शेयर बजारमा १५ अर्बको आईपीओ आउँदै, कुन-कुन कम्पनीले कति मूल्यमा निकाल्दैछन् ?

काठमाडौं । शेयर बजारमा १५ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ मूल्यभन्दा बढीको आईपीओ थपिँदैछ । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार दुई दर्जन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्नेमा अधिकांश जलविद्युत कम्पनी छन् । ११ वटा जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् । यी जलविद्युत […]

सम्बन्धित सामग्री

घोराही सिमेन्टको आईपीओ विवाद

शेयर बजार विस्तार भएसँगै यसमा अनेक किसिमका विकृति र हल्ला फैलने गर्दछ । कतिपय हल्ला निराधार हुन्छन् भने कतिपयचाहिँ अनुसन्धानबाट सही प्रमाणित पनि हुन्छन् । घोराही सिमेन्ट इन्डस्ट्रीले प्रिमियम मूल्यमा विक्री गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको र त्यसमा बैंकमा रकम नभएका व्यक्तिले ठूलो संख्यामा आईपीओ भरेको भनेर विवाद आएको छ । नक्कली आवेदनकर्ताले आवेदन हालेको भनी आवाज उठेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोकी अध्ययन थालेको छ । यस घटनाले विभिन्न प्रश्नहरू जन्माएको छ ।  पहिलो त कम्पनीले बढी माग भएको अवस्थामा आईपीओ विक्री बन्द गर्नुपर्नेमा उल्टै समय थप गर्‍यो । यसरी समय थप गरेकाले कम्पनीको नियतमाथि प्रश्न उठेको हो । किन म्याद थप्न पर्‍यो भन्नेमा उसले चित्तबुझ्दो जवाफ दिनसक्नुपर्छ । यद्यपि कम्पनीले विवाद सृजना भएदेखि नै आफ्नो दोष नभएको अडान लिइरहेको छ । कम्पनी मात्र नभई यस विवादमा सम्बद्ध सबै पक्षले आआफ्नो भनाइ राखेका छन् ।  नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । प्रिमियम मूल्य नै महँगो भएको भनी शुरूमै यो आईपीओबारे विवाद उठेको हो । आईपीओ निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नु अनिवार्य हुन्छ । घोराही सिमेन्टको क्रेडिट रेटिङ केयर रेटिङले गरेको हो । उक्त क्रेडिट रेटिङको कम्पनीसँग सम्बन्ध रहेको बताइन्छ । यद्यपि क्रेडिट रेटिङ कम्पनीले मनलाग्दी रेटिङ भने गर्ने होइन । रेटिङ गर्ने कम्पनीमा विदेशी कम्पनीको पनि संलग्नता हुने भएकाले नेपालमा हुने त्रुटिले उसको अन्तरराष्ट्रिय छविमा प्रभाव पर्छ । क्रेडिट रेटिङ कम्पनीले रेटिङ गर्न विभिन्न आधार लिएको हुन्छ । त्यसमा उसले यसमा हुन सक्ने सम्भावित पक्षबारे पनि उल्लेख गरेको हुन्छ र लगानीकर्तालाई त्यसबारे पनि सूचना दिइएको हुन्छ । उसले दिएको रेटिङकै आधारमा लगानी गर्नयोग्य हुने भए अमेरिकामा उच्च रेटिङ पाएका बैंकहरू किन डुब्थे ? त्यसैले लगानीकर्ताले आफै विश्लेषण गरेर लगानी गर्ने बानी गर्नुपर्छ । त्यसमा यो सहयोगी मात्रै हुन्छ । नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । आईपीओ निष्कासनको अनुमति दिने नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासनमा सबै प्रक्रिया पूरा गरेको दाबी गरेको छ । पक्कै पनि बोर्डले आईपीओका लागि स्वीकृति दिँदा आवश्यक सबै दस्तावेजको अध्ययन गरेको हुनुपर्छ । प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि स्वीकृति दिनुपर्ने बाध्यता उसको छ । घोराही सिमेन्टमा पनि यस्तै भएको छ भन्न सकिन्छ । यद्यपि बोर्डले यसरी प्राप्त कागजातको प्रामाणिकता र विश्वसनीयतामा अध्ययन नगरेको भने हुन सक्छ । बोर्डमा क्रेडिट रेटिङसम्बन्धी विज्ञ जनशक्ति नभए पनि कम्पनीले बुझाएको रिपोर्टलाई स्वीकार्नुको विकल्प देखिँदैन । बोर्डले अनुमति दिएको भन्दैमा सबै आईपीओ सुरक्षित लगानी हुन् भन्ने सोच गलत हो । कम्पनीले पूरा गरेको प्रक्रिया सही छ वा गलत भन्ने कुराको यकीन गर्न आवश्यक छ भने बोर्डलाई त्यस्तो अधिकारको व्यवस्था गर्न सकिन्छ ।  नेपाली शेयरबजारमा हल्ला अलि बढी हुने गरेको चर्चा पहिलेदेखिकै हो । त्यही हल्लाकै आधारमा कतिपयले कमाइरहेका पनि हुन्छन् । यो घटनाबाट लगानीकर्ताले पाठ सिक्नुपर्ने हुन्छ । त्यो पाठ हो : विनाविश्लेषण र अध्ययन आईपीओमा नै पनि लगानी गर्नु हुँदैन ।  इक्विटीको मूल्य कति सही हो भन्न सकिँदैन । सार्वजनिक हुनुअघि नै आर्थिक पक्ष कमजोर छ भनिएको नेपाल रिपब्लिक मिडियाको सबै आइपीओ विक्री नहुनुपर्ने हो तर आवश्यकभन्दा बढी माग भयो । यसको अर्थ लगानीकर्ताले त्यसलाई आफ्नै हिसाबले व्याख्या गरे । लाभ हुने ठानेर आकर्षित भए । त्यसैले शेयरबजारमा कसले कति मूल्य निर्धारण गर्‍यो वा कुन कम्पनी कस्तो भन्नु भन्दा पनि लगानीकर्ताले त्यसलाई कसरी लिन्छन् भन्ने नै महत्वपूर्ण कुरा हो ।

शेयरबजारमा स्थानीयको चासो : आईपीओ भर्नेको संख्या लगातार बढ्दै

रौतहट (अस) । यसअघि बैंकमा खाता खोलेर बैंकिङ कारोबार गर्दै आएका चन्द्रपुर नगरपालिका ४ का युवा विकास सुवेदीलाई शेयर बजार सम्बन्धी खासै जानकारी थिएन । तर उनका साथीले शेयर मार्केटमा दिएको चासोले सुवेदीको पनि ध्यान यसैमा गयो । साथीहरू कै सल्लाहमा उनले बैंकमा गएर डिम्याट खाता र मेरो शेयरको फारम भरे । त्यसपछि बिस्तारै उनले शेयर कारोबार अर्थात् विभिन्न कम्पनीले निष्कासन गर्ने गरेको आईपीओ भर्न थाले । चन्द्रपुर नगरपालिकामा विकास जस्तै धेरै युवाहरूले पछिल्लो समयमा शेयर मार्केटका बारेमा चासो दिन थालेका छन् । आजभोलि कर्मचारी तथा  गृहिणी मात्र होइन, विद्यालय तह उत्तिर्ण गरी कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि शेयर कारोबारमा ध्यान दिने गरेका छन् । यसक्षेत्रमा शेयरबजारमा स्थानीयको चासो बढ्दै गएको छ भने आईपीओ भर्नेको संख्या पनि लगातार बढ्दै गएको पाइएको छ ।  मुनलाईट एकेडेमी चन्द्रपुरका प्रिन्सिपल श्याम किशोर चौधरीले कक्षा ११ र १२ मा अध्ययनरत अधिंकाश विद्यार्थीले शेयर बजारमा चासो लिने र आईपीओ भर्ने गरेको बताए । ‘कलेजमा पनि शेयरका बारेमा अध्ययन हुन्छ’, उनले भने, ‘बैंकका कर्मचारी आएर बेला बेलामा सिकाउने पनि गरेका छन् ।’ अध्ययनमा पनि यसले महत्व दिने भएकाले उनीहरूलाई आवश्यक सहयोग तथा सल्लाह दिने गरेको उनको भनाइ छ । कलेजमा अध्ययनरत विद्यार्थीले अभिभावकलाई पनि बुझाउने र आईपीओे भर्न प्रेरित गर्ने गरेको प्रिन्सिपल चौधरीले बताए । छोराछोरी कै सल्लाहमा बैंकमा डिम्याट खाता खोलेर आईपीओ भर्न थालेको स्थानीय अभिभावक अशोक कोइरालाले बताए । ‘यस बारेमा खासै थाहा थिएन्’, उनले भने, ‘छोराछोरीले शेयरको बारेमा भनेपछि भर्न थालें ।’   अनलाईनबाट सजिलैसँग आईपीओ भर्न सकिने भएकाले सहज भएको उनले बताए । चन्द्रपुर नगरभित्र रहेका अधिंकाश कलेजका विद्यार्थी र उनीहरूका अभिभावकले आईपीओ भर्ने गरेका छन् । चन्द्रपुरमा रहेको एनआईसी एशिया बैंकको शाखाबाट दैनिक सरदरमा ४/५ जनाले डिम्याट खाता खोल्ने गरेको बैकका इन्चार्ज नेहा देवले बताइन् । अनलाइनबाट सजिलैसँग डिम्याट खाता खोल्न सकिने भएपछि धेरैले यस सुविधाको प्रयोग गरेको उनको भनाइ छ ।

साढे तीन महीना यताकै न्यून विन्दुमा नेप्से, किन घट्दैछ शेयर कारोबार ?

चैत २०, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे तीन महीनायताकै न्यून विन्दु २ हजार ५१३ दशमलव ४१ झरेको छ । यस दिन नेप्से परिसूचक ३० दशमलव ८९ अंक घटेर उक्त विन्दुमा झरेको हो । गत हप्ता बजार बुधवार एक दिन मात्र बढेको थियो भने बाँकी दिन घटेर नै बन्द भएको थियो ।  यस भन्दा अगाडि पुस ७ गते २ हजार ५०७ विन्दु सम्म झरेको थियो । ब्याजदर वृृद्धि लगायत, वित्तीय प्रणालीमा तरलता अभावले गर्दा शेयर बजार प्रभावित भएको हो । यस बिचमा कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । यसले बजारमा सप्लाई बढेकाले पनि बजार प्रभावित भएको देखिन्छ ।  आज भन्दा १७ दिन अगाडि पनि नेप्से परिसूचक २ हजार ५१४ दशलमव ५८ विन्दुमा झरेर फर्किएको थियो । यसरी हेर्दा लगानीकर्तालाई अब बजार घट्छ या बढ्छ भन्ने चासोको विषय भएको छ । बजार घट्दै जाँदा कारोबार रकम कम हुनलाई पनि लगानीकर्ता अब सस्तो मूल्यमा शेयर बेच्न चाहेका छैनन् भने खरीदकर्ताले पनि उपयुक्त समय खोजिरहेको देखिन्छ ।  सोही कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । अब बजार केही समय साइडवेज बसेर माथिल्लो यात्रा तय गर्ने पनि अनुमान लगाउन सकिन्छ । यसोत वैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा बजार बढ्न टेवा पुग्ने देखिन्छ । साढे तीन महीनायताको बजारलाई हेर्दा २ हजार ५०० विन्दुलाई सर्पोट बनाइरहेको छ ।   आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीको ३२ लाख ५३ हजार १६ कित्ता शेयरको २ हजार ११३ पटकमा कुल रू. १ अर्ब ४६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२५ धितोपत्र मध्ये तीन धितोपत्रको शेयर मूल्यमा सकारात्मक सर्कीट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  यी तीनओटै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् । सोही कारण कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य रू. १ हजार ४५१ दशमलव ४०, इमर्जिङ नेपालको रू. १ हजार ३४७ दशमलव २० र नेष्डो समृद्ध लघुवित्तको रू. १ हजार १६१ दशमलव २० पुगेको छ । त्यसैगरी, आइतवार युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको तुलनामा ५ दशमलव शून्य २ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७६ दशमलव १० विन्दुमा झरेको छ । त्यसैगरी दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ५ दशमलव शून्य १ प्रतिशत घटेर रू. ७०० मा झरेको हो ।  शेयरमूल्य घटेसँगै उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू. ९ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको रू. ५ करोड १ लाख बराबरको शेयर खरीद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहको स्थिर रहेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ३ दशमलव १३ प्रतिशत घटेको छ । समूहगत परिसूचक घट्नेमा बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, व्यापार समूहको १ दशमलव १९ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७७ प्रतिशत, विकास बैंक समूहको १ दशमलव २७ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ३१ प्रतिशत, वित्त समूहको १ दशमलव ५१ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३७ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ५२ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ४२ प्रतिशतका दरले घटेको हो ।

धनी बन्ने सूत्र

अहिले सबैलाई रातारात धनी बन्नु छ । जान्नेहरूले त कमाइरहेकै छन् । नदी, बगर, खोलामाथि नै सही सपनाका महल पनि ठड्याइरहेकै छन् । यो लेखक जस्ता नजान्नेहरू चैं समुन्नतिका किनारामा बसेर अरूको प्रगतिको महलमुनि थुक निलेर हेरिरहेका छन् । आफूले नजाने पनि धेरै धन कमाएकाहरूसँग संगत गर्दा गर्दै छिट्टै धनी बन्ने केही सूत्र भने फेला पारेको छु, तपाईंलाई पनि सुटुक्क भन्छु है ! सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । विना लगानी रातारात नाम र दाम कमाउने सबैभन्दा सजिलो पेशा चैं लाजनीति सरी राजनीति नै हो । यसमा केवल एउटा खुवी भए पुग्छ– त्यो हो सपना बेच्ने । तपाईं जति ठूलो सपना बेच्न सक्नुहुन्छ, त्यति नै ठूलो पदमा पुग्न सक्नुहुन्छ । अनि जति ठूलो पदमा पुग्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनु हुन्छ । त्यसैले त टोले गुण्डाहरू अलिकति पैसा कमाएपछि थप कमाउन जसरी पनि राजनीतिमा छिर्छन् र पद हात पार्छन् । नत्र अर्बपति समेत राजनीतिमै छिर्न मरिहत्ते किन गर्थे त ? आफ्ना रगतमा राजनीति छैन भन्ने लाग्छ भने व्यापारमा पनि अपार पैसा हुन्छ है ! तर यसका लागि धन्धा गर्न जान्नुपर्छ । नत्र सरकार, राजस्वका कर्मचारी त मोटाउलान्, तर तपाईंको ढुकुटी चाहिँ मोटाउँदैन है ! त्यसैले व्यापारमा मालामाल हुनु छ भने विदेशबाट सुन मगाउनुस्, सुपारी झिकाउनुस् या पाम आयल आयात गर्नुस् । त्यो यहाँ आएपछि त्यसमा ‘मेड इन नेपाल’को ट्याग झुन्ड्याउन नबिर्सनुस् । अनि त्यसमा यति र उति भ्यालू एडिसन भएको भनेर लेबल पनि टाँस्नुस् र सरकारबाट छूट फुत्काउनुस् । अनि बेच्नुस् भारतमा । अन्य छिमेकी देशमा बेच्न त भारतको असल मित्रताले बाटो नै दिँदैन । यूरोप, अमेरिकातिर बेच्न चैं गुणस्तरको कुरा ल्याउँछन् गोरा मोराहरूले । हैन, काँ यो व्यापार स्यापारमा लाग्नु भन्नुहुन्छ भने घरजग्गामा लाग्नोस् । जग्गामा लगानी गर्ने पैसा छैन भने पनि चिन्ता नलिनोस् । दलाली शुरू गर्नोस् । दलाली भन्ने शब्दसँग नझस्कनोस् । किनकि यहाँ पाए र भ्याएसम्म मै हूँ भन्नेले पनि जग्गा दलाली गरेर कमिशन कुम्ल्याउन बाँकी राख्दैनन् । छोराले बाबुसँग पनि दलाली भाग खाने युगमा अरू के कुरा गर्नु ? ‘पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ’ भन्छन् । यहाँ को र कुन काममा छैन दलाली ? अझ विदेशीका पैसामा खुलेका वा चलेका कतिपय मिडिया वा पार्टी नामधारी कतिपय पसलभित्र निहारेर हेर्नुस् त, त्यहाँभित्र के के देखिन्छ । त्यसैले होला हाम्रा बाउबाजेले सकेदेखि माटोमा पैसा खन्याउनू, उम्रन्छ भन्थे । सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । तर जसलाई समात्न हिँडेको हो, आवेशमा ऊभन्दा छिटो कुद्न खोज्दा आफै लड्न नि बेर लाग्दैन है ! तपाईं भन्नुहोला कृषिप्रधान देश, जहाँ १५० मुलुकबाट वर्षमा झन्डै ४ खर्बको खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ, त्याँ जग्गा जमिन प्लटिङ गर्दै बेच्नु त ठीक होइन । हेर्नुस्, उद्देश्य त जसरी पनि पैसै कमाउनु न हो । जमिनमा तरकारी, खाद्यान्न फलाउन मल, बीउ, पानी छैन । काम गर्नेहरू सबै जवानी बेच्न मुग्लानतिर पसिसके, थप खुट्टा उचालेर बसेका छन् । अनि कसले गर्ने खेती ? बरु प्लटिङ गर्‍यो बेच्यो । विदेश जान ५ लाखमा जग्गा बेच्यो र पछि पैसा कमाएपछि त्यस्तै जग्गा २५ लाखमा किन्यो । यस्तो पो त तरिका । सरकारलाई राजस्व आउने, किन्ने, बेच्ने र बिचौलियाले टकाटक नगद पाउने व्यापार गर्न छाडेर केको खेती गर्ने नि ! तरकारी–सरकारी त त्यै जग्गा बेचेको पैसाले किनेर खाए भैहाल्छ नि । त्यसो भए सरकारले वर्षौंदेखि कृषिमा दिइरहेको अनुदान, सहुलियत ऋण कहाँ गयो भन्नुहोला । यी अनुदान, छूट सबै चुनावी रेल हुन्, जुन पटरी नबिछ्याइकनै चल्छन् । यसबाट कुनै कृषि रेल कुदाउनु नै छैन । अँ, पैसा कमाउने यसमा पनि काइदा रहेछ । झोलामै खोल्नोस् झोले कृषि कम्पनी, आफ्ना परिवारका सबै सदस्यको नाम शेयर होल्डरमा राखेर । लिनोस् बैंकबाट सस्तो ब्याजमा ऋण । सरकारी अनुदान पनि पाउन सक्नुहुन्छ । त्यै पैसा लगेर राख्नोस् कुनै सहकारीमा । बैंक पनि खुशी, तपाईं पनि खुशी । कृषिमा पनि जाँगर चल्दैन भने नेपालमा शेयर बजार जत्तिको सुरक्षित र भरपर्दो लगानीको क्षेत्र अन्त कतै छैन है ! घरै बसी कुटुकुटु नगद झर्ने । २–४ हजारमै बजारमा छिर्न सकिने, खल्तीमा सुको छैन भने पनि बैंकले मार्र्जिनमा लगानी गर्दिने । अझ आईपीओ चिट्ठा परे तुरुन्तै २ को शेयर कमसेकम ४ मा बेच्न सकिने । आफ्ना लगानी डुब्न लाग्यो भने एउटा लगानीकर्ताको समूह बनाउने र ‘हाम्रो लगानी सुरक्षित गर’ भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने । सडकमै धर्ना दिने । सरकारी हाकिमहरू तपाईंको लगानी सुरक्षित गर्न सधैं तम्तयार भैहाल्छन् र पर्‍यो भने नीति परिवर्तनदेखि बोली परिवर्तन गर्नसम्म तुरुन्तै भ्याइहाल्छन् । त्यसैले त हिजोआज कम्पनीले आफ्नो उत्पादन वा सेवा बेचेर भन्दा बढी नाफा ऋण बेचेर वा शेयर बेचेर कमाउँछन् । नत्र अहिलेसम्म टाट पल्टिएको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेका झन्डै ३० प्रतिशत हाइड्रोपावर कम्पनीहरू शेयर बजारमा अझै पावरफुल कसरी रहिरहन सक्थे होला र ? कसरी ‘इन्साइडर ट्रेडिङ’ भन्ने नबुझेका सोझा लगानीकर्तालाई ‘फुल’ बनाइरहन सक्थे होला र ? हैन यो पूँजीबजारको बारेमा ज्ञान, रुचि छैन भने सकेदेखि एउटा म्यानपावर एजेन्सी खोल्नोस् र बेरोजगार युवालाई विदेश पठाउनतिर लाग्नोस् । हाम्रा हरेक श्रममन्त्री र राजदूतसमेत त्यै व्यापारमा लागेका छन् । देशका अस्पतालहरूमा नर्सहरूको अभाव छ । तर श्रममन्त्रीले १० हजार नर्स त बेलायतै निर्यात गर्ने रे । आखिर व्यापार त व्यापारै हो । अहिलेका श्रममन्त्री त आफै व्यापारी पनि हुन क्यारे । बेच्न रामै्र जानेका छन् । कथं म्यानपावरको लाइसेन्स फुत्काउन सक्नुभएन भने आफै लाग्नोस् कुनै देशतिर । देशमा रोजगारी, व्यापार नभएर के भा छ र ? मलेसियामा सेक्युरिटी गार्ड बन्न वा कोरियातिर कुखुरै काट्न गए पनि भो । महिनामा १–२ लाख त कमाइहालिन्छ क्यारे ! गएकाहरु त्यसै भन्छन् । अरू केही गर्न सक्नुभएन भने ‘धनी बन्ने सूत्र’ भनेर एउटा किताब लेख्नुस् । किताब मारामार बिक्छ । अनि बनिँदैन त छिट्टै धनी । कसो ?

शेयरबजारमा आकर्षण र अवसर : लगानीकर्ताको संख्या ४६ लाखभन्दा बढी

कात्तिक १९, काठमाडौं । अधिकांश नेपालीका लागि अनभिज्ञ क्षेत्रका रुपमा रहेको शेयर बजार केहि वर्षयता मध्यम वर्गको आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ।  शेयरमा लगानी गर्नेहरुको संख्या दलाल व्यवसायीमा कारोबार गर्न आउने गरेको भिडले पनि पुष्टि हुन्छ ।शेयर बजारमा अनलाईन कारोबार शुरु भएपछि शेयर खरीदविक्री र भुक्तानीका लागि ब्रोकर कार्यालय जानु नपर्ने आजको अवस्थाले त लगानीकर्तालाई झन सहज बनाइदिएको छ । बैंक तथा वित्तीय संस्थाका ढोकामा शेयर खरीदको लागि डिम्याट खाता खोल्न  आउने सर्वसाधारणको थामिनसक्नु भीडले पनि यस्तै पुष्टि गर्छ  । विभिन्न कम्पनीले निष्कासन गर्ने प्राथमिक शेयर(आईपीओ) मा मागभन्दा कयौं गुणा बढी आवेदन परिरहेको छ। दोस्रो बजारमा पनि शेयर खरीदविक्री गर्नेको संख्या बढ्दै गएको छ। सीडीएससीका अनुसार अहिले शेयरबजारमा संलग्न लगानीकर्ताको संख्या ४६ लाख ६ हजारभन्दा बढी पुगेको छ । यो तथ्यांक गत कात्तिक १६ गतेसम्मको हो । उक्त अवधिसम्ममा ४६ लाख ६ हजार ८२७ जना लगानीकर्ताले शेयरको डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । त्यसैगरी विद्युतीय प्रणाली (अनलाइन) मार्फत शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या झन्डै ११ लाख पुगेको छ । पछिल्लो वर्षदेखि आईपीओमा लगानी गर्ने लगानी गर्ने लगानीकर्ताको संख्या बढिरहेको पुष्टि उक्त तथ्यांकले पनि गर्दछ । केहिसाता यता शेयर कारोबारमा उतारचढाब चलिरहेपनि आईपीओ तथा दोस्रो बजारमा लगानीकर्ताहरुको संलग्नता बढ्दै गएको देखिएको छ ।  सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/ ७८ मा मात्र शेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६०० मात्र थियो । हालसम्म ७ अर्ब ३९ करोड १८ लाख ६९ हजार ६३१ कित्ताभन्दा बढी शेयर अभौतिकीकरण भएको छ ।  विगत एक वर्षदेखिको तथ्यांक र आईपीओमा पर्ने आवेदनलाई आधार मान्ने हो भने आगामी दिनमा मध्यमवर्ग मात्र होइन, सर्वसाधारण(भूईंतह) को पनि आकर्षण बढ्ने निश्चित जस्तै छ ।  शेयरबजारमा आकर्षण र अवसर दुवै भएता पनि यसमा सवैले  सोचेजस्तो गरी आम्दानी भने गर्न सक्दैनन् । एक जना लगानीकर्ता भावना शर्माका अनुसार शेयर बजारमा कमाउने सम्भावना जति उच्च छ उतिकै उच्च छ गुमाउने जोखिम पनि ।

पूँजीबजारमा प्रगति

.पूँजीबजार पछिल्लो समय पूँजी बढाउने बजारको रूपमा सावित भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्रका सबैजसो क्षेत्र अस्तव्यस्त बनेको छ । २०७६ चैत ११ गतेदेखि शुरू भएको बन्दाबन्दीपछि अर्थतन्त्रमा समस्या देखिन थालेको छ । अहिले पनि देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी छ । कोरोनाका कारण नेपालको मात्र नभई विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परेको छ । किसानदेखि देशका ठूला व्यापारीहरूको आम्दानीमा असर परेको छ । किसानहरूको उत्पादन बारीमै कुहिएको अवस्था छ । ठूला व्यापारीहरू साना आम्दानीमै सीमित भई अर्बौं घाटा बेहोरेर बस्न बाध्य भएका छन् । तर, पूँजीबजार भने यसको विपरीत गतिमा देखिएको छ । नेपालमा कोरोना संक्रमण भित्रिएलगत्तै पूँजीबजारले गति लिएको पाइन्छ । त्यसअघिका निरन्तर ३ वर्षभन्दा बढी समय घटेको नेपालको पूँजीबजार कोरोनाकालमा भने निरन्तर बढिरहेको छ । २०७५ फागुन १९ गतेदेखि बजार बढ्न थालेको देखिन्छ । उक्त दिन बजार १ हजार १०० दशमलव ५८ विन्दुमा थियो । साउन ३२ गतेसम्मको तथ्यांक हेर्दा नेपालको शेयर बजार ३ हजार १६० दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यो बीचमा बजार २ हजार ६० अंक बढिसकेको छ । कोभिड जोखिमका बीच पूँजीबजारलाई निरन्तर चलायमान बनाउनका लागि नियामक निकाय र बजार सम्बद्ध निकायहरूले पूर्ण अनलाइन कारोबार प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक कदम चालेको देखिन्छ । खाता खोल्ने, शेयर किनबेच तथा रकम भुक्तानी जस्ता सबैजसो काम घरमै बसेर अनलाइनमार्फत नै गर्ने व्यवस्था गरिएको छ । प्राथमिक बजारमा आईपीओ खरीद गर्नका लागि होस् या दोस्रो बजारमा शेयर खरीदविक्रीका लागि अनलाइन कारोबार प्रणालीमा आबद्ध हुन लगानीकर्ताले घरबाटै सबै प्रक्रिया पूरा गर्न सक्ने अवस्था छ । यही सहज वातावरणकै कारण देशभित्र र देशभन्दा बाहिरका नेपाली नागरिकले पूँजीबजारमा आफ्नो पहुँच पु¥याउन सफल भएका छन् । पूँजीबजारको आकार (साउन मसान्तसम्म) नेपालको शेयर बजारको आकार २०७८ साउन ३२ गतेसम्मको तथ्याङ्क अनुसार रू. ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख रहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनीहरू सूचीकृत रहेका छन् । विगत एक वर्षको तथ्यांक हेर्ने हो भने कुल बजार पूँजीकरण करीब रू. २७ खर्बले बढेको छ । २०७७ साउन ३२ गते नेपालको पूँजीबजारको कुल पूँजीकरण रू. १७ खर्ब ३६ अर्ब ७९ करोड ४० लाख थियो । कुल बजार पूँजीकरणमा वाणिज्य बैंकहरूको सर्वाधिक हिस्सा छ । २७ वाणिज्य बैंकहरू सञ्चालनमा रहे तापनि राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वाणिज्य बैंकहरू सूचीकृत छन् । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको छ । साउन मसान्तसम्ममा नबिलको प्रतिकित्ता अन्तिम शेयरमूल्य रू. १ हजार ५०७ दशमलव ४० रहेको छ । बैंकको १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ । उक्त दिनसम्म यस बैंकको कुल बजार पूँजीकरण रू. २ खर्ब ८ अर्ब ६९ करोड १२ लाख ५७ हजार रहेको छ । कुल बजार पूँजीकरणमा नबिलको हिस्सा ५ दशमलव ४३ प्रतिशत रहेको छ । एक वर्षमा २५ कम्पनीले पाए आईपीओ विक्रीको अनुमति पछिल्लो एक वर्षमा मात्र नेपाल धितोपत्र बोर्डबाट २५ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति पाएका छन् । २०७७ साउनदेखि २०७८ साल साउन मसान्तसम्ममा ती कम्पनीहरूले आईपीओ विक्रीका लागि बोर्डबाट अनुमति पाएका हुन् । एक वर्षमा अनुमति पाएका २५ कम्पनीहरूमध्ये १६ कम्पनीहरू धितोपत्र दोस्रो बजारमा आईपीओ विक्रीपश्चात् सूचीकृत भइसकेका छन् । दोस्रो बजारमा थपिने यी कम्पनीहरूमा ६ बीमा कम्पनी, चार लघुवित्त कम्पनी, दुई अन्य समूह अन्तर्गतका कम्पनी, एक लगानी कम्पनी र तीन जलविद्युत् कम्पनी छन् । २०७७ साउनदेखि २०७८ साउन असार मसान्तसम्ममा नेपाल धितोपत्र बोर्डले २५ कम्पनीलाई रू. १५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० बराबरको आईपीओ विक्री गर्न अनुमति दिएको छ । साउनमा थप ३ जलविद्युत् कम्पनीले रू. १ अर्ब ५७ करोड ५० लाख बराबरको आईपीओ विक्रीको अनुमति बोर्डबाट पाएका हुन् । पूँजीबजारमा पहुँच विस्तारको अवस्था पूँजीबजारको आकार दिनप्रतिदिन बढ्दै जानुको एउटा मुख्य कारण यस क्षेत्रमा नयाँ लगानी थपिँदै जानु पनि हो । कोभिडका कारण जनजीवन घरभित्रै सीमित हुन थालेसँगै घरबाटै कारोबार गर्न सकिने पूँजीबजारमा लगानी बढ्न थालेको हो । नेपालभित्रबाट मात्र होइन, विदेशका विभिन्न ठाउँबाट पनि पूँजीबजारमा लगानी भित्रिएको नेप्सेको भनाइ छ । एक वर्षअघिसम्म दोस्रो बजारमा करीब २ लाख लगानीकर्ता सहभागी भई कारोबार गरिरहेकोमा अहिले ८ लाखभन्दा बढी लगानीकर्ता सक्रिय रूपमा सहभागी भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । विगत १ वर्षमा पूँजी बजारमा भित्रिएका नयाँ कम्पनीहरूको शेयरबाट लगानीकर्ताले राम्रो आम्दानी गरेकाले पनि बजारप्रति लगानीकर्ता सकारात्मक देखिएको प्रवक्ता पराजुलीको भनाइ छ । प्रविधिमैत्री लगानी वातावरणले ६ लाखभन्दा बढी लगानीकर्ता १ वर्षमा दोस्रो बजारमा थपिएकाले पनि बजारले सकारात्मक गति लिएको बुझाइ उनको छ । दोस्रो बजारसँगै प्राथमिक बजारमा पनि लगानीकर्ताको सहभागिता २४ लाख नाघेको छ । पछिल्लो समय मानुषी लघुवित्तको आईपीओ खरीदका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन मसान्तसम्ममा ४० लाख ७३ हजार ९१० ले हितग्राही खाता खोलेका छन् भने ३१ लाख ६८ हजार ४८४ मेरो शेयर प्रयोगकर्ता छन् । चालू आवमा पूँजीबजारका लागि भएका नयाँ व्यवस्था चालू आर्थिक वर्षदेखि पूँजीबजार धितोपत्र कारोबारमा केही नयाँ व्यवस्थाहरू लागू भएका छन् । साउन १ गतदेखि नै लागू हुनेगरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले संशोधित धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन ) विनियमावली, २०७८ को व्यवस्था बमोजिम प्रारम्भिक कारोबार सत्रको मूल्य सीमा र धितोपत्र कारोबारमा न्यूनतम मूल्य परिवर्तनको सीमा घटाएर लागू गरेको छ । यसअघि ५ प्रतिशत रहेको मूल्य परिवर्तनको सीमा साउन १ गतेदेखि २ प्रतिशतमा झारेको हो । त्यस्तै धितोपत्र कारोबार हुँदा यसअघिको न्यूनतम एक रुपैयाँको सीमालाई घटाएर १० पैसामा झारिएको छ । प्रारम्भिक र नियमित सत्रमा लागू हुनेगरी यसै वर्षदेखि यी नयाँ व्यवस्था थप भएका हुन् । त्यस्तै, गत साउन १ गतेदेखि व्यक्तिगत लगानीकर्ताका लागि फरक फरक पूँजीगत लाभकर लागू भएको छ । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले साउन १ गतेदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था लागू भएको हो । सरकारले यस वर्षको बजेटमा धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरेको हो । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सरकारले दीर्घकालीन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । अब ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यस वर्षदेखि सामूहिक लगानीकोषहरूलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । यस वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जाको सीमा ७० प्रतिशत यथावत् राखिए पनि यस प्रकारको कर्जा रकमको सीमा भने रू. १२ करोडमा सीमित गरिएको छ । यस वर्षको मौद्रिक नीतिले यस प्रकारको कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा रू. १२ करोडसम्म लिन सक्ने व्यवस्था गरेको छ । यो कर्जा एक वित्तीय संस्थाबाट अधिकतम रू. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रू. १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको हो । बजार सुधारका आगामी महत्वपूर्ण योजनाहरू : पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड आगामी दिनमा पूँजीबजारको विकास र विस्तारका लागि महत्वपूर्ण कार्ययोजना सहित अघि बढेको छ । बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशील बनाउने, नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवद्र्धन गरी सेवालाई प्रतिस्पर्धी एवम् सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको बोर्डले यी कुराहरूलाई प्राथमिकतामा राखेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ । उनका अनुसार दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवा तथा कारोबारको राफसाफ तथा फछ्र्योट सेवा प्रदायक सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शीघ्र सञ्चालनमा ल्याउने व्यवस्था बोर्डले गर्नेछ । समग्रमा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने, स्टक एक्सचेञ्जमा कारोबारका लागि एसएमईका लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने, नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी बढी यथार्थपरक बनाउने, वस्तु विनिमय बजार सञ्चालन गर्ने, इक्विटी डेरिभेटिभ्स लगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पूँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाका साथ बोर्ड अघि बढेको अध्यक्ष ढुंगानाको भनाइ छ ।