शेयर बजार विस्तार भएसँगै यसमा अनेक किसिमका विकृति र हल्ला फैलने गर्दछ । कतिपय हल्ला निराधार हुन्छन् भने कतिपयचाहिँ अनुसन्धानबाट सही प्रमाणित पनि हुन्छन् । घोराही सिमेन्ट इन्डस्ट्रीले प्रिमियम मूल्यमा विक्री गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको र त्यसमा बैंकमा रकम नभएका व्यक्तिले ठूलो संख्यामा आईपीओ भरेको भनेर विवाद आएको छ । नक्कली आवेदनकर्ताले आवेदन हालेको भनी आवाज उठेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोकी अध्ययन थालेको छ । यस घटनाले विभिन्न प्रश्नहरू जन्माएको छ । पहिलो त कम्पनीले बढी माग भएको अवस्थामा आईपीओ विक्री बन्द गर्नुपर्नेमा उल्टै समय थप गर्यो । यसरी समय थप गरेकाले कम्पनीको नियतमाथि प्रश्न उठेको हो । किन म्याद थप्न पर्यो भन्नेमा उसले चित्तबुझ्दो जवाफ दिनसक्नुपर्छ । यद्यपि कम्पनीले विवाद सृजना भएदेखि नै आफ्नो दोष नभएको अडान लिइरहेको छ । कम्पनी मात्र नभई यस विवादमा सम्बद्ध सबै पक्षले आआफ्नो भनाइ राखेका छन् ।
नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ ।
प्रिमियम मूल्य नै महँगो भएको भनी शुरूमै यो आईपीओबारे विवाद उठेको हो । आईपीओ निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नु अनिवार्य हुन्छ । घोराही सिमेन्टको क्रेडिट रेटिङ केयर रेटिङले गरेको हो । उक्त क्रेडिट रेटिङको कम्पनीसँग सम्बन्ध रहेको बताइन्छ । यद्यपि क्रेडिट रेटिङ कम्पनीले मनलाग्दी रेटिङ भने गर्ने होइन । रेटिङ गर्ने कम्पनीमा विदेशी कम्पनीको पनि संलग्नता हुने भएकाले नेपालमा हुने त्रुटिले उसको अन्तरराष्ट्रिय छविमा प्रभाव पर्छ । क्रेडिट रेटिङ कम्पनीले रेटिङ गर्न विभिन्न आधार लिएको हुन्छ । त्यसमा उसले यसमा हुन सक्ने सम्भावित पक्षबारे पनि उल्लेख गरेको हुन्छ र लगानीकर्तालाई त्यसबारे पनि सूचना दिइएको हुन्छ । उसले दिएको रेटिङकै आधारमा लगानी गर्नयोग्य हुने भए अमेरिकामा उच्च रेटिङ पाएका बैंकहरू किन डुब्थे ? त्यसैले लगानीकर्ताले आफै विश्लेषण गरेर लगानी गर्ने बानी गर्नुपर्छ । त्यसमा यो सहयोगी मात्रै हुन्छ । नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ ।
आईपीओ निष्कासनको अनुमति दिने नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासनमा सबै प्रक्रिया पूरा गरेको दाबी गरेको छ । पक्कै पनि बोर्डले आईपीओका लागि स्वीकृति दिँदा आवश्यक सबै दस्तावेजको अध्ययन गरेको हुनुपर्छ । प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि स्वीकृति दिनुपर्ने बाध्यता उसको छ । घोराही सिमेन्टमा पनि यस्तै भएको छ भन्न सकिन्छ । यद्यपि बोर्डले यसरी प्राप्त कागजातको प्रामाणिकता र विश्वसनीयतामा अध्ययन नगरेको भने हुन सक्छ । बोर्डमा क्रेडिट रेटिङसम्बन्धी विज्ञ जनशक्ति नभए पनि कम्पनीले बुझाएको रिपोर्टलाई स्वीकार्नुको विकल्प देखिँदैन । बोर्डले अनुमति दिएको भन्दैमा सबै आईपीओ सुरक्षित लगानी हुन् भन्ने सोच गलत हो । कम्पनीले पूरा गरेको प्रक्रिया सही छ वा गलत भन्ने कुराको यकीन गर्न आवश्यक छ भने बोर्डलाई त्यस्तो अधिकारको व्यवस्था गर्न सकिन्छ । नेपाली शेयरबजारमा हल्ला अलि बढी हुने गरेको चर्चा पहिलेदेखिकै हो । त्यही हल्लाकै आधारमा कतिपयले कमाइरहेका पनि हुन्छन् । यो घटनाबाट लगानीकर्ताले पाठ सिक्नुपर्ने हुन्छ । त्यो पाठ हो : विनाविश्लेषण र अध्ययन आईपीओमा नै पनि लगानी गर्नु हुँदैन । इक्विटीको मूल्य कति सही हो भन्न सकिँदैन । सार्वजनिक हुनुअघि नै आर्थिक पक्ष कमजोर छ भनिएको नेपाल रिपब्लिक मिडियाको सबै आइपीओ विक्री नहुनुपर्ने हो तर आवश्यकभन्दा बढी माग भयो । यसको अर्थ लगानीकर्ताले त्यसलाई आफ्नै हिसाबले व्याख्या गरे । लाभ हुने ठानेर आकर्षित भए । त्यसैले शेयरबजारमा कसले कति मूल्य निर्धारण गर्यो वा कुन कम्पनी कस्तो भन्नु भन्दा पनि लगानीकर्ताले त्यसलाई कसरी लिन्छन् भन्ने नै महत्वपूर्ण कुरा हो ।