चैत २०, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे तीन महीनायताकै न्यून विन्दु २ हजार ५१३ दशमलव ४१ झरेको छ । यस दिन नेप्से परिसूचक ३० दशमलव ८९ अंक घटेर उक्त विन्दुमा झरेको हो । गत हप्ता बजार बुधवार एक दिन मात्र बढेको थियो भने बाँकी दिन घटेर नै बन्द भएको थियो ।
यस भन्दा अगाडि पुस ७ गते २ हजार ५०७ विन्दु सम्म झरेको थियो । ब्याजदर वृृद्धि लगायत, वित्तीय प्रणालीमा तरलता अभावले गर्दा शेयर बजार प्रभावित भएको हो । यस बिचमा कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । यसले बजारमा सप्लाई बढेकाले पनि बजार प्रभावित भएको देखिन्छ ।
आज भन्दा १७ दिन अगाडि पनि नेप्से परिसूचक २ हजार ५१४ दशलमव ५८ विन्दुमा झरेर फर्किएको थियो । यसरी हेर्दा लगानीकर्तालाई अब बजार घट्छ या बढ्छ भन्ने चासोको विषय भएको छ । बजार घट्दै जाँदा कारोबार रकम कम हुनलाई पनि लगानीकर्ता अब सस्तो मूल्यमा शेयर बेच्न चाहेका छैनन् भने खरीदकर्ताले पनि उपयुक्त समय खोजिरहेको देखिन्छ ।
सोही कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । अब बजार केही समय साइडवेज बसेर माथिल्लो यात्रा तय गर्ने पनि अनुमान लगाउन सकिन्छ । यसोत वैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा बजार बढ्न टेवा पुग्ने देखिन्छ । साढे तीन महीनायताको बजारलाई हेर्दा २ हजार ५०० विन्दुलाई सर्पोट बनाइरहेको छ ।
आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीको ३२ लाख ५३ हजार १६ कित्ता शेयरको २ हजार ११३ पटकमा कुल रू. १ अर्ब ४६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २२५ धितोपत्र मध्ये तीन धितोपत्रको शेयर मूल्यमा सकारात्मक सर्कीट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
यी तीनओटै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् । सोही कारण कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य रू. १ हजार ४५१ दशमलव ४०, इमर्जिङ नेपालको रू. १ हजार ३४७ दशमलव २० र नेष्डो समृद्ध लघुवित्तको रू. १ हजार १६१ दशमलव २० पुगेको छ ।
त्यसैगरी, आइतवार युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको तुलनामा ५ दशमलव शून्य २ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७६ दशमलव १० विन्दुमा झरेको छ । त्यसैगरी दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ५ दशमलव शून्य १ प्रतिशत घटेर रू. ७०० मा झरेको हो ।
शेयरमूल्य घटेसँगै उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू. ९ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको रू. ५ करोड १ लाख बराबरको शेयर खरीद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहको स्थिर रहेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।
समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ३ दशमलव १३ प्रतिशत घटेको छ । समूहगत परिसूचक घट्नेमा बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, व्यापार समूहको १ दशमलव १९ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७७ प्रतिशत, विकास बैंक समूहको १ दशमलव २७ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ३१ प्रतिशत, वित्त समूहको १ दशमलव ५१ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३७ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ५२ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ४२ प्रतिशतका दरले घटेको हो ।