्कको भूमिका सर्वोपरि हुन्छ । सही तथ्याङ्कको अभावमा सही योजना बनाउन सकिन्न । सही तथ्याङ्कका लागि अध्ययन, अनुसन्धानको संस्थागत गति र प्रक्रियाहरूको विशिष्टता आफैँमा महìवपूृर्ण हुने नै भयो । त्यस सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले नयाँ आधार वर्ष केही दिन अघि मात्र सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभाग देशको तथ्याङ्कको उत्पादन, वितरण र विश्लेषण गर्ने आधिकारिक निकाय त हुँदै हो । सँगसँगै राष्ट्रिय जनगणना २०७८ को तयारी भइरहँदा आएको नयाँ आधार वर्षले मुलुक समकालीन अर्थतन्त्रको दिशालाई समेत प्रतिविम्बित गरेको छ । अर्थतन्त्रको नयाँ आकार पनि सुस्पष्ट भएको छ तर अर्थतन्त्रका नयाँ चुनौती पनि सामुन्ने ल्याएको छ ।
नयाँ आधार वर्ष २०१०।११ का आधारमा देशको कुल गार्हस्थ उत्पादनको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रहेको देखिएको छ । यस अघि २००१।०१ लाई आधार मानेर गरिएको अर्थतन्त्रको आधारमा बढी वास्तविकता झल्किएको विश्लेषकहरूको दाबी पनि छ । अघिल्लो आधार वर्ष २००१।०१ को तुलनामा अर्थतन्त्रको बढोत्तरी भएको देखिएको हो । साबिकको मापनभन्दा नयाँ आधार वर्षमा उत्पादन क्षेत्रमा २०.२७ प्रतिशतले अर्थतन्त्रको आकार बढेको पाइएको छ । तर उत्पादनलाई उपभोगले अझ बढी उछिनेको छ । विप्रेषण आयको ठूलो हिस्सा उपभोगमै खर्च हुन थालेका कारण मध्यवर्ती उपभोगमा ३५.४२ प्रतिशतले बढेको पाइएको छ । यसैगरी कुल गार्हस्थ उत्पादनमा समेत सकारात्मक प्रभाव परी अर्थतन्त्रको आकार १४.०४ प्रतिशतले बढेर ३९ खर्बभन्दा माथि पुगेको देखिएको हो ।
नेपालमा राष्ट्रिय लेखामानको इतिहास धेरै लामो छैन । यो पाँचौँ आधार वर्ष हो । नेपालले छ दशक अघि १९६४।६५ मा पहिलो आधार वर्ष मानेको थियो । संयुक्त राष्ट्र सङ्घीय तथ्याङ्क आयोगले कम्तीमा पाँचदेखि बढीमा दश वर्षको अन्तरमा आधार वर्ष परिवर्तन गर्ने मापदण्ड बनाएको छ । त्यसैअनुसार नेपालले दश वर्षमा आधार वर्ष परिवर्तन गर्ने परम्परा बसालेको छ । दश–दश वर्षमा आधार वर्ष परिवर्तन गर्ने पद्धति अवलम्बन गरेका कारण योभन्दा अघि चार पटक आधार वर्ष परिवर्तन गरेको थियो । यसक्रममा तथ्याङ्कमा बढी शुद्धता ल्याउने प्रयास गरेको देखिन्छ ।