बागलुङ । पहिरोका कारण साढे ३ महीनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।
गत असार १ गते खसेको पहिरोका कारण अवरुद्ध भएको सडकमा असार १८ गते वर्षासँगै आएको पहिरोले क्षति पुगेको थियो । सडक मर्मतका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट १६ लाख ६० हजार र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभोक्ताले बेहोर्नेगरी काम थालिएको उपभोक्ता समितिका अध्यक्ष यादव शर्माले बताए ।
२० लाख ९३ हजार लागत इस्टिमेट गरेर मर्मत थालिएको सडक दशैंअगावै सञ्चालनमा ल्याइने शर्माले जानकारी दिए । ‘तीन चरणका कामको इस्टिमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्र्याक खोल्ने काम हुनेछन्,’ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले भने, ‘पहिरो गहिरो गरी खसेकाले सडकको नमूना निकाल्नै कठिन छ ।’ पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सञ्चालन गर्न कठिन हुने स्थानीयवासी वीरबहादुर थापा बताउँछन् ।
‘पहिल्यै पानीको निकास खोजेको भए अहिले यो समस्या आउने नै थिएन, सडक पक्की बनाउँदा लामो समय पानी जमीनमुनि जाने गरी छाडिदिए,’ थापाले भने, ‘एकातर्फ पहिरोको त्रासमा बाँच्नुपरेको छ, अर्कोतर्फ बालबालिकालाई विद्यालय पठाउन समेत बाटो छैन ।’ पहिरोका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिक रूपमा सञ्चालनमा आएको कालीगण्डकी कोरिडोरको मालढुंगा–बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिरोले बेलाबेला अवरुद्ध हुने गरेको छ ।
नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो । हिउँदयाममा मात्रै चल्नेगरी भए पनि सडक सञ्चालन गर्न मर्मत थालिएको बागलुङ–१२ का अध्यक्ष गुरुदत्त पाठकले बताए । दब्ल्याङबाट वडा नं १२ को टाकुरीसम्म १४ किलोमिटर कालोपत्र रहेको उक्त सडक एउटै पहिरोले साढे तीन महीनादेखि ठप्प थियो । रासस